एक प्रेम जोडीको कथा

अव्यक्त प्रेम

हिरण्य कुमारी पाठक –

सधैँभरी बिहानै पाँच बजेसम्म उठिसक्ने ललिता आज ओछ्यानमै छिन्र ओल्टेकोल्टे फेरिरहिन्। आज उनलाई बिछ्यौना छाड्न मन लागेको छैन।

मन गरुङ्गो भएको छ सारा शरीर लुलो भएर उठ्नै मन लागेको छैन। हुन त घरमा पनि खासै काम छैन। जति बेला जठेर काम गरेपनि कसैलाई बितिहाल्ने पनि छैन। दुईजना जोईपोई मात्र त हो नि, के को अबेर छ। सन्तान नपाएको त हैन नी। तीनतीन सन्तान भए पनि घर शून्य छ।

बच्चामा कतिकति कष्ट सहेर, भएर पनि उनीहरुलाई राम्रो शिक्षा दिइयो। उनीहरुको सबै इच्छा आकांक्षालाई कुनै बेला पनि अवहेलना गरिएन।

सधैँ नै उनको अनुहारमा चमक, प्रसन्नता हेर्ने उत्सुकतासाथ आफ्ना दुःखदर्दलाई मिचेरै जिन्दगी चलाएको सम्झनाले आज फेरि ललिताको मनमा भुँईचालो आइरहेछ। तेस्रो सन्तान छोरीलाई पनि छोरा सहर नै शिक्षा दिलाई राम्रो घरमा बिहे गरेकोमा सन्तोषको लामो सास फेर्छिन् ललिता तर जतिजति पछि भयो आफ्नो शरीर कमजोर हुँदै जाने, कसैको मायाममता र साथको आवश्यकता हुने बेलामा घर शून्य र साथमा दुई प्राणीबाहेक अरु कोही नहुने।

ललितालाई बेचैनी हुन्छ। उनी पुनः अर्को कोल्टे फेर्छिन्। सधैँ चिया ल्याएपछि मात्र उठ्ने उनका श्रीमन् साथर आज बिछ्यौनामा छैनन्। कता गए होलान्, यति चाँडै उठ्ने बानी त उनको थिएन। सायद मलाई जस्तै उनलाई पनि निन्द्रा लागेक कि। लोग्ने मानिस आफ्नो मनको बह झट्पट पोख्दैनन् तर पनि उनको मनको पीडा मेरो भन्दा पनि कम छैन।

त्यो मैले राम्ररी बुझेकी छुँ भन्ने सोच्दै ललिता बिछ्यौनाबाट उठ्ने प्रयास गर्दछिन्। उठेर थचक्क बिछ्यौनामा बसेर चारैतिर आँखा दौडाउँदा भित्तामा एउटा सामूहिक फोटोमा गएर उनको दृष्टि ठोकिन्छ। टोलाएर हेरिरहन्छिन् ललिता। एकैछिन्मा उनी विगतमा डुब्न थाल्छिन्। कति रमाइला दिन थिए, सबै परिवार एकै काठामा बसी दशैँको रमाइलो गरेको बेला।

हो त नि, यहि कोठा च हो नि, उ त्यहाँ ठूलो छोरा र बुहारी शान्ति बसेकी र पल्लो छेउतिर पल्लो छेउतिर कान्छो सौरभ र बुहारी ममता बसेर हामी सबैले एकैपल्ट शुभ आशीष दिँदै दशैँको टीका लगाइएको ।

सानो छोरा अति नै ठट्यौलो मिजासको छ, कति हसाइरहन्थ्यो सबैलाई। त्यति बेलाको कुरा सम्झी यसैयसै हाँसो उठ्यो ललितालाई र मुख छोपेर हाँस्न थालिन्। त्यसै बेला सागर चियाको कप लिएर कोठमा पसेँ। ललिता एक्लै हाँसेको देखेर छक्क पर्दै ‘हैन के हो, किन तिमी त एक्लै हाँस्न थालिछौ ! ल गरमगरम चिया पिउँदै भन किन हाँसेकी ? म पनि च हाँसौ न ।’

आफू एक्लै हाँसेकोमा ललितालाई अलि अप्ठेरो पनि लाग्यो तर उनले आफू कल्पनाको दुनियाँमा लुट्पुटिन पुगेको र क्षणिक आनन्द आएको कुरा बेलिबिस्तार लाउँदै हँसिलो अनुहारमा चियाको कप लिँदै भन्न लागिन् – ‘अहो ! आज त हजुर म भन्दा पनि चाँडो उठेर चिया तयार गर्नु भएछ, किन ? निन्द्रा आएन कि के हो ।’

‘हो ललिता हो ! आज मलाई पनि निन्द्रा लागेन। त्यसैले तिमी बिउँँझिएको पनि मलाई थाहा छ। तर म आफैँ नै बिस्तारै उठेर सबै नित्यकर्म सकेर चिया ल्याएको। हे त आड बज्न लागिसक्यो, ल चिया पिऊ।’

‘अहो ! हो त नि कति अबेरसम्म आज ओछ्यानमै भएछु। छोराहरुको त्यो भित्ताको ग्रुप फोटो देखेर ती दिनहरुको सम्झना र सानोले रामाइलो कुरा गरेको सम्झेर हाँसो उठेको। के गर्ने त अब यस्तै सम्झनालाई मनमा ल्याउँदै रमाइलो मान्नुपर्छ, हैन त।’

‘हो, हो, यही ठीक छ। हाम्रो घरमा पनि सबै जम्मा हुँदा कति रमाइलो थियो ललिता ! कति राम्रा तथा अन्य वादविवादका कुराहरु पनि हुन्थे र फेरि सबै एकै भई समाधान पनि भईहाल्थ्यो तर अब त खै कोसँग कुरा गर्नु र सबै नै पराइ देशमा पुगिहाले।’

‘यो क्या त हजुर र म कुरा गरिरहेका छौँ नि ! हामी मात्र यस्ता हैन रहेछौँ क्यारे। घरघरमा यहि हालत छ। मेरो साथी सबिनाको छोरा बुहारी सबै अमेरिका डि.भि परेर गए रे। छोरीले पनि जाने कोशिस गर्दै छे। अनि त दुई मात्र घरमा। मेरो माइतीका घरमा पनि सबै केटाकेटी बिदेसिए, घरमा दुई दुई जना दाजुभाउजू मात्र हुनुहुन्छ। यमय नै यस्तै आएपछि के गर्ने ! कसलाई दोष दिने र ?’

‘ठीक छ, समयअनुसार चल्नैपर्छ। देशको अवस्था पनि यही हो। यहाँ आएर बस भन्न पनि सकिन्न। सधैँको बन्द हड्तालले कामकाज भताभुङ्ग छ, के काम गर्ने भन्नु र ? अहिले सबैको आकर्षण विदेशिने नै छ पाएसम्म। अब अर्को नै के छ ?’

‘त्यो त हो, तर त्यहाँ पनि त काम गर्न मुस्किलै छ रे। यहाँबाट गएकाहरुले पनि आफ्नो इच्छाअनुसारको काम कहाँ पाउँछन् र ! कस्ता कस्ता डाक्टर, यहाँका सचिव तहका, ठूलो ओहदाको मानिसहरु पनि त्यहाँ त्यही डिपार्टमेन्टल स्टोर, रेन्टुरेन्ट, ग्यास स्टेसन आदिमा काम गरेको कतिले देखेका छन् रे।

यहाँ केही घरायसी काम नगरेका हातहरु त्यहाँ गएर कति सङ्घर्ष गरी काम गरेर जीवनयापन गर्न बाध्य छन् तर पनि उतै रमाउँछन्। कस्तो बिडम्बना छ हगि सौरभको बुबा?’ भन्दाभन्दै ललिताको परेली भिज्छन्, धोतीको सप्कोले आँखा पुछ्न खोज्छिन्। एकैछिनमा वातावरणमा निराशा छाउँछ।

‘तिमीले पीर गरेर केहि हुँदैन। घरमा सबै कुराको बन्दोबस्त भएर आनन्दसाथ जीवन बिताउन सक्ने भए पनि आजको युवा पिँढीको मनस्थिती सामु कसको के लाग्छ र ? त्यसैले अब यसतर्फ धेरै ध्यान नदेउ, तिम्रो स्वास्थ्य बिग्रन सक्छ। जे भएको छ त्यसैमा आनन्द लिन हामीले सिक्नुपर्छ ललिता। ल उठ र फ्रेस होऊ।’ आफ्नो मनको आजेगलाई धीरतासाथ रोक्दै सागरले श्रीमतीलाई ढाडस दिने असफल प्रयास गरे। दुवैजना एकैछिन मैनतामै एकअर्कासँग दःख पोख्न आलिङगनमा बाँधिए।

आधुनिक जीवनशैलीमा भित्रभित्रै आफूलाई पनि ढाल्नुपर्ने विवशतामा भित्रभित्रै जेलिइरहेकी छिन् ललिता। घरको काम गर्दा, चाडबाडमा निम्तामा जाँदा पनि उनलाई रमाइलो लाग्दैन। जबरजस्ती चल्नुपर्ने र व्यवहार चलाउनुपर्ने बाध्यताले गर्दा उनी चलिरहेकी छिन् त कति दिन, कति महिना ! पहिले पहिले त फोन पनि बराबार आइरहन्थ्यो तर अब त पैसा कमाउने व्यस्ततामा आफ्नो देश, आमाबाबु इष्टमित्रको सम्झना नै नआउने। अस्ति मात्र सानो छोरासँग एकैछिन् मनको कुरा गर्न फोन गरेकी ।

कस्तो हतार रहेछ उसलाई, ‘ल छिटो छिटो कुरा गर्नुस् मम, मलाई त काममा जान अबेर भइसक्यो, टाइममा पुगेनभने फेरी कामबाट नै निकालिदिन्छ, के गेर्ने, म पछि फोन गर्छु ल बाइबाई’ भन्दै फोन राखिदियो। कुरा गर्न आफूले फोन मिलाउँदा पनि उसको यस्तो हालत। कस्तो व्यस्तता ? मनमनै दुखित भएर त्रसित पनि हुन्छिन् ललिता।

जीवनको ६० वसन्त पार गरिसकेपछि आरामसँग घरपरिवारसाथ हाँसी खेली बस्नुपर्ने हो तर आधुनिक जीवनशैली त अब अर्कै पारामा जाँदै छर यसलाई आत्मसात् गर्न सक्नु नै आजको उपलब्धि हो तर पनि आफूले गर्नुपर्ने सबै व्यवहार, कर्तब्य पूरा गरिसकेपछि पनि घरको सारा बोझ आफ्नै थाप्लोमा बोकी बिदेशिएका सन्तानको चिन्तामा पिल्सिएर बस्दा ललिता छटपछाउँछिन् र यो आधुनिक जीवनशैलीलाई पछ्याउँनै पर्ने रहेछ भन्ने कटु सोचलाई बुझ्दै आफ्नो मनलाई आफै बुझाउँछिन्।

सागरलाई ललिताको दःख पीर जायजै लाग्छ। यति बेला बुहारीहरुको माझमा नातिनातिना खेलाई आरामसँग जीवनयापन गर्ने बेला हो उनको। आफूले गर्नुपर्ने सङ्घर्ष अनेकौँ दुःख सहेर घर गृहस्थी चलाएर छोरा र छोरीलाई सक्षम बनाई जिम्मेवारी राम्ररी पूरा गरेकी छन् ललिताले।

अब आफ्नो शरीर कमजोर हुँदै जाने र एक कप चिया अरुको हातबाट पिउँन मन लाग्ने बेलामा एक्लै, घरको शून्यशून्यमा परिणत भएपछि उनको मन कुँडिनु, विचलित हुनु स्वाभाविक नै हो। मनमा अनेकौँ आकाङ्क्षाहरु पलाउछन् र जान्छन्। मन सदैव शून्यमा परिणत हुन्छ।

जति सम्झाए पनि मनमा न्यानो घाम लाग्न सकेको छैन। आफ्नो पीर ललिता सागरलाई सकेसम्म देखाउन चाहन्नन्। तर व्यवहारबाट कहिलेकाहीँ आँखा छचल्किरहन्छन्। सागरलाई पनि त कम दुःख पीर मनमा छैन। यनी पुरुष भएरै होला देखाउँदैनन् ललिताको सामु, हाँसेरै कुरा गर्दछन्। सेवा निवृत्त भएपछि सागरको खासै काम नभएकोले घरमा धेरै समय ललितासँगै बिताउँछन्।

ललिताको उदास अनुहारलाई सागरलाई चिमोटिरहन्छ। गर्न केहि नसकेपनि सागर ललिताको मन बहलाृन अनेकौँ कुराहरु गर्छन्। टिभी हेरी, पत्रिकाहरुको समाचार पढि शून्य हुनबाट अलग्याउन खोज्छन्।

यसरी एकले अर्काको पीडालाई समाधान गर्ने कोशिस गर्दथे ललिता र सागर। ललिता सम्झिन्छिन, जवानीको बेलामा पतिको साथमा बस्ने, घुम्ने रहर भएको बेला गृहस्थी सम्हाल्दैमा ठीक भयो। कसरी घर चलाउने, केटाकेटीलाई कसरी सक्षम बनाउने भन्ने चिन्ता र दुवैको यस्तै विषयको कुराले समय बित्दथ्यो।

अब आएर दुवैको सानिध्य एकअर्कामा पूरक भएझैँ लागिरहेछ ललितालाई। आखिर जीवन त पति पत्नको मात्र रहेछ। एकले अर्काको सुखदुखको ख्याल निरन्तर राखिरहने रहेछ। चाहे त्यो अब्यक्त प्रेम नै किन नहोस्। झन् जीवनका अन्तिम समयमा त दुवैको हरपल एकअर्काप्रति समर्पित हुनु नै जीवनको लक्ष्य हुन आउँदो रहेछ।

अत्यन्त ममता र स्नेहले ललिताले सागरको काँधमा आफ्नो शिर राखी सम्पूर्ण भारी बिसाए झैँ सन्तोयाको सास लिन्छिन्। उनको हृदयमा अपूर्या शान्ति छाएको छ। सम्पूर्ण शरीर हलुका भएर फूलको थुँगा झै भइरहेको अनुभव गर्दछिन् ललिताले। त्यतिनै बेला परपर, कताकता मन्दिरमा घण्टी बजेको आवाज आउँछ। शङखनादको आवाज गुन्जिए झैँ भान हुन्छ उसलाई।

मन यसैयसै प्रफुल्लित हुन्छ। ललिता जुरुक्क उठ्छिन् र सागरको हात समाउँदै कोठाको झ्याल लैजान खोज्छिन्। सन्ध्याको लालिमाले सम्पूर्ण आकाश सुनौलो छरे झैँ देखिएको छ।

‘के भयो ललिता? किन, कता लान लागेकी मलाई?’

‘हेर्नुस् आज कति राम्रो दृश्य छ परपर क्षितिजमा सुनौलो घामको चम्किलो पारा, आज कति राम्रो देखिएको छ। मानैँ कुनै शुभ सन्देश दिँदै भोलिको सुखद् कल्पनामा विश्राम गर्न लागे झैँ।’

‘अहो ! कस्तो राम्रो दृश्य र कति राम्रो तिम्रो कल्पना। हो त नि प्रत्यृक अस्ताएको सूर्यले एउटा नौलो बिहानी उजागर गर्दछ। त्यस बिहानीमा सम्पूर्ण विश्व नै एउटा नयाँ आशावादी दुनियाँको स्थापनामा तनमनले समर्पित भएको हुन्छ। हामी पनि सुखद् कल्पनामा आफूलाई रमाउने छौँ। आफ्नो भविष्य सिँगार्नेछौँ ललिता हैन त ?’

‘हो, हो, अब हामीले पनि आफ्नो सुखशान्तिका लागि पाइला चाल्नुपर्छ। कति घर परिवार भनेर मात्र दुखित हुनु। हाम्रो कर्तव्य त हामीले पूरा गरिसक्यौँ अब हामी आफ्ना लागि नै केहि सत्कर्म गरी जीवन बिताउने बाटोतिर लाग्नुपर्छ हगि?’

‘कस्तो राम्रो कुरा ग¥ययौ तिमिले आज। मेरो मन ढुक्क भयो। अब हाम्रा सन्तानले आफ्नो परिवारको बोझ आफैँ उठाउन तत्पर भएपछि हामी किन दुःखी हुने ? झन् आफूलाई गौरव गर्ने कुरा हो बुझ्यौँ। त्यतापट्टि अब बिल्कुलै ध्यान नदिनू बरु अब हाम्रो नयाँ जीवनको रथ कसरी अघि सार्ने त्यसतर्फ हामी विचारविमर्श गरौँ आउ।’

ललिताले सागरको हात समाएर पलङमा बसाइन् र आफू पनि सँगै बसिन्। बडो उत्सुकतापूर्वक उनले सागरलाई इकटकले हेरिन्। हँसिलो पारामा भनिन्, ‘म एउटा कुरा भन्छु, मान्नुहुन्छ? नरिसाउनूस् है।’

‘ल भन न, म किन रिसाउँथेँ। अब हामीले एकले अर्कोसँग गरेको कुरामा रिसाउने हैन, छलफल गर्ने। ल भन त, के भन्न लागेकी।’

‘हेर्नुस् न, यसरी हामी दुई मात्रै यस घरमा बस्दा कहिलेकाँहीँ न्यास्रो लाग्नु त स्वाभाविक नै हो नि। केटाकेटीको सम्झना पनि आइहाल्छ।’
‘अअनि के गर्ने त ? अर्को उपाए नै के छ र ? तिमीसँग कुनै उपाय छ भने भन।’

‘हो, त्यहि त भन्न लागेकी नि ! त्यो मेरो साथी छ नि राधा। त्यसका आमाबाबु पनि रिटाएर भएको चारपाँच वर्ष भैसकेछ। भएको एउटा छोरो पनि अष्ट्रेलियामा परिवारसहित गएको फर्केको छैन। बिचरा ! राधाले मात्र कहिलेकाँही गएर हेरविचार गरेर त पुग्दैन नि। अहिले उनीहरुले बडो बुद्धि पु¥याएछन्।’

‘हैन के बुद्धि पु¥याएछन् हँ भन न, किन टक्क अडेको।’

‘भक्तपुरतिर एउटा वृद्धाश्रम छ रे ! रिटाएर भएका र परिवारबाट अलग्गिएकाहरु पनि गएको बस्दा रहेछन्। विभिन्न वद्धवृद्धाहश्रको साथमा आफूपनि रमाएर बसेका छन् रे बाबाका आमाबुबा। एउटा सक्षम संस्थाले राम्ररी चलाएको रहेछ त्यो आश्रम। अनेक थरिथरीका बुज्रुकहरुको आआफ्नो अनुभवहरु साटासाट गर्ने थलो बनेको रहेछ आश्रम ।

सबैजना त अशक्त हुँदैनन नि, नसक्नेलाई मद्दत गर्ने सक्नेसँग आफ्नो विचार आदानप्रदान गर्ने र सदैव प्रसन्न र व्यस्त भई समय बित्ने कस्तो राम्रो अवसर हगि सौरभको बबा।’

‘हो र ललिता ! त्यस्तो छ रे त्यो आश्रम !! त्यसो भए त अहिले त हामी सक्षम नै छौँ। त्यहाँका अशक्तहश्रको सेवा गरुँला, कतिपय कुराहरु हामीले पनि त्यहाँ सिक्न सक्छौँ र आफूले जानेको पनि त्यहाँ सिकाउँला। रहँदाबस्दा त हामीलाई यहाँ जस्तो शून्य पनि मशसुस हुँदैन, बरु रमाइलो साथ जीवन व्यतीत गर्न पनि सकिन्छ, द तिमी भन्छौ भने एकपल्ट गएर कुरा गरौँ।’

‘हुन्छ, यस्तो कुरामा राम्ररी समझदारीपूर्वक कदम चाल्नुपर्छ। हाम्रो सेवाले उनीहरुलाई मद्दत हुन्छ र हामी पनि प्रसन्न हुन्छौँ। दुवै एउटै आश्रममा बसेर रमाइलोसाथ जीवन कटाउन पाए अरु के चाहिन्छ र हामीलाई। भोलिको बिहानीले राम्रो सन्देश लिएर आओस्, हाम्रो मनोकामना पूरा गराइदेओस्, यहि चाहना छ।’ भन्दै दुवै अङ्कमाल गर्दै भित्रिए।

आख्यानकार हिरण्यकुमारी पाठकको कथा संग्रह ‘अग्निदह’ बाट साभार गरिएको।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्