केरलमा बाढीको वितण्डा : ३२४ जनाको मृत्यु, २ लाख विस्थापित

भारतको दक्षिणी राज्य केरलमा लगातारको वर्षासँगै आएको बाढीका कारण कम्तिमा ३२४ जनाको ज्यान गएको छ । लगातारको वर्षासँगै आएको बाढीले केरलका धेरै क्षेत्रमा क्षति गरेको छ ।

बाढी शताब्दीकै खराब रहेकाले ज्यान गुमाउनेको संख्या बढेको हो । पछिल्लो १०० वर्षमा केरलको इतिहासमा अहिलेको बाढी सबैभन्दा बिनासक बनेको स्थानीय अधिकारीले बताएका छन् ।

केरलको कासरडोग बाहेक सबै जिल्लामा बाढीले नोक्सान गरेको छ । अझै केही दिन केरलमा मुसलधारे पानी पर्ने मौसम विभागले चेतावनी दिएको छ । बाढीका कारण केरलका १३ जिल्लामा बढी प्रभाव परेको छ र अवस्था अझै भयावह हरने सम्भावना रहेको छ ।

केरलका मुख्यमन्त्री पिनराई विजयनले उद्धार तथा राहतको काम भइरहेको बताएका छन् । केरलका विभिन्न स्थानमा गरी पाँच सय भन्दा बढी शिविर बनाइएको छ र त्यहाँ झण्डै दुईलाख मानिसले आश्रय लिएका छन् ।

केरलका कोच्ची, त्रिवेन्द्रम, इडुक्की, पलक्कड र वायनाड जिल्लामा बाढीका कारण अवस्था सबैभन्दा नाजुक छ ।

केरलमा मनसुनको बेला हरेक वर्ष भारतका अरु राज्यमा भन्दा बढी पानी पर्ने गरेको छ । तर यो वर्षको वर्षा औसत भन्दा ३७ प्रतिशत बढी रहेको मौसम विभागले जनाएको छ ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्