नेइमारका लागि ३०० मिलियन युरो तिर्न रियल मड्रिड तयार

स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भइसक्यो, तर युरोपियन च्याम्पियन रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ठाउँ लिने उपयुक्त खेलाडी अहिलेसम्म फेला पारेको छैन ।

रोनाल्डो गएपछि खाली भएको ठाउँ रोनाल्डोले जसरी नै भर्न सक्ने सम्भावित खेलाडीहरु धेरै छन् ।

तर समर ट्राफर विण्डो बन्द भयो । लामो समयदेखि रियल मड्रिडको नजरमा रहेको भनिएका ब्राजिलियन नेइमार रोनाल्डो गएपछि रियल आउने खबर आएका थिए ।

त्यसका लागि रियल मड्रिडले कीर्तिमानी रकम तिर्न तयार गरेको खबर पनि आए । रियल मड्रिडले दुईपटकसम्म नेइमारसँग जोडिएका खबरको खण्डन गर्‍यो ।

अहिले आएर भने रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीका नेइमारलााई क्लब भित्र्याउन ३०० मिलियन युरो तिर्न तयार रहेको खबर आएको छ । नेइमार गएको सिजन २०० मिलियन पाउण्डको कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका हुन् ।

रियल मड्रिड नेइमारका लागि पिएसजीले बार्सिलोनालाई तिरेको भन्दा ७० मिलियन पाउण्ड बढी अर्थात २७० मिलियन पाउण्ड (३०० मिलियन युरो) तिर्न तयार भएको स्पोटर्सले जनाएको छ । तर त्यसका लागि पिएसजी नेइमारलाई बेच्न तयार हुनु पर्छ ।

खेलाडी किनबेचमा खर्चिएको रकमका कारण युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएको प्रतिबन्धमा पर्न सक्ने भए पिएसजी नेइमारलाई बेच्न बाध्य हुनेछ ।

यस्तो अवस्थामा रियल मड्रिड उनका लागि माटो रकम खर्चिन तयार भएको हो । रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा युभेन्टस गएपछि रियल मड्रिडमा उनको स्थान खाली छ ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्