देश सञ्चार मर्निङ्ग ब्रिफिङ्ग : के के हुँदैछ आज?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।

सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम छ ।

यस्तै हिन्दू संस्कृतिको महत्व विषयक अन्तरदेशीय बृहत छलफल कार्यक्रम शनिबार हुँदैछ । बिहान ११ बजेपछि बागबजारमा कार्यक्रम हुने तय भएको छ ।

शनिबारदेखि इण्डोनेसियामा एसियन गेम्सको औपचारिक सुरुवात हुँदैछ । एसियाली खेलकुद (एसियाड) को १८ औँ संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने छन् ।

नेपालको सबैभन्दा ठूलो नदीका रूपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको शनिबार १० वर्ष पूरा भएको छ ।

विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् ।

विसं २०६५ भदौ २ गते दिउँसो कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरूपमा तथा लौकही गाविस आंशिकरूपमा प्रभावित भएका थिए ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्