एउटी उपन्यासकारसँग गफगाफ

शिवा शाहको क्या आरिसलाग्दो जिन्दगी!

शिवा शाह। (भिडियो हेर्न तस्बिरको लिंकमा क्लिक गर्नुहोस्)

शिवा शाहलाई मैले ८ वर्षअघि पछिल्लोपटक भेटेको थिएँ-  ललितपुर पुल्चोकको न्यू ओर्लियन्स क्याफेमा। माओवादी युद्धमा उनका दाजु मारिएको घटनालाई उनकी हजुरआमाको आँखाबाट हेरिएको उपन्यास ‘फेसिङ माई फ्यान्टम्स्’ बारे मलाई उनीसँग कुरा गर्नु थियो, त्यो बेला।

८ वर्षपछि मैले उनलाई ललितपुरकै शालिग्राम होटलमा भेटेँ- केही दिनअघि। पछिल्लो समय गोवामा बसोबास गर्ने शिवा आफ्नो नयाँ उपन्यास ‘द अदर क्विन’का लागि काठमाडौँ आएका बेला मैले उनीसँग कुराकानी गरेँ। एेतिहासिक पात्र राजेन्द्रलक्ष्मीबारे लेखिएको उनको पछिल्लो उपन्यासले महिला मनोविज्ञानलाई मिहिन रुपमा उधिन्ने प्रयास गरेको छ भन्छिन् उनी।

‘उच्च संवेदनशील’ हुनुका केही घाटाहरु छन् (धेरै नाफाहरु त छन् नै)। ‘हाइली सेन्सिटिभ’ व्यक्तिले जीवन र भोगाइका हरेक ससाना घटनालाई नजिकबाट हेरेको हुन्छ र त्यसको ‘प्रभाव’ ऊसँग हुन्छ। त्यो प्रभावको भारीले उसलाई सधैँ थिचिरहन्छ। थिचिरहन सक्छ।

उपन्यासकारले भने त्यो भारी बोकिरहँदैन, शब्दमा खन्याइदिन्छ र पाठकहरुतिर पन्छाइदिन्छ।

दैनिक १०-५ को तालिकामा लेख्ने शिवा पछिल्लोसमय गोवाको उनी बस्ने गाउँनजिकको एउटा क्याफेमा जान्छिन् हरेकदिन र भिडमा एक्लोपनाको मजा लिँदै लेख्छिन्, अमेरिकानोको चुस्की लिँदै। दिमाग धेरै खल्बलिएको बेला चुरोट पनि तान्छिन् र बाहिर उडाइदिन्छिन् धुवाँसँगै लेखकीय छट्पटीहरु। हरेक दिन कम्तीमा ५ सय शब्द लेख्नु उनको दिनचर्या हो।

काठमाडौँ छाडिदिइन् उनले। मन परेन। उनी भन्छिन्, ‘काठमाडौँ मलाई फापेन।’

कैलाली टीकापुरनजिकैको गाउँबाट बिहा भएपछि काठमाडौँ आइपुगेकी शिवालाई यो शहरमा उकुसमुकुस भयो। उनकै शब्दमा,  चराहरुको चिरबिर थिएन यहाँ। खेतहरु थिएनन्। खोला कलकल गर्दै बग्दैन थियो।

शिवाकै शब्दमा गोवामा बस्न थालेपछि उनी फक्रिएकी छन्। उनको जीवनमा वास्तविक आनन्द प्रवेश गरेको उनी ठान्छिन्।

अब त छोरीहरु पनि ठूला भइसके। आफ्नै दुनियाँमा रमाउँदै छन्। विदेशमा पढिरहेका छन्। मास्टर्स पनि सकिन् जेठी छोरीले। शिवा झन् झन् एक्लो बनिरहेकी छन् र त्यही एक्लोपनाको आनन्द लिइरहेकी छन् गोवाको त्यो गाउँमा।

महिलाका विषयहरुमाथि खुब चाख छ उनलाई। उनले लेखेका यसअघिका तीनै उपन्यास महिलाहरुमाथि नै केन्द्रित छन्।

दैनिक १०-५ को तालिकामा लेख्ने शिवा पछिल्लोसमय गोवाको उनी बस्ने गाउँनजिकको एउटा क्याफेमा जान्छिन् हरेकदिन र भिडमा एक्लोपनाको मजा लिँदै लेख्छिन्, अमेरिकानोको चुस्की लिँदै। दिमाग धेरै खल्बलिएको बेला चुरोट पनि तान्छिन् र बाहिर उडाइदिन्छिन् धुवाँसँगै लेखकीय छट्पटीहरु। हरेक दिन कम्तीमा ५ सय शब्द लेख्नु उनको दिनचर्या हो।

‘म उपन्यास लेख्दा महिलाहरुबाट प्रेरणा लिन्छु। म महिला रचना गर्छु। उनलाई छाड्दिन्छु। मेरा सबै उपन्यासहरु महिलाहरुमाथिका अनुसन्धान हुन्। महिलालाई धेरै पक्षबाट हेर्न सकिन्छ।’

यो पछिल्लो उपन्यास ‘द अदर क्विन’ भने एक कदम अगाडि बढेर एेतिहासिक महिला पात्र राजेन्द्रलक्ष्मीमाथि छ। सन् १८४० तिरको कथा हो यो। रानी राज्यलक्ष्मी जसले कोतपर्व गराइन्। एकै थलोमा त्यसबेलाका राजनीतिक व्यक्तित्वहरुको सफाया गराइन्। राजा राजेन्द्रबिक्रमको शेषपछि एक्ली र बेवास्ता गरिएकी एउटी नारीलाई आफ्नो औपन्यासिक आँखाले हेर्ने प्रयास गरेकी छन् शिवाले यो उपन्यासमा।

यो बढी मनोवैज्ञानिक, एेतिहासक कथा हो भन्छिन् शिवा।

‘राजेन्द्रलक्ष्मी एक खराब रानी थिइन्,’ उनले भनिन्। अंग्रेजीमै भनेकी थिइन् उनले यो वाक्य स्ट्रेस लिँदै। ‘सी वाज अ ब्याड क्विन।’

मेरो जिज्ञासा थियो, यति पुरानो कथामा कसरी रुचि पस्यो शिवाको?

यसको जवाफ पाउन उनको पारिवारिक जीवनमा फर्कनुपर्छ। प्रिन्सेस शारदाकी बुहारी हुन् शिवा। यद्यपि उनी अहिले पतिसँग अलग भएकी छन्।

शारदाका पति कुमार खड्गबिक्रम शाह अध्येता थिए। दरबार हत्याकाण्डमा मारिए उनी। उनको लाइब्रेरी छ कमलादीको हेरिटेज प्लाजामा।मैले समय साप्ताहिकमा काम गर्दा शिवाको पहिलो अन्तर्वार्ता हेरिटेज प्लाजास्थित कुमार खड्गबिक्रमकै पुस्तकालयमा लिएको थिएँ, १२/१३ वर्षअघि।

त्यही पुस्तकालयका अभिलेखहरु पल्टाउँदै गर्दा शिवाको आँखा ऋषिकेश शाहले रानी राजेन्द्रलक्ष्मीमाथि लेखेको एउटा कागजातमा पर्‍यो। अंग्रेजीमा लेखिएको त्यो कागजातभित्रको दुई शब्दको एउटा वाक्यांशले शिवाको हृदयमा घन्टी बज्यो।

त्यो वाक्यांश थियो-  फन्ड सेन्टिमेन्ट।

भिडियो हेर्नुहोस्:

ऋषिकेश शाहले लेखेका थिए- रानी राजेन्द्रलक्ष्मी र गगनसिंहबीच ‘फन्ड सेन्टिमेन्ट’ थियो। त्यो ‘फन्ड सेन्टिमेन्ट’ले उनलाई यो उपन्याससम्म ल्याइपुर्‍यायो।

रानी राजेन्द्रलक्ष्मी र गगनसिंहको के सम्बन्ध थियो? किन गरियो कोतपर्व? केका लागि राजेन्द्रलक्ष्मी आफ्ना भारदारहरुलाई मारिन्? यी प्रश्नहरुको जवाफ केही हदसम्म यो उपन्यासले दिने प्रयास गरेको छ।

‘तपाईँ दरबारको भित्रिया भएका कारण यो कथामा रुचि भएको हो?’ मेरो  अर्को प्रश्न थियो।

शिवाले भनिन्, ‘होइन, म दरबारको भित्रिया होइन। म दरबारको बाहिरी घेरामा थिएँ। मेरा पति प्रिन्सेस शारदाका छोरा थिए।’

रानी राजेन्द्रलक्ष्मी र गगनसिंहको के सम्बन्ध थियो? किन गरियो कोतपर्व? केका लागि राजेन्द्रलक्ष्मी आफ्ना भारदारहरुलाई मारिन्? यी प्रश्नहरुको जवाफ केही हदसम्म यो उपन्यासले दिने प्रयास गरेको छ।

आफ्ना ससुरा कुमार खड्गबिक्रमको त्यो पुस्तकालयभित्रको राजेन्द्रलक्ष्मीबारेको त्यो अभिलेखका ती दुई शब्दले शिवालाई यो उपन्यास लेख्न डोर्‍यायो। अर्थात दरबारनजिक हुनु उनलाई यो उपन्यास लेख्न प्रभाव पार्ने पक्ष थियो भन्न हिच्किचाउनु पर्दैन।

त्यहीमाथि एेतिहासिक विषयवस्तुका उपन्यासमा उनलाई पहिल्यैदेखि रुचि थियो। सानै छँदा उनले ब्रिटिस लेखिका बारबारा कार्टल्यान्डका उपन्यास पढिन्। त्यसपछि पनि धेरै एेतिहासिक उपन्यास पढिन्।

पछिल्लो समय उनले पढेको हिलरी मन्टेलको तीनवटा उपन्यासहरुले उनलाई ‘द अदर क्विन’ यही शैलीमा लेख्न उत्प्रेरित गरेको हो।

‘पहिला म छोटा कथाहरु लेख्थेँ। बिहेपछि छुट्यो। नयाँ आफन्तहरुमै हराएँ। तर मभित्रको लेखकले मलाई बोलायो।’

र, उपन्यास लेखनको संसारमा पसिन् शिवा।

‘बाहिरी जीवनमा मलाई कुनै आनन्द आउँदैन। एउटा लेखकलाई लेखनभन्दा बाहिर के आनन्द आउँछ?’

किन सर्नुभयो गोवा? मैले सोधेँ।

‘एउटा कलिङ हुँदो रहेछ। गोवाले मलाई बोलायो।’ यसो भन्दै खुलेर हाँसिन् शिवा।

‘म काठमाडौँको हुन सकिन। यहाँ चराहरु कराउँदैनन्। मलाई चिसो धेरै मन पर्दैन। म गाउँमा हुर्केको। मेरो घर वरिपरि खेतैखेतहरु थिए। खोलाहरु थिए। हामी खेल्थ्यौँ। रुखहरु चढ्थ्यौँ। काठमाडौँमा बिहा भएर आएपछि म रुखहरु कता छन् खेतहरु कता छन् भनेर म हेर्थेँ।’

अर्थात चराहरु खोज्दै, खेतहरु खोज्दै, खुलापना खोज्दै गोवा पुगिन् शिवा।

गोवामा उनी दस बाह्र घरको सानो गाउँमा बस्छिन्। हस्पिटल पाँच मिनटमा। समुद्र १० मिनेटमा। सुपरमार्केट ५ मिनेटमा। राति ठूलो स्वरमा कराउँदा छिमेकीले सुन्छन् र आइपुग्छन्।

‘हो, त्यहाँ बस्छु म।’

उनका दाजु माओवादी युद्धताका मारिएको नमिठो सम्झना उनीसँग छ। ‘कलेजबाट फर्केको मेरो दाइलाई उनीहरुलाई कुटिकुटी मारे। कोही राजा छैन, कोही रंक छैन भन्ने देखाउन उनीहरुले मेरो दाइलाई मारे। मैले फेसिङ माई फ्यान्टम्स भन्ने आफ्नो उपन्यास यही दुखमा सिर्जना गरेँ।’

उनी आफूलाई समाजको पाटो मान्दिनन्। ‘हामी ह्याङ्गिग गड हो। अनि तल हेर्छौँ। त्यो दृष्टिबाट संसारलाई कस्तो देख्छौँ, त्यो हामी आफ्नो किताबमा लेख्छौँ।’

गोवा गएपछि उनी फक्रिन थालिन्। त्यहाँ नाटकहरु गर्छिन् उनी। माया सोज भन्ने समूह छ उनको।

‘मैले कलेज पढेको छैन। अंग्रेजी पढेको छैन। साहित्य पढेको छैन। म त एसएलसी पासमात्र हुँ। गाउँले केटी हुँ म।’

‘म ध्यान पनि गर्छु। मन धेरै चञ्चल हुन्छ। त्यो मनलाई शान्त बनाइरहनुपर्छ। कामको बीचमा बिहान ध्यान गर्छु म। साइबाबा र गणेशजीलाई धेरै मान्छु म। म पूजा नगरी खाँदा पनि खान्नँ। चिया पनि खान्नँ।’

शिवा शाह।

‘म धेरै ह्याप्पी छु। एक्लै बसेर आनन्दित छु। म एक्लो हुनलाई क्याफेमा जान्छु।’

पछिल्लो समयमा उनीजस्तै एउटा पात्रलाई उनी उपन्यासमा बुन्दैछिन्। काठमाडौँबाट गोवा गएकी नेवार युवतीबारे उनी पाँचौँ उपन्यास लेख्दैछिन्।

गोवामा बसे पनि हृदय नेपालमै छ। सबै किताब नेपालकै बारेमा लेख्दैछिन्। अंग्रेजीमा। उनको यो चौथो किताब भने नेपालीमा पनि आउँदै छ। सगुना शाहले उनको उपन्यासको नेपाली अनुवाद सक्नै लागेकी छन्।

केही दिनमै शिवा फेरि गोवा फिर्नेछिन्। र, सुरु गर्नेछिन् आफ्नो उही दिनचर्या।

पढ्ने। लेख्ने। कफी खाने। फिल्म हेर्ने। थिएटर गर्ने। एक्लै बस्ने। आफूलाई यो संसारबाट अलग राख्ने र संसारलाई हेरिरहने। मन लागे किताब निकाल्ने।

वाह क्या आरिसलाग्दो जिन्दगी!

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्