फोहोर व्यवस्थापनका लागि कसले के गर्नु पर्ला ?

फाइल तस्बिर।

काठमाडौँ – पान खाएर जथाभावी थुक्दा राताम्मे देखिने भित्ताहरु, बाटोमा देखिने चुरोटका ठुटा, चकलेट, बिस्कुट, चाउचाउका खोल जस्ता प्लाष्टिक जन्य फोहोर । काठमाडौँको चोक, बजार, गल्ली र सडकहरुमा देखिनु कुनै नौलो विषय होइन ।

हुन त फोहोर गर्नु हुन्न भन्ने जानकारी प्राय सबैमा छ तर बाटोमा हिँड्दा हिँड्दै हुने फोहोर जस्तै चाउचाउ, चिप्स, चकलेट खाएर बचेको खोल न हामी पकेटमा राख्छौँ न त बाटोमा फाल्नका लागि डस्टबिन नै छ ।

बाटोमा हिँडदै गर्दा प्याच्च थुक्ने, प्लाष्टिकमा प्याक गरिएका खानेकु्रा खाएर फालिएको खोल, केरा, सुन्तला जस्ता फलफुल खाएर बोक्रा सडक पोटीमै फाल्ने बानीले पनि काठमाडौँलाई दिनानु दिन दुर्गन्धित बनाएको छ ।

एक त शहरमा जताततै फोहारको डुङ्गुर छ भने अर्को तिर तिनै फोहोर उठाउनका लागि कलिला बालबालिकाको प्रयोग भैरहेको छ, जुन बालबालिका फोहोरका बोरा नभइ किताब, कापी र कलम समात्न लालायित छन् ।

बाटोमा हिँड्दा नाकमुख थुनेर हिँड्नु पर्ने बाध्यता छ । पछिल्लो समयमा काठमाडौँको खोला नाला किनारा यसै प्रदुषित नै छन् । त्यसमाथि लाजै नमानेर पुलमाथिबाट फोहोरका बोरा तिनै खोला नालामा फालिन्छन् ।

मानवीय चापका कारण न त फुटपाथमा खुट्टा अटाउने ठाँउ छ न त फोहोर फाल्ने ठाँउ नै पर्याप्त छन् । शहरका सहायक मार्ग, बजारका गल्ली र चोक अनि चौताराहरु फोहोर फाल्ने ठाउँ बनिरहेका छन्।

गल्ती कसको व्यक्ति, समाज या सरकार ?


समाजशास्त्री सम्राट शर्मा यसमा व्यक्ति, समाज र सरकार सबैलाई उत्तिकै दोषी ठान्छन् । उनी भन्छन्, ‘नेपाली समुदायमा फोहोर गर्ने गतल संस्कार अति नै सामान्य मानिन्छ । यस्तो संस्कारको विकास हुनुमा व्यक्ति, समाज र सरकार सबैको दोष देखिन्छ ।’

व्यक्ति कस्तो वातावरण जन्मियो, हुर्कियो अनि उसले त्यहाँबाट कस्तो शिक्षा दीक्षा पायो भन्ने कुराले समुदायप्रतिको उसको कर्तव्य बोध गराउनमा पनि विशेष भूमिका खेलेको हुन्छ । उनले भने, ‘जबसम्म व्यक्तिले आफ्नो घर र समाज वरिपरीको फोहोर सफा गर्ने दाइत्वको बोध गर्दैन तबसम्म सफा र स्वच्छ शहरको परिकल्पना गर्न सकिँदैन ।’

फोहोर मैला व्यवस्थापनमा राज्यले ल्याएको कमजोर नीति नियमका कारणले पनि समस्या निम्त्याएको छ । राज्यको कमजोर नीतिका कारणले पनि फोहोरको उचित व्यवस्थापन हुन नसकेको हो भन्दा फरक पर्दैन ।

ठाउँठाउँमा होडिङ्ग र्बोड टाँसेर यहाँ फोहोर फाल्न सख्त मनाही छ, यदि फोहोर फालेको फेला परेमा यतिदेखि यति जरिवाना गरिनेछ भनेर पनि लेखिएको हुन्छ । तर त्यही सूचना लेखेको ठाउँमै फोहोरको डंगुर देखिन्छ । यसको अर्थ या त समाजका सबै नागरिकहरु मुर्ख छन् या त्यहाँ फोहोर फाल्ने एक जनालाई पनि कारबाही भएको छैन् ।

के सूचना टाँस गर्दैमा टोल सुधार समिति अथवा राज्यका निकायको कर्तव्य सकिएको हो ?  शर्मा भन्छन्, ‘यदि जथाभावी फोहोर फाल्नेहरुलाई कारबाही गर्ने कुरालाई अभियानकै रुपमा अगाडि बढाउन सकियो भने सायद सूचना टाँस गरेको ठाँउमा त पक्कै पनि फोहोरको डंगुर देखिने थिएन होला ।’

उनका अनुसार नेपाली समाजलाई सजाय दिएर मात्रै सचेत पार्न सकिने हो र ? भन्ने प्रश्न पनि उठ्न सक्छ । उनले भने, ‘यो प्रश्नको जवाफ दिन त्यती सजिलो नहोला तर हामी एकपटक कल्पना गरौ यदि आफ्नो घर, समाज र टोललाई सफा राख्नुपर्ने दाइत्व मेरो हो र मैले यहाँ फोहोर गर्नुहुँदैन भन्ने कुरालाई साचो अर्थमा कार्यान्नयन गर्न सके हाम्रो समाज कति स्वच्छ देखिन्थ्यो होला ?’

यसमा जनसमुदायलाई सहभागी बनाएर उनीहरुलाई आफ्नो सम्पदा संस्कृति र सभ्यताको पहिचान गराइ शहर फोहोर मैला मुक्त बनाउन सकिन्छ भन्ने कुरा राज्यका निकायले बुझेर सोही अनुसारका अभियानहरु भने बेला बेला चलाउनै पर्छ । उनले भने, ‘उदहारणका लागि बागमती सरसफाइलाई लिन सकिन्छ । जनसमुदायको ब्यापक सहभागीतामा अहिले बाग्मतीले बिस्तारै आफ्नो रुप फेरिरहेको छ ।’

शर्मा भरखरैको वर्ल्डकपमा जापानका खेलाडीहरुले मैदान सरसफाई गरेको घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताउँछन् ।

‘जापानका खेलाडीहरुले खेल्नु अगाडि जसरी मैदान सफा गरे । यसमा फोहोर फाल्नुलाई जसरी उनीहरुले आफ्नो सभ्यतासँग जोडेर हेरे । ठिक उल्टो नेपालमा केहि खाएर होस या प्रयोग गरेर होस सडकपोटीमा होस या जहाँकहिँ होस फुत्त फाल्ने नियति छ जसले गर्दा काठमाडौँमा फोहोरको चाप बढेको हो । त्यस्तै पछिल्लो समयमा पुँजीवादको विकासक्रमले गर्दा पनि बढी भन्दा बढि उत्पादन गर्ने र बढी भन्दा बढी उपभोग गर्ने कारणले फोहोर बढिरहेको छ’ उनले भने ।

वातावरणविद सरोज ज्ञवाली भन्छन्, ‘फोहोर मैला व्यवस्थापन जटिल कार्य हो । विकसित होस वा अविकसित देशमा पनि यो ठूलो समस्याको रुपमा रहेको छ । फोहोर व्यवस्थापन बैज्ञानिक ढंगले गर्ने सके फोहोर फोहोर रहदैन । जर्मनमा फोहोर व्यवस्थापन शून्यता गइसकेको छ । काठमाडौँको कुरा गर्नु पर्दा धेरैजसो प्लाष्टिक जन्य फोहोरका कारण अस्तव्यस्त देखिएको हो ।’

कुहिने र नकुहिने फोहोर छुट्टाउन सके मात्रै काठमाडौँको आधा फोहोर कम हुने उनले बताए । त्यस्तै फोहोर मैलाकै कारणले समग्र स्वास्थ्यमा पनि ठूलो असर पारिरहेको चिकित्सहरु बताउँछन् ।

ग्राण्डी अस्पतालका डा.अमित गौली भन्छन्, ‘काठमाडौँको फोहोर मैलाले धेरैलाई रोगी बनाइरहेको छ । यसरी नै काठमाडौँमा फोहोर मैला बढेर जाने हो भने रोगी भनै रोगी र निरोगी पनि विभिन्न संक्रमण र रोगको जोखिम मोलेर बच्नु पर्ने हुन्छ ।’

डा. गैलीका अनुसार काठमाडौँको फोहोर मैला प्रदुषणको कारण दिनानु दिन धेरै बिरामी श्वासप्रश्वास समबन्धी समस्या लिएर अस्पताल आउने गरेको छन् ।

डा. गौली भन्छन्, ‘फोहोर मैलाको कारण तत्कालीन पर्ने असर त छदै छन् । तर यसको कारण दिर्घकालीन सम्म नै मानब स्वास्थ्यमा ठूलो असर पर्न जान्छ ।’

विषेशगरी यसको शिकार भनेको बुढाबुढी र बच्चा बच्चीमा बढ्दो रुपमा रहेको पाइएको छ । फोहोर मैलाबाट निस्किने धुलोको कण सबै फोक्सोमै गएर असर गर्छ भन्ने छनै । कतिपय अवस्थामा धुलो कण फोक्सो हुदै पेटमा जाने हुन्छ र पेट सम्बन्धी विभिन्न रोग लाग्ने प्रवल संभावना रहन्छ ।

फोहोर मैलाकै कारण दीर्घकालीन रोग जस्तै ब्रोङकाइटिस, क्यान्सर जस्ता रोगको बढी जोखिम रहन्छ ।

कहिलेकाहि धुलो ,फोहोर मैलामा हुने सिसाको कण श्वासप्रश्वास बाट भित्र गएमा स्वास्थ्यमा ठूलो असर पर्न जान्छ । त्यसतै जम्मा गरी राखिएका फोहोर मैलामा रहेको ब्याक्टेरिया श्वासप्रश्वासबाट भित्र जानाले विभिन्न रोगको संंक्रमणको जोखिम रहन्छ ।

त्यसैले देशको राजधानी रहेको काठमाडौँलाई फोहोरमुक्त बनाउने अभियान आजैदेखि चाल्न आवश्यक छ ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्