उच्च मनोबलले जित्न सकिन्छ क्यान्सर

काठमाडौँ – ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले शुक्रबार क्यान्सर सर्भाइभरसिप इभेन्ट सम्पन्न गरेको छ ।

नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा भएको सो इभेन्टमा क्यान्सर रोगबाट निको भएका व्यक्तिहरुले आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।

स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा क्यान्सरबाट निको भएका र क्यान्सरको उपचार गराईरहेका व्यक्तिहरुका साथमा क्यान्सर रोग विशेषज्ञ डाक्टर, क्यान्सर प्रभावितका परिवार, समाजसेवीको सहभागिता रहेको थियो ।

क्यान्सर रोगलाई जितेका व्यक्तिको अनुभव, सुझाव तथा विशेषज्ञ डाक्टरको उचित परामर्शबाट क्यान्सरको उपचार गराईरहेका व्यक्तिहरुको मनोबल बढाउन, उपचार प्रकियामा सहजता ल्याउन तथा प्रभावितको दैनिकीमा सुधार ल्याउने उद्देश्यले इभेन्टको आयोजना गरेको नेपाल क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वरुपा श्रेष्ठले बताइन् । साथै यस कार्यक्रमलाइ थप प्रभावकारी बनाउनका लागी मासिकरुपमा आयोजना गर्ने श्रेष्ठले बताइन् ।

अनुभव साट्ने क्रममा चावेल स्थित सिफलकी क्यान्सर जितेकी ४८ वर्षकी सुनिता पौडेल भन्छिन्, ‘क्यान्सर पिडितहरुलाई मनोबल बढाउनका लागी पहिले घरपरिवारको साथ सर्मथन चाहान्छ अनि बिस्तारै समाजको पनि ।’

क्यान्सर रोग विशेषज्ञ डाक्टरसँग क्यान्सरबाट निको भएका तथा उपचार गराइरहेका व्यक्तिहरुले क्यान्सर सम्बन्धी विभिन्न विषयमा छलपल गरेका थिए । छलफलमा क्यान्सर सम्बन्धी धेरै खालका भ्रमहरुको अन्त्य भएको प्रभावितहरुले बताएका थिए ।

क्यान्सर धेरै प्रकारका हुने तर नेपालमा क्यान्सर भन्ने बित्तिकै आत्तिने र हतोत्साहित हुने गरेकोले यस बारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले बताएका थिए ।

स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले नेपालमा कुल जनसंख्याको अनुपातमा अस्पतालको संख्या र बेड धेरै कम भएको बताउँदै क्यान्सर प्रभावितलाई राज्यले दिने अनुदान समेत अत्यन्त कम रहेको धारणा राख्दै क्यान्सर लगायतका गम्भिर रोगको उपचारका लागि राज्यले दिने अनुदान रकम बढाउन प्रयत्न गर्ने बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षण गरे कुनै पनि रोग शुरुवाती चरणमै पत्ता लगाउन सकिन्छ र सामान्य औषधि उपचारबाट पनि निको हुन सकिन्छ तर नेपालमा वेवास्ता वा गरिबीका कारण कुनै पनि रोगले सताएपछि मात्र उपचार गर्न जाने अवस्था धेरै छ ।

विभिन्न गम्भीर रोग मध्य क्यान्सर पनि एक हो तर सुरुमै पत्ता लागे थोरै पैसामा पनि यसको उपचार सहज सँग गर्न सकिन्छ तर जटिल अवस्थामा पुगि सकेपछि आर्थिक भार पनि धेरै पर्ने र निको हुन पनि गाह्रो हुने गर्दछ । तर उच्च मनोबलले क्यान्सरलाई जितेका धेरै उदाहरण रहेको क्यान्सर जितेकी पौडेले बताउँछिन् ।

नेपाल क्यान्सर हस्पिटल, उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले भदौ २ गते शनिबार ललितपुरको लगनखेलमा पाठेघर तथा स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क शिविरको पनि आयोजना गर्दै छ । यस शिविरमा सहभागी भइ लाभ लिन विवाहित तथा अविवाहित महिलाहरुलाई आग्रह गरिएको छ ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्