प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन

देखाउनकै लागि पनि प्रदेश २ मा सबैभन्दा धेरै विकास गर्छु

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पाँच वर्षको कार्यकालमा सबैभन्दा बढी विकास प्रदेश २ मा गर्ने बताएका छन् । प्रदेश २ मा आफ्नो विरोधका स्वर धेरै सुनिएकोले त्यसलाई चिर्न पनि यहाँ धेरै विकास गर्न आवश्यक रहेको उनले बताए ।

शनिबार प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘म प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै विरोधको स्वर मधेसबाट सुनीयो, त्यसैले मेरो बाँकी रहेको ९ वटा ६ महिनाको समयमा मधेसमा सबैभन्दा धेरै विकास हुन्छ ।’

‘यहाँको जनतालाई चाहिएको त विकास होला, शिक्षा होला, स्वास्थ्य होला, मेडिकल कलेज होला, त्यो सबै मेरो यो कार्यकालमा हुन्छ, मैले यो सरकार कस्तो हो भनेर देखाउनका लागि भएपनि यत्ति काम गर्छु’, प्रधानमन्त्री ओलीले भने ।

उनले आफ्नो ६ महिनाको कार्यकाल सकिएको र यो ६ महिनामा सरकारले उत्साहजनक प्रगती गरेको सुनाए ।

‘केही केही मान्छेहरु तर्सिएका छन यो सरकारको काम देखेर, बिगत केहि वर्षमा मात्रै ३८ कुन्टल सुन एयरपोर्टबाट तस्करी भएको छ, अलिकति हो र ? ३८ कुण्टल सुन, अनुमान गर्नुस त कति हो कति ? यो सुन तस्कारको जालो समेत हामीले बन्द गरेका छौँ, त्यो सुन त पचाएका छन् तर हामीले तस्करीको सबै प्वाल बन्द गरेका छौँ । तस्करहरुको निदहराम भएको छ ।’

ओलीले भने, ‘अब १० वटा ६ महिना मध्ये ९ वटा ६ महिना बाँकी छन् मैले यो ९ वटा ६ महिनामा मुलुकमा धेरै विकास भएको अनुभुती गराउँछु र सबैभन्दा धेरै विकास प्रदेश २ मा हुन्छ ।’

संविधानको कमा र फुलस्टप पनि फेर्दिन भनेर हल्ला मच्चाइयो


आफूलाई मधेस विरोधीको आरोप लागिरहेको बताउदै प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरे । ‘म विभेदको अन्त्यका लागि ५३ वर्ष राजनीति गरेको मान्छे हुँ । संविधानले विभेद गर्दैन यदि कहिँ गरिएको छ भने संसोधन गर्ने काम संघीय सरकारको हो । विभेद कहिँ छ भने मलाई बताउनुस त्यो संसोधन गरिन्छ । मैले ५३ वर्ष लडेको विभेदका विरुद्ध हो, विभेदका लागि होइन’ प्रधानमन्त्रीले भने।

ओलीले संविधानको कमा र पूर्णबिराम पनि परिवर्तन गर्दैन भन्यो भनेर आफ्ना विरुद्ध गलत प्रचारबाजी गरिएको बताए । उनले संविधान गतिशिल चिज भएको बताउँदै समयको माग अनुसार परिवर्तन हुने बताए ।

‘टर्चमा ब्याट्री सकियो भने ब्याट्री फाल्ने हो टर्च होइन, संविधानमा पनि केहि कमजोरी होलान त्यसलाई सुधार्ने हो, संसोधन हुन्छ, जायज कुरामा संविधान संसोधन गर्न सरकार तयार छ । कमा र फुलस्टप पनि फेर्दिन भन्यो भन्ने हल्ला मात्र हो’ ओलीले भने ।

आफूलाई फसाउन सप्तरी गोलीकाण्ड


प्रधानमन्त्री ओलीले आफूलाई फसाउन सप्तरी गोलीकाण्डको घटना रचिएको बताए । ‘सप्तरीमा आफ्ना कुरा भन्न गएको थिए, आमसभा सकेर राजमार्गमा पुगेपछि गोली चलेको थाहा पाए, अचम्म लाग्यो’, ओलीले भने ‘गोलीकाण्डको रचना कसले गर्‍यो ? किन गर्‍यो ? न म सरकारमा थिए, न म बन्दुक बोकेर मधेस आएको थिए, म त जनतालाई आफ्ना कुरा भन्न आएको थिए तर त्यहाँ राजनीतिक षड्यन्त्रको रचना भयो र मलाई फसाउन खोजीयो ।’

प्रधानमन्त्री ओलीले उक्त घटनामा तत्काल दुःख व्यक्त गरेको स्मरण गराउँदै घटनापछि मधेसका सबै कार्यक्रम स्थगित गरेको बताए ।

‘हुन त अलिअलि विरोध पन्छाएर आउन सकिन्थ्यो, कार्यक्रम गर्न सकिन्थ्यो, तर म आएन किन आउँ ? म स्थानीय तहको निर्वाचनको प्रचारमा पनि मधेस आएन, किनभने मैले सोचे यो बेला मधेस जानुभन्दा पर्खनु राम्रो हो, केहि समय पर्खदैमा वास्तविकता सबैलाई थाहा हुन्छ भने किन नपर्खने भनेर ढिलो गरी मधेस आएको हुँ’ओलीले भने ।

प्रदेश नम्बर २ बाट पानी जहाजको सुरुवात


प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ हुँदै नेपालको पानी जहाज चल्न सुरु हुने बताए । यसअघि नै रेल पनि चलिसकेको र अब पानी जहाज चल्न पनि यहिँबाट सुरु हुने भएकोले प्रदेश २ भाग्यमानी प्रदेश रहेको प्रधानमन्त्री ओलीले बताए ।

उनले बन्द अवस्थामा रहेको रेल सेवा छिट्टै नियमित संचालन हुने बताए ।

‘पानी जहाज चल्छ, रेल पनि यहीबाट गुड्छ, हुलाकी राजमार्ग पनि यहि छ, त्यसैले प्रदेश २ भाग्यमानी प्रदेश हो, ओलीले भने –‘पानी जहाज कुदाउने हो त्यसका लागि अब धेरै समय कुर्ने बेला छैन ।’

‘बिहान बेलुकाको साग सब्जीको कुरा मात्र गरेर हुँदैन । रेलको विकास गर्नुपर्छ, पूर्वपश्चिम रेल बनाएर छोड्ने हो । तराईबाटै जाने हो । त्यसको फाइदा मधेसलाई नै सबैभन्दा बढी हुने हो’, प्रधानमन्त्रीले भने ‘मोदीलाई काठमाडौँसम्म, वीरगञ्जसम्म रेल लानु पर्‍यो भनेको छु । चीनलाई पनि केरुङ काठमाडौं रेल ल्याउन आग्रह गरेका छौँ । हामीले ट्यांकरका ट्यांकर पानी मात्र पठाए पनि पैसाको खात हुन्छ ।’

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्