देश सञ्चार बेलुकी अपडेट

प्रदेश २ मा आफ्ना विरोधी घटाउने दाउमा प्रधानमन्त्री

स्थानीय बासिन्दाले प्रदेश नम्बर २ लाई राज्यले उपेक्षा गरेको गुनासो गर्दै आएका छन्। आफ्ना विरोधी घटाउने दाउमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार जनकपुर पुगे। र उनले त्यस क्षेत्रको विकासमा सबैभन्दा खरो उत्रने प्रतिवद्धता जनाएका छन्। उनले विकासको प्रतिवद्धता जनाइरहँदा केही स्थानीयबासीले उनीविरुद्ध कालो झण्डा समेत देखाउन भ्याए ।

बलात्कारको विरोधमा उत्रिएकामाथि प्रहरी दमन
बलात्कारका घटनामा अनियन्त्रि वृद्धि भइरहेका बेला शनिबार राजधानीको माइतिघर मण्डलामा भएको प्रदर्शनले धेरैलाई चिन्तितसँगै आक्रोशित बनाएको छ। बलात्कारीलाई फाँसी दिनु पर्ने माग सहित कालो पेटिकोटमा उत्रिएका अधिकारकर्मी र सर्वसाधारणमाथि प्रहरीले दमन गरेको छ। त्यसको सर्वत्र विरोध भएको छ।

प्रदेश ७ को नाम र राजधानी तोक्न सकस
सांसदलाई प्रदेश ७ को नाम र राजधानी तोक्न सकस भएको छ। प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गरि प्रतिवेदन तयार गर्नका लागि गठन गरिएको विशेष समितिको म्याद तेस्रो पटक थप गरिएको छ । यसअघि दुई पटक थपिएको समयमा पनि प्रतिवेदन तयार गर्न असफल समितिको तेस्रो पटक म्याद थप गरिएको हो ।

नेपाल विद्यार्थी संघको महाधिवेशन धकलियो
नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनका लागि ३ महिनाको म्याद थपेको छ। महाधिवेशनका लागि म्याद सकिन लाग्दा पनि अध्यक्षले बेवास्ता गरेपछि पार्टीले हस्तक्षप गरेको हो। पार्टीद्धारा गठित सहजिकरण संयन्त्रले त्यस्तो निर्णय गरेको हो।

पूर्व रानी कोमलको तीज मोह
लामो समयपछि पूर्व रानी कोमल शाह तीज विशेष कार्यक्रममा सहभागि भएकी छन्। नक्सालको अम्रपाली पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको महोत्सवको उनले अवलोकन गरिन्। कोमलसहित पूर्व राज परिवारका अरु सदस्य पनि मेला हेर्न पुगेका छन् ।

एसियाकप छनोटका लागि १५ सदस्यीय टोली
एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो ।

पाकिस्तानका नयाँ प्रधानमन्त्री बने पूर्व क्रिकेटर
पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा शनिबार शपथ लिएका छन् । उनले शनिबार बिहान पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा इमरानकी श्रीमती बुशरा मेनका पनि सामेल थिइन् ।

कोफी अन्नानको निधन
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्