१, ००० मिनेटपछि गरे ह्यारी केनले गोल

ह्यारी केनले अन्ततः सिजनको पहिलो महिनामै इंग्लिस प्रिमियर लिगमा गोल गर्न सफल भएका छन् । टोटनह्यामका केनले प्रिमियर लिगमा अगस्ट महिनामा गोल गर्न सकेका थिएनन् ।

तर लिग अन्तर्गत शनिबार राति भएको खेलपछि केनले लिगमा अगस्टमा गोल गर्न नसकेको यसअघिको खराब इतिहास भंग गरेका छन् । समग्रमा अगस्टमा भएका खेलमा १, ००० मिनेट केन गोल बिहीन रहे ।

शनिबार राति भएको खेलमा यहि सिजन बढुवा भएर आएको फुलह्यामलाई ३–१ ले हराउने क्रममा केनले गोल गरेका हुन् । ७७ औँ मिनेटमा गरेको गोल प्रिमियर लिगमा अगस्टमा गरेको उनको पहिलो गोल हो ।

त्यसअघि टोटनह्यामका लागि ४३ औँ मिनेटमा लुकास माउरा र प्रिपिएरले ७४ औँ मिनेटमा गोल गरेका थिए । यस्तै फुलह्यामका लागि ५२ औँ मिनेटमा एलेक्सान्ड्रा मिट्रोभिकले एक गोल फर्काए ।

केनले यसअघि अगस्टमा खेलेका १४ खेलमा गोल गर्न सकेका थिएनन् । माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले लिगमा लगातार दोस्रो जित निकालेको छ ।

केनले गएको सिजन सबै प्रतियोगितामा गरेर ५९ खेलमा ५२ गोल गरेका थिए । तर उनले अगस्टमा भने गोल गरेका थिएनन् । लिग अन्तर्गत राति नै भएको अर्को खेलमा कार्डिफ र न्युक्यासलले गोलरहित बराबरी खेले ।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्