विश्वकप सुपरस्टार एमबाप्पे मैदान फर्किए

रुसमा भएको विश्वकप फुटबलमा स्टार खेलाडी लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो तथा नेइमारको प्रदर्शन त्यति राम्रो नदेखिएका बेला उत्कृष्ट सम्भावनाका रुपमा उदाएका केलियन एमबाप्पे क्लब फुटबलको प्रतिस्पर्धामा फर्किएका छन् ।

फ्रान्सलाई विश्व विजेता बताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका र फुटबलको नयाँ नायकका रुपमा उदाएका किशोर एमबाप्पे फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीको ड्युटीमा फर्किएका छन् ।

उनले लिग वानमा आफ्नो पहिलो खेलमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् । लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा पिएसजीले ग्याङ्गाम्पलाई ३–१ ले हरायो ।

२० औँ मिनेटमा रोउक्सले गोल गर्दै ग्याङ्गाम्पलाई पहिलो हाफमा अग्रता दिलाए । तर दोस्रो हाफमा नेइमारसहितको पिएसजीले तीन गोल गर्‍यो । ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा विश्वका महंगा खेलाडी नेइमारले पिएसजीका लागि बराबरी गोल गरे ।

त्यसपछि विश्वकप नायक एमबाप्पेको पालो आयो । उनले ८२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ९० औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी ३–१ ले विजयी भयो ।

पिएसजीको लिगामा यो लगातार दोस्रो जित हो । दोस्रो हाफमा मैदान छिरेका १९ वर्षे एमबाप्पेले अन्तिको ८ मिनेटमा दुई गोल गरेका हुन् । गएको हप्ता भएको लिग वानको पहिलो खेलमा एमबाप्पेलाई आराम दिइएको थियो । त्यो खेलमा पिएसजी ३–० ले विजयी भएको थियो ।

एमबाप्पेले रुस विश्वकपमा चार गोल गरेका थिए । उनले फिफा युवा खेलाडी अवार्ड पनि पाए । खेलपछि एमबाप्पेले नेइमार आफू भन्दा धेरै ठूलो सुपर स्टार रहेको बताए । नेइमारले एमबाप्पेको दोस्रो गोलका लागि सहयोग पनि गरेका हुन् ।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्