पूर्वका थारु समुदाय नून-तेल नखाइ 'रैब पर्व' मनाउँदै

सूर्यको उपासना, थारु समुदाय र रैब पर्व

काठमाडौ- पूर्वका थारु समुदायले भदौ महिनाको पहिलो आइतबार ‘रैब पर्व’ मनाउँदैछन्।तिथि अनुसार भदौ महिनाको १ गते आइतवारलाई थारु भाषामा ‘रैबदिन’ वा रैब पर्व भन्‍ने गरिन्छ। उक्त दिन घरमा दही,दूध, चिउरा,चिनी, जेरी,फलफुल लगायत गुलियो खानेकुराहरु खाएर मनाउने गरिन्छ। तर नुन, तेल, माछा, मासु खान मनाही गरिएको हुन्छ।

खासगरी, खेतीपाती रोपाई सकिएपछि बाली सप्रिने तथा उब्जा बढी हुने धार्मिक मान्यताका साथ पूर्वी सिरहा सप्तरी, उदयपुर, सुनसरी,मोरङ लगायतका थारु समुदायले रैब पर्व मनाउँदै आएको थारु संस्कृति विद् भुलाई चौधरीले बताए।

उनका अनुसार थारु समुदाय प्रकृति पुजक भएकाले बालबच्चाको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै प्रकृति र कुल देवतालाई पूजा गरी यो पर्व मनाइन्छ। उनी भन्छन्,’ थारुहरु प्रकृतिका पूजारी हुन।त्‍यसकारण प्रकृतिमा पाइने फलफूल, दूध, दही खानुपर्छ।सूर्य प्रकृतिमा सबैमा ठूलो शक्तिको स्रोत भएकाले यसको उपासना गरिन्छ, सन्तानको समृद्धि र सुस्वास्थ्यको लागि।’

भदौको कुनै एक आइतवार रैब पर्व मनाउँदा धान बाली सप्रिने, घर परिवारमा कुनै किसिमका रोग ब्याधि नआउने जनविश्वास रहिआएको रैब पर्व मनाउँदै आएका चौदण्डीगढी नगरपालिका वडा-९ हडिया हडियाँ, बकैनियाका अगुवा शिवशंकर चौधरीले बताए। उनका अनुसार दही, चिउरा,सातु खाएर रैब पर्व मनाउने गरिन्छ।

उनी भन्छन्,’ प्रकृति पूजकले जीवन एक दिन सात्विक भोजन गरेर व्रत बसौ।र आपसमा सद्भाव, भेटघाट, माया र स्नेह आफन्तहरुबी साटासाट गरौ। प्रकृतिप्रति वैरभाव नराखौ। यही शाश्‍वत नियम हो। प्रकृतिप्रदत्त उपहारहरु फलफूल खाऔ,जीवन आनन्द बनाऔ र ‘रैब पर्व’ मनाऔ।’

यस्तै पर्व गरेका दिन कसैले नुन वा तेल खाए भने रैव पर्व असफल भई कुलदेवताले साथ नदिने अनिष्ठ हुने धार्मिक मान्यता रहेको छ। यस्तै अर्को मान्यता अनुसार बर्षाको समयमा तराईमा सर्पको बिगबिगी हुने हुँदा सर्पले कसैलाई पनि अनिष्ट नगरोस भनेर पर्वकै दिन महिलाहरुले बिष हरण गर्ने पौराणिक गीत बिषहैर गाउँदै नदि वा पोखरीमा नागदेवतालाई प्रतिमूर्ति बनाई बिर्सजन गर्ने गरिन्छ।

त्यसैगरी खेतिपाति रोपाई गर्दा अवस्थामा हल्लो जोत्ने र खेत रोप्ने कृषकहरु नुन र खुर्सानी बढी खाने भएकाले प्रेसर बढने हुँदा त्यसको सन्तुलनको लागि पनि एक दिन नुन तेल बार्ने चलन रहेको छ।

स्वास्थ्‍य र धार्मिक दृष्टिकोणबाट लाभदायी ‘रैब’


कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दहीलाई सगुनको रुपमा लिने गरिन्छ । नेपालमा मात्र नभएर दहीलाई संसारभर नै स्वास्थ्यवद्धक भोजनको रुपमा प्रयोग गरिन्छ । सबै उमेर समुहको लागि उपयोगी क्याल्सियम र मिनरलको खानी हो दही । विशेषतः पाचन सम्बन्धि समस्याका लागि दही  थारु समुदायमा अनिवार्य मानिन्छ।  किनकी दहीमा क्याल्सियमको मात्रा बढी हुने हुँदा हड्डीलाई मजबुत बनाउनुका साथै यसको विकास हुन सघाउँछ। दातलाई मजबुत बनाउन पनि दहीले विशेष भूमिका खेल्दछ।

प्राय  थारु समुदायको यो रैब पर्वमा माछा मासु र नुन तेल खान नहुने भएकाले स्वास्थ्यको दृष्टिकोणबाट उत्तम मानिन्छ। यसैकारण दही सेवन गर्नेहरुको पाचनप्रणाली मजबुत हुने थारु बुढापाकाहरुको भनाई छ।  दहीले रगतको कमीलाई पूर्ति गर्दै शरीरको कमजोरीलाई कम गर्छ । दहीले रोग प्रतिरोधात्मक क्षमतालाई समेत सुद्धढ बनाउँछ। यही कारण थारु समुदायमा दहीको विशेष महत्व राख्दछ। आज आफन्तहरु रैब खान जाँदा सगुनको रुपमा माटोको भाडोमा दही कोसेलीको रुपमा लैजाने गर्दछन्।

 

पहिला बरका रैब पर्व (ठूलो आइतबार) मनाइन्थ्यो

थारु संस्कृतिविद् भुलाई चौधरीका अनुसार पहिलाको रैब पर्क पुढा पाकाहरुले ६ महिनासम्‍म मनाउने चलन थियो। त्‍यतिबेला घरका मूली वा कोही एक जना व्रत बस्‍ने गर्दथे बिना नुनतेल खाएर। उनीहरुको खानकी हुनुथ्यो सातु र फलफुल। गाउँगाउँमा यो चाड मनाइन्थ्यो। तर अहिले यो पर्व भदौ महिनामा सीमित भएको बताए।

यस्तो किन भन्‍ने प्रश्‍नमा उनले भने,’ थारुहरुको तराईका माटोका पूजारी हुन। धानबाली सप्रिन्थ्यो। जमिन धेरै थियो। उनीहरु प्राकृतिक शैलीलाई अपनाउँथे र धार्मिक सहिष्णुता कायम गर्थे। जब पछि थारुहरुमाथि आक्रमण हुँदै गयो र जमिन खोसिँदै गयो। उनीहरु विस्तारै जग्‍गाविहीन हुँदै गए र यो रैब पर्ब एउटा महिनामा सीमित हुन पुग्‍यो।’

रैबमा विकृतिको रुपमा भित्रियो जेरी (जिलैबी)


पहिला पहिला  रैब पर्वमा  मानव निर्मित जेरी (थारु भाषामा जिलैबी) खाने चलन नभएको थारु बुढापाकाहरु बताउँछन्।  चौदण्डी नगरपालिका वडा- १० का ९५ वर्षीय ढेकरु थारु त्‍यतिबेलाको अनुभव सुनाउँदै भन्छन्, ‘ हामीले रैब पर्व मनाउँदा त्‍यतिबेला केवल फलफुल, दही दूध, केरा र सातु खाएर मनाउँथ्‍यौ। सबै चीज अरुवा हुनु पर्थ्यो। उसिना चिउरा, माछा मासु सबै  परहेज गर्नु पर्थ्यो।’

उनका अनुसार अमिलोको ठाउँमा जेरी खान थालिएको भए पनि अहिले एउटा विकृतिको रुपमा फैलिरहेको छ। ‘ पहिला अमिलोको साटोमा शुद्ध घिउमा पकाएर खाने चलन थियो। तरर अहिले शुघ घिउ कम पाइने भएर पनि होला, अब त डाल्टा र तेलमा समेत पकाएर जेली अर्थात जिलैबी खान थाले। यो एउटा विकृतिको रुप धारण गरिसकेको छ। ‘

थारु चाडपर्वमा  विकृति भित्रिदै

उनका अनुसार थारु समाजमा विस्तारै अरुको प्रभाव र पहुँच बढ्‍दै गएको र यसले परम्परा र चाड पर्वको ठूलो असर पारिरहेको दुखेसो गरे। उनले भने,’ पहिला चैताबरी गाइन्थ्यो। भदौ महिनामा खेत रोप्‍नीको गीत गाइन्थ्यो, तर अहिले त म्युजिक बजाइन्छ। बिषहैरी गीत मासिसक्‍यो।’

उनले कलियुगमा हिंसा र हत्‍या दिनप्रति दिन बढ्‍दै गएकाले थारु समुदायमा यसको प्रभाव थप बढ्‍दै गएको र त्‍यो रैब  पर्वो भोलिपल्ट उत्सवको नाममा, पाहुनालाई खुसी पार्ने नाममा र अरुलाई देखाउनकै लागि भए पनि मारकाट बढ्दै र परम्परा मासिँदै गइरहेकोमा चिन्ता व्‍यक्त गरे।

उनले भने, ‘ अब नयाँ पुस्ताले रैबमा पनि जिलैबी खान थाले। भोलिपल्ट मारकाट, जीवको हत्‍या गर्न थाले। यो ठूलो विकृतिको रुपमा फेशन बन्‍न थालिसक्‍यो। र यसलाई शुद्ध तरिकाले मनाउनुभन्दा पनि देखासेखीको रुपमा, गिराउने परम्पराको रुपमा र उत्सवको रुपमा मनाइदैछ । यो उत्सव होइन प्रकृतिप्रतिको उपासना र सद्भाव हो। सहिष्णुता हो। यसलाई जगाउनुस, विकृतिरहीत रुपमा।’

 

 

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्