‘बिपीलाई अरुले ‘भारतीय दलाल’ भने पनि मैले भनिन’

पञ्चायत उत्कर्षबाट ओरालो लाग्दै गरेको समयको घटनाहरुलाई उल्लेख गरिएको छ। राजतन्त्रको अन्त्य गर्न बिपी कोइराला जस्ता व्यक्तिले सकेनन्। कांग्रेसले गरेको आन्दोलनले पूर्णता पाउन सकेको थिएन । मैंले दुर्गाजीलाई रेडिकल खालको प्रजातन्त्रिक पार्टी बनाउन आग्रह गरेको रहेछु, जुन कुरा किताबमा उल्लेख भएको छ।

बिपी कोइराला जेलमै रहँदा मैंले उनले उपचार पाउनु पर्छ भनेर अखिल भारत विद्यार्थी संगठनको अध्यक्षको हैसियतले विज्ञप्ति जारी गरें । त्यसपछि मेरो बारेमा यो केटो को रहेछ भनेर कांग्रेसका साथी खोज्दै आउनुभयो।

त्यही क्रममा दुर्गाजी पनि आउनुभएको रहेछ। त्यही बेलामा मैंले कांग्रेस र कम्युनिष्ट मिलेर राजतन्त्रका बारेमा लडौं भन्ने प्रस्ताव राखें। नेपालका तमाम समस्या, पछ्यौटेपनको मुख्य कारक नै राजतन्त्र हो।

त्यसलाई अन्त्य नगरी नेपालका समस्या समाधान हुँदैन भनेर मैंले त्यतिबेलै भनेको थिएँ। दुर्भाग्यवश त्यसबेला कांग्रेस र कम्युनिष्ट मिलेर अघि बढ्न सकेनन्।

२०३७ सालमा म कम्युनिष्ट पार्टीमा लागेर मसाल हुँदै माओवादी आन्दोलनमा लागेर गणतन्त्र ल्याउने ठाउँमा पुगेको थिएँ। दुर्गा सुवेदी जस्ता व्यक्तिले लोकतन्त्रका लागि जोखिम मोलेर विमान अपहरण गर्दा पनि हाम्रो राजनीतिक नेतृत्व चुकेको देखिन्छ। किन चुक्यो मैंले अहिलेसम्म जवाफ पाउन सकेको छैन।

नयाँ पुस्ताका साथीहरुले यो कुरा खोज्नुपर्छ। त्यति बेला नेतृत्व चुक्दा राजतन्त्र विरुद्ध माओवादी आन्दोलनको नेतृत्व गर्ने अवसर वा बाध्यता आइलाग्यो। २०५६ सालमा हामी तत्कालनी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग वार्ता गर्ने सम्पर्क सूत्र खोजिरहेका थियौं।

त्यही बेला दुर्गा सुवेदीजी कृष्णजीसँग नजिक हुनुहुन्छ भन्ने जानकारी पायौं र उहासँग फेरि भेट भयो। सम्पर्क सूत्रका रुपमा कहिले देवेन्द्रराज पाण्डे, कहिले ऋषिकेश शाहले पनि काम गर्नुभयो। त्यसैले यो किताब अत्यन्त ऐतिहासिक महत्वको छ।

सबैले गम्भीरतापूर्वक अध्ययन गरिनुपर्छ। इतिहासका बारेमा आआफ्ना धारणा हुनसक्छ। इतिहासकारले आफूले चाहेअनुसार विषय वस्तुलाई जोडेर इतिहासको रचना गर्छ। त्यसैले इतिहासका कुरा पूर्ण सत्य नभई आंशिक मात्र सत्य हुन्छ।

मार्क्सले भनेका छन्, इतिहास लेख्नुभन्दा इतिहास बनाउने काममा सहभागी हुनु चाहिँ महत्वपूर्ण कु्रा हो। सुवेदीजीले इतिहास बनाउने र लेख्ने दुवै काम गर्नुभएको छ। त्यसकारण यो किताब विशिष्ट प्रकृतिको छ।

मेरा बारेमा किताबमा लेखिएका विषयहरु सत्य तथ्यमा आधार नै छन्। त्यसबारे थप टिका टिप्पणी गर्न आवश्यक छैन। यो किताब पढिसकेपछि पनि केही विषय भने अनुत्तरीत नै रहन्छन्। तर, कतिपय विषयमा जति पनि बहस गर्न सकिन्छ। विमान अपहरण गर्न ठीक थियो कि थिएन ? शसस्त्र युद्ध आवश्यक थियो कि थिएन ? यस्ता विषयमा जति पनि बहस छलफल गर्न सकिन्छ ।

संघर्ष निरन्तर चलिरहन्छ । शसस्त्र निशसस्त्र भन्ने कुरा माध्यम मात्र हुन् । राज्यले चर्को रुपमा दमन गर्न चालेपछि अलिकति कडा बाटो पनि समात्नुपर्ने हुन्छ । तर, अवस्था सहज भएपछि फेरि संघर्षको रुप फेरिन्छ ।

त्यसकारण विमान अपहरण ठीक कि बेठीक भन्नुु नै गलत छ । ७० दशकमा भए हामी सबै दुर्गा सुवेदी बन्नु पथ्र्यो । उहाँले ठीक गर्नुभएको छ।
उहाँले घटनामा बिपीको संलग्नताबारे कहीँ पनि उल्लेख गर्नुभएको छैन ।

नेतृत्वको सहमति बेगर उहाँले व्यक्तिगत लहडमा मात्र त्यो काम गर्न संभव देखिँदैन । तथापी बिपीको संलग्नता कही पनि स्वीकार गर्नुभएको छैन । जसले गर्दा नेतृत्व र क्रान्ति प्रतिको उहाँको इमानदारिता देखिन्छ ।

केही विषय अनुउत्तरित छन् । २०३३ सालमा बिपी फेरि किन मेलमिलापको नीति लिएर नेपाल आउनुभयो ? सिक्किम काण्डले हो कि ? इन्दिरा गान्धी लगाएको संकटकालका कारण बिपीका साथीहरु जयप्रकाश नारायण, चन्द्रशेखर जेल परेका कारणले हो कि ? यो अस्ष्ट छ । यसबारे हामी सबैले छानबिन गर्नुपर्छ ।

दुर्गा सुवेदी।

त्यस्तो जोखिम मोलेर आउँदा पनि राजाले किन स्वीकार गरेनन् ? बिपी जनमत संग्रहमा किन गए ? जहाँ उनलाई षड्यन्त्र पूर्वक रुपमा हराइयो । जसले गर्दा २०३९ सालमा उहाँको निरिह अवस्थमा निधन भयो भन्ने जवाफ खोजिनुपर्छ ।

अर्को कुरा भारतसँगको हाम्रो सम्बन्धबारे पनि प्रष्ट हुनुपर्छ । किताबमा दुर्गाजीले माओवादी आन्दोलन भारतबाट परिचालित थियो भन्न खोज्नुभएको छ । यसको फैसला त इतिहासले गरोस् ।

तर म आफैं त्यसको नेतृत्वकर्ता हुनुको नताले देशभित्र र बाहिरका सबै वार्तामा सहभागी भएको नाताले के भन्न चाहन्छु भने बिपीले पनि देशलाइ आँच पुग्ने गरी विदेशीसँग सम्झौता गर्नुभयो जस्तो लाग्दैन ।

हाम्रो त आन्तरिक रुपमा राजतन्त्र र बाह्य रुपमा भारत घोषित दुश्मन नै थियो । यस्तो अवस्थामा भारतले माओवादी आन्दोलनलाई प्रयोग गर्‍यो भन्ने कुरा कुनै पनि तथ्य र तर्कले पुष्टि हुँदैन ।

मेरा मित्र सुधीरजीले पनि प्रयोगशाला भन्ने किताबमा यस्तै आशय व्यक्त गर्नुभएको छ । त्यो सत्य थिएन । राजाका निकट विवेक शाहले भनेको आधारमा लेख्नु र पत्याउन ठीक होइन । प्रचण्ड र म जिउँदो छदा छदै माओवादी आन्दोलन भारतले चलाएको थियो भनेर भनिदिनुभयो भने ठूलो अनर्थ हुन्छ ।

बिपी कोइलासँग मैंले भेट्ने अवसर पनि पाएँ । उहाँले मलाई माया गर्नुहुन्थ्यो तर पनि वैचारिक रुपमा उहाँसँग सहमत हुन सकिन । कम्युनिष्टहरुले त्यतिबेला बिपीलाई भारतीय दलाल भने पनि म त्यसो भन्नु हुँदैन भन्ने मान्यता राख्थें ।

बिपीले भारतीयसँग मिलेर राष्ट्रघात नै गर्ने गरी जानुभयो भन्ने म मान्दिन । माओवादीहरु त त्यो भन्दा पनि माथि उठेर राजतन्त्र पनि अन्त्य गर्ने र भारतको हस्तक्षेप र हैकम पनि अन्त्य गर्ने पक्षमा थियौं ।

तर, हाम्रो भुराजनीतिक अवस्थाका कारण हामी धेरै संकीर्ण बनेका छौं । मुख्य मुद्दामा सत्ता रहँदा एउटा र सत्ताबाट बाहिर रहँदा अर्को कुरा गर्छौ । जसले गर्दा बाह्य पक्षले खेल्ने ठाउँ पाउँछन् ।

जसले गर्दा २००७ देखिका हाम्रा आन्दोलन सम्झौतामा गएर मात्र टुंगिएका छन् । हलाल क्रान्ति मात्र भएको छ । २०६२÷६३ पछि पनि आपसमा नमिल्दा बाह्य शक्तिलाई खेल्ने ठाउँ भएको छ । नयाँ पुस्ताले यसलाई गम्भीरता पूर्वक सुनोस् । हामी कोही पनि कसैको दलाल हुन सक्दैनौं ।

(नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले दुर्गा सुवेदीले लेखेको किताब ‘विमान विद्रोह’ बारे  शनिबार गरेको टिप्पणीको सम्पादित अंश)

 

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्