उत्तर कोरिया–दक्षिण कोरियाः पारिवारिक पुनर्मिलन

छोरो जीवित रहेछ, भेट्न जाँदैछु

पाको उमेरका दक्षिणका कोरियालीको एक समूह उत्तर कोरिया जाँदैछ । उनीहरु कोरिया विभाजन पश्चात दक्षिण कोरिया र उत्तर कोरियाबिच सन् १९५०–५३ सम्म भएको युद्धपछि विछोडिएका आफन्तलाई भेट्न उत्तर कोरिया जाँदै गरेका हुन् ।

कोरिया युद्धपछि भेट नभएका आफन्तलाई पहिलोपटक भेट्नका लागि उनीहरुलाई उत्तर कोरिया लगिएको हो । कोरिया विभाजित भएपछि उत्तर कोरियामा रहेकाहरु आफन्तलाई भेट्न दक्षिण कोरिया जान पाएनन् । प्राविधिक रुपमा दुई कोरिया अहिले पनि युद्धकै अवस्थामा छन् ।

तर पारिवारिक पुनर्मिलनका कार्यक्रम यसअघि पनि गरेका छन् । पछिल्लो तीन वर्षमा यो पहिलो पारिवारिक पुनर्मिलन हो । उत्तर कोरिया आफन्तलाई भेट्न जाने दक्षिण कोरियालीको छनौट गोलाप्रथाबाट गरिएको छ । उत्तर कोरिया जाने दक्षिण कोरियालीको समूहमा सबैभन्दा पाको व्यक्तिको उमेर १०१ वर्ष छ ।

दुई कोरियाका १०० जनाका दरले यसपटक पुनर्मिलनका लागि छनौट गरिएको छ । केहीले भने आफूले भेट्न चाहेका आफन्त जीवित नरहेको थाहा पाएपछि कार्यक्रममा सहभागी नहुने जनाएका छन् । यसले गर्दा उत्तर कोरियाका ८३ तथा दक्षिण कोरियाका ८९ जना यसपटकको पारिवारिक पुनर्मिलन कार्यक्रममा सहभागी हुँदैछन् ।

९२ वर्षकी ली केएम–सेओमले कोरिया युद्धपछि पहिलो पटक आफ्नो छोरालाई भेट्न लागेको बताएको समाचार संस्था एएफपीले जनाएको छ । उनले भनिन्, ‘यो दिन आउने छ भन्ने कहिले लागेको थिएन । मलाई उ (छोरा) जीवित थियो वा थिएन भन्ने पनि थाहा थिएन । तर जीवित रहेछ । भेट्न जाँदैछु ।’

अर्की महिला मुन ह्युन–सुकले समाचार संस्था रोयटर्ससँग भनिन् ‘म ९० वर्ष भन्दा धेरै भएँ त्यसले कहिले मर्छु थाहा छैन । यसपटक छानिएकोमा खुशी छु । अहिले म हावामा उडे जस्तै भएकी छु ।’

उनले आफ्नी बहिनीलाई भेट्दै छिन् । कोरिया युद्धले दशौँ लाख मानिसलाई परिवारसँग विछोड्यो । उनीहरुले आफ्नो आफन्तलाई भेट्न पाएनन् । बेला बेलामा हुने यस्ता पारिवारिक पुनर्मिलन कार्यक्रमले केहीलाई केही बेर मात्रै विछोडिएका आफन्तसँग भेट्ने मौका दिन्छ ।

पछिल्लो १८ वर्षमा २० पटक यस्तो कार्यक्रम भएको छ । दक्षिण कोरियालीहरु बाक्लो सुरक्षा घेरा रहेको सीमा क्षेत्र बस मार्फत पार गर्ने छन् । उनीहरुलाई माउन्ट कुमगाङ्गमा रहेको रिसोर्टमा राखिने छ ।

उनीहरुले तीन दिन उत्तर कोरियामा बिताउने छन् । तर दिनको केही घण्टा गरेर तीन दिनमा मात्रै ११ घण्टा आफन्तलाई भेट्न पाउने छन् । यो भेटघाटको अनुगमन गरिएको हुन्छ । धेरैले आफन्तका लागि उपहार ल्याएका छन् ।

उत्तर कोरियामा रहेका आफन्त गरिब रहेकाले उनीहरुका लागि खाना, औषधि तथा लत्ताकपडा दक्षिण कोरियाली आफन्तले बोकेका छन् । पाको उमेरका दक्षिण कोरियालीसँगै डाक्टर तथा नर्सहरु पनि उत्तर कोरिया जाँदै छन् ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्