लाग्छ मन हेरिरहुँ एक नास तिमीलाई...

आनन्द छैन गायक आनन्दलाई

एउटा गायक जसले धेरै गीतमा स्वर भर्‍यो। त्यो स्वरले दुनियालाई हसाएन मात्रै नचायो पनि र कतिको पीडामा मलम लगायो ।

तर आज त्यही स्वर मलिनो भएको छ। पत्‍नी ईश्‍वरीका दुवै मृगौलाले जब काम गर्न छाडे, तब गीतमा स्वर भर्ने आनन्द कार्कीको जोसमा धक्का लाग्दै गएको छ।

राष्ट्रिय मृगौला उपचार केन्द्रको बेड नम्बर ३०४ मा इश्वरी कार्कीको डायलिसिस हुँदै थियो । गायक आनन्द कार्की बाहिर पर्खिरहेका थिए गत बिहीबार। दुई महिना भयो आनन्द बिरामी कुरुवा र स्याहारसुसारमा लागेका ।

डाक्टरले तत्काल नै मृगौला फेर्नु पर्छ भनेका छन् । मृगौलाको खोजिमा छन् । आनन्द त्यहि हत्तासमा छन्, पत्नीलाई पहिलाकै सामान्य अवस्थामा फर्काउन ।

इश्वरीलाई सन्चो नभएको ९ वर्ष भैसक्यो । सुरुसुरुमा त सामान्य रोग नै होला भनेर बसे । नेपालका अस्पतालमा चेकजाँच गराउँदा रोग पत्ता लागेन । अस्पतालपिछे डाक्टरका फरक फरक कुरा आए । त्यसपछि आनन्द ईश्वरीलाई लिएर भारत गए । त्यहाँको अस्पतालले पत्ता लगायो इश्वरीका दुवै मृगौलाले काम गर्न छाडेका रहेछन् ।

त्यति पत्ता लागेपछि ईश्वरीलाई लिएर आनन्द नेपाल फर्किए र डायलिसिस सुरु गरे । सधैँ हाँसेरै बिताएका आनन्दका ३ हजार गीत धेरैको पीडामा मलम बने, हाँसोमा हाँसो थपे । तर अरुको पीडामा मलम बनेका आनन्दलाई पनि पीडाले भने छाडेन ।

सोलुखुम्बुदेखि लखनउसम्मको यात्रा

सोलुखुम्बुको तिंग्लामा जन्मिएका आनन्द कार्कीका बुबा भारतीय सेना भएकाले उनको बाल्यकाल भारतको लखनउमा बित्यो । ६ वर्षको उमेरमा बुबाले पढाउन भारत लगे ।

औपचारिक शिक्षा पनि भारतमै लिए । भातखण्डे म्युजिक कलेजमा म्युजिक पढे । पढाइ र संगीत सँगसँगै अगाडि बढाए । १६/१७ वर्षको उमेरमै उनको सांगीतिक चर्चा सुरु भएको थियो भारतमा । तर नेपालमा भने उनको बारेमा धेरैलाई थाहा थिएन ।

भारतका धेरै औपचारिक कार्यक्रमममा गीत गाइसकेका आनन्द २०३९ सालतिर साथीहरुसँग गीत गाउनकै लागि नेपाल आए । त्यो कार्यक्रम सकिएपछि साथीहरु भारत फर्किए । तर आनन्दलाई काठमाडौँले समात्यो । उनलाई काठमाडौँ छाड्न मन लागेन ।

सानैदेखि गीतसंगीतमा चासो राखेर लागेका आनन्दलाई परिवारले भने गायन क्षेत्रमै लागोस् भन्‍ने चाहन्नथे। आमा सोलुखुम्बूमै बस्थिन् । उनले छोरालाई पढ्नु पर्छ मात्रै भन्थिन् यहि बनिदियोस् भन्ने थिएन ।

तर बुबाले चाहन्थे आफूजस्तै सेनाको जागिरे होस् । बुबाको चाहनाभन्दा फरक क्षेत्रमा आनन्दको लगाव बढ्दै गयो । जसले बुबालाई भने खुशी मिलिरहेको थिएन । किनकी त्यतिबेला गायन क्षेत्रमा खासै भविश्य थिएन । भारतमा हुँदा हिन्दी गीत मात्रै गाउने आन्‍नदले नेपाल आएपछि नेपाली नै अभ्यास थाले ।

सायद आनन्दको मेहनतले मात्रै हैन, नसीबमा पनि यहि बन्‍न लेखिएको थियो । त्यसैका लागि गला, कला र लगाव थियो । आनन्दलाई यहि क्षेत्रले आनन्द दिँदै गयो ।

२०४२ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे, “जीवनमा धेरै खोला तर्नुछ” बोलको गीत गाएर । आनन्द आफैले पनि जीवनमा धेरै खोलाहरु तर्नु पर्‍यो। यहाँसम्म आउनका लागि खासै अभाव झेल्नु परेन तर संघर्ष पक्कै गर्नु पर्‍यो ।

आनन्दले सबै संग्ला खोला मात्रै तरेनन्, धमिला बाढिहरु पनि छिचोल्नु पर्‍यो । “जीवनमा धेरै खोला तर्नुछ” बोलको गीतबाटै सुरु भयो आनन्दको यात्रा । यहि गीतले धेरैलाई आनन्दको परिचय दियो, धेरैले थाहा पाए नयाँ गायक नेपाल भित्रिएको ।

गीतहरुले जब आफ्नै कुरा बोल्छन्, अनी लाग्छ यो मेरै लागि बनेको हो जस्तो । आनन्दका गीतले ती भाका बोलेका छन्, जसले खुशीमा खुशी थप्ने र पीडामा मलम लगाउने काम गरेका छन् ।

सुरु सुरुमा त उनको परिचय गजल मात्रै गाउनेका रुपमा थियो । त्यो परिचय बदल्दै लगे, नयाँ नयाँ विधाका गीत गाएर । अनि त्यो परिचय हल्ला मात्रै भयो उनले गाएको गीत जस्तै वास्तविकता त्यस्तो रहेन – यी हल्लाहरु हुन् तिमिले सुनेका…

गायक आनन्द कार्की। तस्बिर- झरना राई/देश सञ्‍चार

नेपाल आएपछि काठमाडौँमै बस्ने सोच बनाएका आनन्दको स्वरसँगै फैलिन थाल्यो उनको करियर पनि । यहि क्रममा जोडिइन् ईश्‍वरी पनि । कुरा के भयो भने, एभरेस्ट स्यारेटन होटलमा काम गर्नाका लागि आनन्दले पनि प्रतिस्पर्धा गरेका थिए ।

त्यसको मुल्यांकन गर्ने टिममा थिइन् ईश्‍वरी। आनन्दले त्यतिबेला ईश्‍वरीको अगाडी गाएका थिए, “गाजलु ती ठूला ठूला आँखा, तिर बनि पसे यो दिलैमा ।” जुन गीत पाकिस्तानी गायक गुलाम अलीले गायका हुन् । आनन्दले त्यही गीत गाएर ईश्वरीको मन जिते । जसले उनको जीवनलाई मोड्यो ।

त्यतिबेला ईश्‍वरीले सबैभन्दा बढी नम्बर दिएकी थिइन् आनन्दलाई। त्यो नम्बरले एभरेस्ट स्यारेटन होटलमा मात्रै काम गरेन, सोच्दै नसोचेको जिन्दगीको गोरेटोमा डोहोर्‍यायो। आनन्द र ईश्‍वरीको प्रेमसम्बन्ध त्यहीँबाट सुरु भएको थियो।

आनन्दलाई गजल मात्रै गाउँछ भन्‍ने ट्याग लागेको थियो । २०५० सालमा उनको दीपक जंगम र कृष्णहरी बरालसँग भेट भयो । त्यही भेटले त्यो ट्याग मेटाउन मद्दत गर्‍यो ।

यी हल्लाहरु हुन् तिमिले सुनेका, कसैसँग मैले मुटु साट्या छैन…

यो गीतमा स्वर दिएपछि आनन्दले अरु गीत पनि यति राम्रो गाउँदो रहेछ भन्‍ने छाप छोडे। त्यसपछि संगीतकार शम्भुजित बाँस्कोटा, शक्ति बल्लभहरुले आनन्दलाई फिल्‍ममका गीतमा मौका दिन थाले । पहिलो पटक कसम फिल्‍मका सबै गीत गाए। त्यसको रेकर्डिङ मुम्बइमा भएको थियो । त्यसपछि जम्‍न थाले नेपाली फिल्मका गीतमा पनि।

प्रस्तुति दिने र सिक्नेक्रम सँगसँगै चल्यो त्यतिबेला । बिहानभरी नरराज ढकालसँग संगीत सिक्थे, साँझ परेपछि होटलमा गुन्जिन थाल्थे। सुरुवात भारतबाट भएकाले नेपाली गायनक्षेत्रमा संगत पातलै थियो, दिनभरी भेटघाट चल्थ्यो म्युजिक डाइरेक्टर लगायत यस क्षेत्रका कलाकारसँग।

आनन्दको नेपालमै बस्‍ने चाहनालाई उनको खारिदो स्वरले साथ दिँदै लग्यो। आनन्द भन्छन् ‘लकले पनि फेभर गर्नु पर्ने रहेछ। सायद म सही समयमा नेपाल आएछु, अलिकति ढिलो भएको भए म भारततिरै फर्किन्थेँ होला !’

यो बेला उनलाई लकले पनि फेभर गर्‍यो । त्यही भएर सायद नेपालमै जम्दै गए।

बनमा फुल्यो फूल
माया जीवनमा नगर्नु है भूल…

यो गीतले आनन्दको उचाई थप उचाल्यो । गीतसँगै चुलिन थाल्यो उनको चर्चा पनि । ती हल्लाहरु मेटिन थाले, आनन्दले गजल मात्रै गाउँछ भन्‍ने । चलचित्र र आधुनिक गीत पनि गाए ।

 

आनन्द कार्कीका यस्ता धेरै गीत सदाबहार पपुलर छन्। अहिलेसम्म तीन हजार बढी गीतमा आनन्दको स्वर मिसिएको छ। उनको स्वरले धेरैलाई नचाएको छ, हसाएको छ अनि, पीडामा साथ दिएको छ।

“लाग्छ मन हेरिरहुँ एक नास तिमिलाई, जीवनभर माया गरौं यसरी नै तिमीलाई।”

यो गीतलाई आनन्द दर्शन ठान्छन्, जसलाई सोच्यो उसैलाई भने जस्तो । मैले पनि त्यही आभास गरेर गाएको हो  प्रेमिकालाई भने जस्तो पनि भयो, छोराछोरीलाई भने जस्तो पनि भगवानलाई भने जस्तो पनि ।

भरे आउँछु सपनीमा पर्खिराख है…। यो गीतले धेरैको मन जितेको छ । ईश्‍वरीको पनि मन नजित्‍ने कुरै भएन आफ्नो मान्छेको स्वर यस्ता शब्द स‍ुन्‍न पाउँदा । ईश्‍वरीको साथ पाएपछि आनन्दको रफ्तारले थप गति लियो । ईश्‍वरीले आनन्दलाई बुझिन् ।

बुझ्ने मौका यसरी सुरु भएको थियो । एक दिन ईश्‍वरी आनन्दको कोठामा पुगिन् ।

उनको कोठामा गीत लेखेका कागजहरु छरपस्ट थिए । ठट्टै ठट्टामा आनन्दले भने ‘संगाल्ने मान्छे नभएर यस्तो बिजोग भा’छ। त्यो कुराले ईश्‍वरीको मन बिझायो, उनले छरपष्ट कागजका गीतहरु लगेर दुई दिनपछि संगालेर ल्याइदिइन् ।’

त्यसपछि ईश्‍वरीले गीत मात्रै होइन आनन्दलाई नै संगालेकी थिइन्। कलाकारको जिन्दगी आज छ, भोलि छैन । कमाइको पनि भर छैन। हुन त आनन्दले त्यो फुर्सद पाएनन् । जसले उनको शान र मान दुवै छ।

तर आज त्‍यतिले मात्रै पुगेन । इश्वरीका लागि मृगौला आवश्यक पर्‍यो । आफन्तहरुलाई भनिसकेका छन् । उनका शुभेच्छुकहरु पनि लागि रहेका छन्। घरमा दिनहुँ पुग्छन् आफन्त र स्वरले आफ्नो बनाएकाहरु ।

उनी अहिले पनि छिट्फुट गीत रेकर्डिङ गरिरहेका छन्। यसै साता उनको गीत रेकर्डिङ भयो, “आनन्दै आनन्द छ माता पिताको काख, हुँदैन आनन्द त्यो पाए अरुको लाख।”

तर आज माता पिताको काख छैन उनीसँग, भएकी जीवनसाथी पनि थला परेकी छन्। अहिले आनन्द त्यो आनन्दमा छैनन्, पीडामा छन्।

तस्बिर तथा भिडियो : झरना राई/देश सञ्‍चार