कर्नेल पुनलाई हातहतियार तथा खरखजाना मुद्दा,१० दिन म्याद थप

काठमाडौं- २० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका नेपाली मुलका भारतीय अार्मीका कर्नेल बलबहादुर पुनलाई हात हतियार तथा खरखजना मुद्धामा १० दिन म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।

बुद्ध एयरमार्फत पोखरा जान लाग्दा आईतबार पुनको झोलाबाट २० राउन्ड गोलि बरामद भएको थियो। चितवन स्थायी घर भएका पुन १७ दिनको विदामा चार दिन अघि काठमाडौं आएको गौशाला प्रहरी वृतका प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिए। काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि १० दिनको समय उपलब्ध गराएको हो। यसअघि जिल्ला प्रशासन कार्यालयले म्याद दिने गरेकामा नयाँ मुलुकी एेनमा ब्यवस्था भएअनुसार भदौ १ गतेदेखि अदालत आफैले हेर्न थालेको हो।

के भन्छन् पुन ?

भारतीय अार्मीकै छोरा पुन बाबुको पदचाप पछ्याउँदै २० वर्षअघि भारतीय सेनामा आवद्ध भएका थिए। अनुसन्धानका क्रममा पुनले अाफु भारतको स्थानीय एक अार्मी एकेडेमीको ‘कमान्डेन्ट’ भएको बताएका छन्। सुटिङ प्रतियोगितामा भाग लिन जाँदा बाँकी रहेको गोली झोलामा राखेको र त्यो निकाल्न बिर्सदा नेपालसम्म आईपुगेको पुनले प्रारम्भिक बयानका क्रममा बताएका छन्।

‘ यो गोली सुटिङका लागि प्रयोग हुने हो। यसले मान्छे मार्दैन। बढीमा चरासम्म मर्न सक्छ। सुटिङ प्रतियोगितामा भाग लिएपछि २० वटा गोली बाँकी थियो। तर नेपाल आउँदा मैले झोलामा राखेको ती गोली निकाल्न बिर्सेछु’, प्रहरीसँग पुनले दिएको बयान उल्लेख गर्दै अनुसन्धानमा संलग्न एक प्रहरीले भने। पुन ट्रेन चढेर नेपालगन्ज आएका थिए। नेपालगन्जबाट काठमाडौं आएका पुन राजधानीमा तीन दिन बसेर आईतबार पोखरा घुम्न निस्कन लागेका थिए। ‘ थप अनुसन्धान भईरहेको छ’, प्रहरी स्रोत भन्छ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्