कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालमा आउला त एमबीबीएस कक्षा ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान। तस्बिर- डिलप्रसाद शर्मा/देश सञ्‍चार

काठमाडौं –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालनका लागि गठित कार्यदलका संयोजक एव‌ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका अर्थो विभागका प्रमुख प्राध्यापक डा. श्रीकृष्ण गिरीले समयमै काम सक्ने प्रतिवद्धता जनाएका छन्।

डा. गिरीले आफूलाई महत्वपूर्ण जिम्मेवारी आएको र त्यसको कार्यान्वयमा आफू प्रतिवद्ध रहेको जनाएका हुन्।

सरकारले  डा. गोविन्द केसीसँग सम्झौता भएको झण्डै एक महिनापछि आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालन र स्तरवृद्धिका लागि डा. गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलका सदस्यहरुमा डा. केसीका समर्थक डा‍. जीवन क्षेत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. केदार बराललाई नियुक्त गरिएको छ। यस्तै कार्यदलका अन्य सदस्यहरुमा कर्णाली प्रदेश सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधिलाई समेत संलग्न गराइनेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कार्यदलका लागि ती संस्थाहरुलाई प्रतिनिधि छनौट गरी पठाउन निर्देशनसमेत दिएका छन्।

दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँच पुर्या‍उनु पर्ने डा. केसीको मागअनुसार सरकारले प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्नका लागि कार्यदल गठन गर्ने सहमत भएको थियो।

डा. केसीसँगको सम्झौताअनुसार सरकारले इलाम पाँचथर, उदयपुर, डडेल्धुरा, डोटीमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिमा डा. शैलेशमणि पोखरेल, डा. हरि लम्साल, डा शंकर भट्ट छन् । उक्त समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव र नेपाल मेडिकल काउन्सिलको प्रतिनिधिलाई सदस्यका रुपमा राखिनेछ। ।

पूर्ववर्ति सरकारले गरेको सम्झौताअनुसार हरेक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालनमा ल्याउनु पर्ने डा. केसीको मागमा सहमति जनाए बमोजिम सरकारले त्यस्तो कार्यदल निर्माण गरेको हो।

डा. अनसन तोड्ने क्रममा गत १० गते सरकारले उनको मागअनुसार राष्ट्रिय चिकित्सक विधेयक संशोधन गर्ने सहमति जनाएको थियो ।  उक्त विधेयकमाथि हाल संसदकाे स्वास्थ्य तथा शिक्षा समितिमा दफादार छलफल भइरहेको छ।

डा. केसीसँग भएका अन्य सम्झौता पनि कार्यान्वयका लागि गृहकार्य भइरहेको भन्दै डा. केसीलाई प्रधानमन्त्री केपी ओलीले गत साउन २६ गते आन्दोलनका कुनै पनि कार्याक्रम अघि नसार्न आग्रह गरेका थिए।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्