१३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रक्ररण

प्रहरीले वास्तविक हत्यारा जोगाउन खोजेको भन्दै महेन्द्रनगर बजार बन्द, अवस्था तनावग्रस्त

काठमाडाैँ – १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले मंगलबार भीमदत्तनगर बजार (महेन्द्रनगर) बन्द गराएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गर्दै प्रहरी ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

नागरिक संघर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । नागरिक समाज र अधिकारकर्मीले वास्तविक हत्यारालाई सार्वजनिक गर्न दबाब दिइरहेका छन् ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त । बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ । आक्रोशित स्थानीयले प्रहरीलाई समेत लखेटेका छन् । बन्दमा व्यापारीहरुले पनि साथ दिएका छन् ।

प्रहरीले वास्तविक हत्यारा जोगाउन खोजेको विरोधमा बन्द रहेको महेन्द्रनगर बजार।गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।

पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्