काठमाडौँ – तरकारी मुख्य थोक बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा व्यवसायीले अनियमितता गरेको आरोपमा सरकारी टोली सोमाबर अनुगमन गयो । त्यहाँका व्यवसायीले सरकारी अनुगमन टोलीका सदस्यलाई अवरोध गरे । उनीहरुलाई केही घण्टा आफ्नो नियन्त्रणमा राखे ।

प्रहरी गएर अनुगमन टोलीका सदस्यलाई छुटायो । अनुगमनमा अवरोध गर्नेमा कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहितका व्यवसायी थिए । प्रहरीले खतिवडा र व्यवसायी विमल ढुंगानालाई पक्राउ गर्‍यो । उनीहरुलाई पक्राउ गरेको विरोधमा मंगलबार व्यवसायीले कालिमाटी बजार बन्द गरेका छन् ।

आपूर्ति विभागको टोली मंगलबार बिहान पनि अनुगमनका लागि गएको थियो । झण्डै सात सय टन तरकारी भित्रने कालिमाटीमा मंगलबार १०० टनको हाराहारीमा मात्रै तरकारी भित्रिएको छ । व्यवसायीले थोक बजार बन्द गरेका छन् । तर बाहिरपट्टिी रहेको खुद्रा बजार भने खुलेको छ ।