‘बोलाउँ भने तिमिलाई बात लाग्ने डर’ गाउने गायक दुर्गा खरेल सम्मानित हुने

काठमाडौँ – भारतको दार्जिलिङ्ग बसेर नेपाली संगीतको क्षेत्रमा सक्रिय गायक, संगीतकार एवम् गीतकार बद्री दुर्गा खरेल गोपाल योञ्जन स्मृति पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

गायक, संगीतकार एवम् गीतकार गोपाल योञ्जनको सम्झनामा स्थापना गरिएको पुरस्कार यो वर्ष दार्जिलिङ्गका नेपाली संगीतकर्मी खरेलालाई दिन लागिएको हो ।

पुरस्कार यहि भदौ ९ गते संगीतकार गोपाल योञ्जनको ७६ औँ जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम गरी प्रदान गरिने आयोजक शुभारम्भः द म्युजिकल जर्नीले जनाएको छ ।

गोपाल योञ्जन स्मृति पुरस्कार–२०७५, ग्रहण गर्नका लागि संगीतकर्मी खरेल काठमाडौँ आउने तय भइसकेको छ । संगीतकर्मी खरेल गोपाल योञ्जनका अनुयायी हुन् । उनी नेपाली सुगम संगीतमा निरन्तर लागिरहेका छन् ।

गोपाल योञ्जनका साथी तथा गीतकार नगेन्द्र थापाले नेपाली संगीत र त्यसमा योञ्जनको योगदान बारे बाल्ने छन् । पुरस्कार वितरण कार्यक्रम उनकै प्रमुख आतिथ्यतामा हुने र दार्जिलिङ्गबाट खरेलसहित केही कलाकार आउने छन् ।

सम्मानित हुने संगीतकर्मी खरेलका निर्मायाका मायाहरु, सुनाखरी, नवरङ्ग, माटोको माया र साई अर्चना गीति एल्बम छन् । उनले अगमसिंह गिरी, डा. जस योञ्जन प्यासी, नोर्देन रुम्बा, नन्द हाङ्गखिम, मनबहादुर गुरुङ, कमल गुरुङ, पुष्प राईसहितका गीतकारका गीत गाएका छन् । उनका ‘बोलाउँ भने तिमिलाई बात लाग्ने डर’, ‘एक रात थियो’, ‘यो कस्तो अचानक’ सहितका धेरै गीत चर्चित छन् ।

अरुणा लामा, दावा ग्याल्मो, डेजी बराइली, शान्ती ठटालसहितका कलाकारसँग गीत गाएका खरेलले आकाशको आक्रोश धरतीको रोदन, म मरेपछि, महेश, संक्रमणसहितका नाटकमा पनि संगीत दिएका छन् । उनले आफ्ना गुरुको नाममा रहेको पुरस्कार थाप्न पाउनु निकै भाग्यको कुरा रहेको बताएका छन् ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्