कञ्चनपुरमा गोली चलेको छैन : प्रहरी

फाइल तस्बिर

काठमाडौँ – १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै बजार बन्द गरेर प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दामाथि प्रहरीले गोली नचलाएको दाबी गरेको छ ।

महेन्द्रनगरमा प्रदर्शन गरिरहेका केही प्रदर्शनकारीले कञ्चनपुर प्रहरीले आफूहरुमाथि गोली प्रहार गरेको सामाजिक सञ्चालमा उल्लेख गरेका थिए । तर कञ्चनपुर प्रहरीले भने प्रदर्शनकारीहरुमाथि गोली नचलाएको दाबी गरेको हो ।

‘भिडबाट प्रहरीमाथि ढुंगा प्रहारसँगै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न खोजेपछि सामान्य बल प्रयोग गरिएको हो, अश्रुग्यास प्रहार भएकै हो तर गोली चलेको छैन, हामीले गोली चलाएका छैनौँ,’ एसपी बिष्टले भने ।

उनले घटनालाई अतिरन्जीत पारेर शान्ति सुरक्षा खलबलाउने काम गर्नेलाई प्रहरीले निगरानी गरिरहेको बताए ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।

तर बागफाँटाका बिष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीय बासिन्दा बिरोध प्रदर्शनमा उत्रेका छन् ।

उनीहरुले महेन्द्रनगर बजार बन्द गराएका छन् । आक्रोशित स्थानीयले बिहान प्रहरीलाई समेत लखेटेका थिए । बन्दमा व्यापारीहरुले पनि साथ दिएका छन् ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्