लुगाका कारण सरकारी कार्यालय प्रवेशमा रोक, नयाँ कानुनले यसबारे के भन्छ?

काठमाडौँ – मोडल, गायिका तथा गीतकार समृद्धि राईले मंगलबार दिउँसो फेसबुकमा एउटा आफ्नै भिडियो पोस्ट गरिन्। जसमा उनले भनेकी छिन् – म तपाईँहरुलाई छिटोछिटो मैले लगाएको लुगा देखाउँदै छु जुन छोटो छैन बरु निकै शिष्ट र सभ्य छ। तर मलाई यहाँ ट्राफिक प्रहरीले मैले लगाएको कपडाका कारण भित्र प्रवेश गर्न दिएका छैनन्।’

रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखा गेटबाहिर खिचिएको उक्त भिडियोसँगै उनले लामै स्टाटस पनि फेसबुकमा लेखेकी छन्। समृद्धीले पोष्ट गरेको उक्त भिडियो करिब दुई घन्टाको अन्तरमा ७ हजारपटक हेरिएको छ भने  ६८ सेयर भएको छ।  लुगाकै कारण सरकारी कार्यालयमा प्रवेश गर्न नदिइएकोमा निकै आक्रोश व्यक्त भएका छन्, कमेन्टमा।

सरकारी कार्यालयमा सेवाग्राहीले कस्तो लुगा लगाउनु पर्छ भन्नेबारे कतै केही लेखिएको छैन। बरु भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता एेनले अश्लिलतालाई परिभाषित गर्दै सजायको समेत व्यवस्था गरेको छ।


त्यहाँ  भनिएको छ-दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञा,न वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन। यस्तो कसुर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

कपडा लगाउँदा यौनाङ्ग देखिए त्यसलाई  यौनाङ्ग देखाएको मान्ने कि नमान्ने वा त्यस्तो अवस्थामा यो दफा आकर्षित हुने की नहुने भन्नेबारे स्पष्ट छैन। तर समृद्धि भन्छिन् ‘कुन र कस्तो कपडा लगाउने भन्ने अधिकार मेरो हो। मलाई थाहा छ मैले लगाएको कपडा शीष्ट र शब्य छ। सरकारी कार्यालय भएका कारण कुर्ता सुरुवाल लगाउनु पर्छ पो भन्दै थिइन् एकजना महिला ट्राफिक प्रहरी।’

यस विषयमा बुझ्न खोज्दा ट्राफिक प्रहरी महाशाखाका जिम्मेवार अधिकारीहरु सम्पर्कमा आउन सकेनन्।

गाईलाई राष्ट्रिय जनावरको दर्जाबाट हटाउनु पर्ने माग गर्दै एक युवाले नाङ्गो भएर प्रदर्शन गरेका थिए । उनलाई प्रहरीले हनुमानथानबाट पक्राउ गरी अहिले मुद्दा चलाएको छ ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्