रहस्यको चक्रव्यूहमा पूर्वराजदूत झा हत्या प्रकरण

केशव झा

काठमाडौं- पूर्वराजदूत केशव झाको हत्या भएको दुई दिन बितिसक्दा पनि अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले संलग्नहरुको सुइँकाे समेत पाउन सकेको छैन।

तर, अनुसन्धानरत प्रहरी अधिकारीको निष्कर्श छ- झाको हत्या उनको परिवार र घरबारे सम्पूर्ण जानकारी भएकैले गरेका छन्। त्यसो भए कसले गर्‍यो त हत्या ?

महाशाखा भन्छ- त्यो त अनुसन्धानबाटै खुल्छ। समय लाग्न सक्छ तर अभियुक्त खुल्छन्।

अनुसन्धान गरिरहेका प्रहरी झाको हत्या रहस्यको चक्रव्यूहमा रहेकाे बताउँछन्। ८० वर्षीय झा श्रीमती र एक सहयोगीका साथ बबरमहलस्थित घरमा बस्दै आएका थिए। झा भुइँतलामा एक्लै सुत्थे भने श्रीमती पहिलो तलामा एक्लै सुत्थिन्। घरको मूल ढाेकाभन्दा बाहिर सुत्थे सेक्युरिटी गार्ड तथा भान्छे सानुकाजी तामाङ।

छोरा बुहारी करिब एक महिनाको नेपाल बसाइपछि शनिबार मात्र आयरल्यान्ड फर्किएका थिए। प्रहरीले झाको घरमा काम गर्ने दुई माली र सेक्युरिटी गार्डलाई पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

सँगै सुतेको कुकुरले किन थाहा पाएन? 

आइतबार साँझ श्रीमतीसँगै टिभी हेरेर भुइँतलामा सुत्न झरेका झा बिहान आफ्नै ओछ्यानमा मृत भेटिएका थिए। उनको टाउको र घाँटीका ६ ठाउँमा चक्कु प्रहार भएको थियो। चक्कु सोही घरको भान्छामा प्रयोग हुने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। रगतले डसना र सिरक पुरै भिजेको थियो। रगतका छिटाहरु निकै परसम्म पुगेको पाइएको छ। ‘ हतारमा र बेस्सरी चक्कु प्रहार भएको देखिन्छ’, प्रहरी भन्छन्।

झा  कुकुरसँगै सुत्थे, एउटै ओछ्यानमा। त्यति धेरै आक्रमण हुँदा पनि कुकुरले किन थाहा पाएन? कुकुर किन भुकेन?

कसरी घरभित्र छिरे हत्यारा 

झाको हत्या पहिलो तलाको झ्यालबाट छिरेर भएको देखिन्छ। अनुसन्धानरत प्रहरीका अनुसार दोस्रो तलामा रहेको झ्याल र पहिलो तलामा रहेको झ्याल काटिएको छ। दोस्रो तलाको झ्यालबाट पहिलो तलाको झ्यालमा आउन निकै अनुभवी व्यक्ति चाहिन्छ। ‘डोरीकै सहायताले मात्र आउन सक्छ? तर त्यत्ति राति?’ प्रहरी प्रश्न गर्छन्।  पहिला कुन झ्याल काटिएको थियो? यदि पहिलो तलाको झ्याल काटिएको थियो भने दोस्रो तलाको झ्याल चाहिँ किन काटिएको थियो?

घरको दोस्रो तलामा छत छ। दोस्रो तलाको करिब आधा भागमा कोठा निकालिएको छ। घटना हुँदा छतबाट घरभित्र प्रवेश गर्ने ढोका बन्द थियो। अनुसन्धानमा खटिएका प्रहरी भन्छन्- पहिलो तलामा रहेको झ्याल काटेर भित्र छिर्नबित्तिकै झाकी श्रीमती सुत्ने ओछ्यानमा पाइला पर्छ। झाकी श्रीमतीले पनि थाहा नपाउने गरि कसरी छिरे हत्यारा ? उनीहरु त्यही कोठाबाट सिँढी हुँदै पहिलो तलामा झरेकोमा प्रहरी स्पष्ट छ।

बाहिर सुतेका सहयोगीले किन थाहा पाएनन् 

घरको सुरक्षा गर्न बसेका सानुकाजी तामाङले यत्रो घटना भइरहँदा किन थाहा पाउन सकेनन् ?  के घटनामा उनको संलग्नता छ ? प्रहरी अधिकारी भन्छन्- यदि संलग्न थिए भने उनि किन माथी गएर झ्यालबाट भित्र छिरे? कसरी माथिसम्म पुगे ? उनी तलबाटै भित्र गएर पनि घटना हुन सक्थ्यो। तर अहिले नै केही भनि हाल्न सक्ने अवस्था छैन। उनी कतै भागेका पनि छैनन्। प्रहरीका अनुसार करिब राति १२ बजे झा र उनका छोराबीच मोबाइलमा कुराकानी भएको थियो।

त्यसो भए अनुसन्धानको कुकुर किन सानुकाजी सुत्ने ओछ्यानमा पुगेर रोकियो 

झाको हत्या भएको सूचनापछि प्रहरीको अनुसन्धान टोली सोमबार बिहान बबरबहलस्थित झाको घरमा पुगेको थियो। प्रहरीले अनुसन्धानमा पोख्त कुकुरलाई पनि साथमा लिएर गएको थियो। उक्त कुकुर दुईपटकसम्म सानुकाजी सुत्ने ओछ्यानको छेउमाम गएर रोकिएको थियो।

आखिर किन भयो झाको हत्या

प्रारम्भिक अनुसन्धानमा झाको हत्या सम्पतिका कारण नभएको देखिएको छ। झाको घरमा भएका कुनैपनि सामान हराएका छैनन्। झा सुत्ने  र उनकी श्रीमती सुत्ने कोठामा पनि केही महँगा बस्तु थिए। तर त्यो लगिएको छैन। झाले आफ्ना कामदारलाई सोमबार मात्र बैंकबाट पैसा निकालेर तलब दिएका बताएका थिए। ‘यसले पनि उनीसँग आईतबार पैसा नभएको देखिन्छ’,प्रहरी अधिकारी भन्छन्।

 

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्