अ ट्रु आइकनिक फुटबलर

डेविड बेकह्यामले पाउने भए प्रतिष्ठित अवार्ड

युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्ल्याण्डका पूर्व कप्तान डेविड बेकह्यामलाई सम्मानित गर्ने भएको छ । फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै बेकह्यामलाई युइएफए प्रेसिडेन्टस् अवार्ड प्रदान गर्न लागिएको हो ।

बेकह्यामले विश्वकको हरेक कुनामा फुटबलको प्रशार गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको युइएफएले जनाएको छ । बेकह्यामले क्लब फुटबलमा म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, एसी मिलान, पेरिस सेन्ट–जर्मेन र एलए ग्यालेक्सीबाट खेले ।

उनी २० वर्ष फुटबल खेलाडीका रुपमा सक्रिय रहेका थिए । बेकह्यामको अथक मानवीय प्रयासको पनि युइएफएले प्रशंसा गरेको छ । युइएफएका अध्यक्ष एलेक्सान्डर सेफेरिनले भने, ‘बेकह्याम उनको पुस्ताका साँचो रुपमा आइकनिक फुटबलर हुन् ।’

४३ वर्षका बेकह्यामले इंग्ल्याण्डबाट ११५ खेल खेले । उनले १० लिग उपाधिसहित क्लब फुटबलमा १९ उपाधि जितेका छन् । मोनाकोमा हुने विशेष कार्यक्रममा यो वर्षको अन्त्यतिर अवार्ड प्रदान गरिने छ । बेकह्यामले आफू निकै खुशी रहेको बताएका छन् ।

भदौ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्