ट्रम्पका वकिलले नै उनी तर्फ औँला तेर्स्याए, भने–धुर्त ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा पर्ने देखिएको छ । राष्ट्रपति ट्रम्पका पूर्व वकिल माइकल कोहेन चुनावी अभियानको आर्थिक व्यवस्थापन गर्ने सम्बन्धी कानुन उल्लंघन गरेकोमा दोषी पाइएका छन् र उनले औँला राष्ट्रपति ट्रम्प तर्फ तेर्स्याएका छन् ।
सन् २०१६ को राष्ट्रपति चुनावमा भएको अनियमितता र रुसी दखलका बारेमा अनुसन्धान भइरहेका बेला म्यानहटनको अदालतले कोहेनलाई चुनावी अभियानको आर्थिक व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन गरेकोमा दोषी ठहर गरेको हो ।
दोषी ठहर भएका वकिल कोहेनले आफूले ‘उम्मेदवार’ को निर्देशनमा त्यसो गरेको बताएका छन् । उम्मेदवार भनेर उनले राष्ट्रपति ट्रम्प तर्फ औँला तेर्स्याएका हुन् ।
ट्रम्पले चुनावलाई प्रभावित पार्ने उद्देश्यसहित आफूलाई आर्थिक व्यवस्थापन सम्बन्धी कानुनमा भएको उल्लंघन ‘कभर–अप’ गर्न निर्देशन दिएको कोहेनले बताएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ ।
ट्रम्पले आफ्ना विभिन्न प्रेमिका तथा यौन साथीहरुलाई ठूलो रकम दिएको आरोप छ । कोहेनले ती सबै घटनाको ढाकछोप गरेका छन् । ५१ वर्षका कोहेन कर तथा बैंक छलीसहित ८ आरोपमा दोषी पाइएका छन् ।
राष्ट्रपति ट्रम्पले स्थानीय समय अनुसार मंगलबार बेलुका कोहेनसँग सम्बन्धित प्रश्नको जवाफ दिएनन् । उनी पहिले नै तय भएको र्यालीका लागि मंगलबार बेलुका वेष्ट भर्जिनिया पुगेका थिए ।
त्यहाँ पत्रकारले कोहेनसँग सम्बन्धित प्रश्न गरेका थिए, तर ट्रम्पले त्यसलाई बेवास्ता गरे । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि यो विषयमा अहिलेसम्म केही बोलेको छैन ।
भर्जिनियाको एलेक्सान्ड्रियामा रहेको अदालतको जुरीले ट्रम्पको चुनावी अभियानका पूर्व प्रमुख पउल म्यानाफोर्टलाई बैंक तथा कर छली आरोपमा दोषी ठहर गरेको केही समयपछि कोहेन पनि दोषी ठहर भएका हुन् ।
कोहेनले अदालतमा आफूले संघीय कार्यालयका उम्मेदवारको निर्देशनमा आफूले अपराध गरेको बताएका हुन् । कोहेनले भनेका संघीय कार्यालयका उम्मेदवार अरु कोही नभएर राष्ट्रपति ट्रम्प नै रहेको विशेषज्ञले बताएका छन् । दोषी पाइएका कोहेनमाथि ६५ वर्षसम्मको जेल सजाय हुन सक्छ ।
सन् २०१६ को चुनावमा रुसले दखल दिएको र त्यसमा ट्रम्पको अभियानको साँठगाँठ रहेको आरोप लाग्दै आएको छ । पछिल्लो घटनाले ट्रम्प थप समस्यामा पर्दै गएका छन् ।
अमेरिकी लेखक तथा न्युयोर्करका स्टाफ राइटर र सिएनएनका वरिष्ठ कानुनी विश्लेषक जेफ्री टोबिनले अमेरिकी इतिहासमा पहिलो पटक कुनै पनि दोषीले आफूले राष्ट्रपतिसँग मिलेर राष्ट्रपतिका लागि अपराध गरेको बताएको उल्लेख गरेका छन् । सिएनएनको कार्यक्रम एण्डर्सन कुपुर ३६० मा कुपरसँग कुरा गर्दै उनले भनेका छन्, ‘अब औँला सीधै ओभर अफिस तर्फ तेर्सिएको छ ।’
कोहेनले पहिले ट्रम्पका लागि आफू गोली खान पनि तयार रहेको बताएका थिए । तर अहिले आएर उनले ट्रम्प बदमाश तथा धुर्त रहेको बताएका छन् । यो पछिल्लो अमेरिकी राजनीतिक परिदृष्यमा निकै फरक टुइस्ट रहेको अमेरिकी पत्रकार एण्डर्सन कुपरले बताएका छन् ।
.@andersoncooper: Of all the days we have seen, we have not seen a day quite like this.
The man who once said he would take a bullet for Donald Trump today essentially called the President a crook.
Elsewhere a jury convicted Paul Manafort of 8 felony tax & bank fraud charges. pic.twitter.com/6KQlQg5ng4
— Anderson Cooper 360° (@AC360) August 22, 2018