ला लिगाका खेलाडी हड्तालमा उत्रिने सम्भावना

स्पेनिस ला लिगा फुटबलका केही खेल अमेरिकामा पनि हुने गरी भएको सम्झौताप्रति खेलाडीले चासो तथा गुनासो व्यक्त गरेका छन् । स्पेनमा रहेका फुटबलरले शीर्ष लिग अमेरिकामा पनि खेलाउने तयारीप्रति चासो व्यक्त गर्दै हड्तालमा उत्रन सक्ने संकेत गरेका छन् ।

रियल मड्रिडका कप्तान सर्जियो रामोस तथा बार्सिलोनाका उप–कप्तान सर्जियो बसक्वेटसहितका खेलाडीको बुधबार बसेको बैठकमा यो विषयमा छलफल भएको हो ।

उनीहरुले आफ्नो गम्भीर चासो व्यक्त गरेका छन् । ला लिगाले अमेरिकी मिडिया कम्पनी लेलेभेन्टसँग गएको शुक्रबार १५ वर्षको सम्झौतामा सहमति गरेको थियो ।

तर खेलाडीहरुको युनियन, एएफईले भने ला लिगाले आफूहरुसँग छलफल नगरेको बताएको छ । सबै ला लिगा क्लबका खेलाडीहरु बुधबार मड्रिडमा भेला भएर यो विषयमा छलफल गरेका हुन् ।

आफूहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुग्नु पर्नेमा त्यसो नभएको एएफईका अध्यक्ष डेविड एगान्जोले बताएका छन् । आउँदो सेप्टेम्बरमा फेरि बैठक हुने डेविडले बताए ।

भदौ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्