स्मार्टफोनको बजारमा मूल्य युद्ध

आयो सस्तो तर उत्कृष्ट फिचरसहितको स्मार्टफोन

स्मार्टफोनको बजारमा विभिन्न नयाँ तथा सुधारिएका विशेषतासहितका विभिन्न ब्राण्डका फोन आउने क्रमम जारी छ । मोबाइल फोन निर्माता कम्पनीबिच बजारमा टिक्न तथा उपभोक्तालाई आफू तर्फ खिच्नका लागि कडा प्रतिस्पर्धा छ ।

यो प्रतिस्पर्धामा फोनका फिचर तथा मूल्य सबैभन्दा महत्वपूर्ण हुन्छ । पछिल्लो समय उत्कृष्ट फिचर र कम मूल्यका कारण सिओमी चर्चामा छ ।

सिओमीका कारण अरु स्मार्टफोन निर्माताहरुलाई मूल्य निर्धारणमा चुनौती थपिएको छ । पछिल्लो समय सिओमीले उच्चस्तरको फिचरसहितको फोन त्यो पनि अधिकांशले तिर्न सक्ने मूल्यसहित बजारमा ल्याएको छ ।

नयाँ नामसहितको स्मार्ट फोनमा पछिल्ला फिचरहरु समावेश गरेको छ । सिओमीले पोको एफ वान स्मार्टफोन बजारमा ल्याएको हो । यसमा स्नापड्रयागन चिप, ४००० एमएएचको ब्याट्री तथा ८ जिबीको र्‍यामसहितका फिचर छन् ।

यस्तो फिचर सामसुङको ग्यालेक्सी नोट नाइनमा रहेको छ । तर सिओमीको पोको एफ वानको मूल्य सामसुङ ग्यालेक्सी नोट नाइन वा यस्तै फिचर भएका अरु फोनको भन्दा निकै कम छ ।

पोको एफ वान बजारमा आएपछि अरु मोबाइल फोन निर्माताहरुलाई आफ्ना उत्पादनको मूल्य पुनर्विचार गर्नु पर्ने अवस्था आएको एक विशेषज्ञले बताएका छन् । सिओमीले पोको फोन भारतमा लञ्च गरेको छ । भारतसहित यो क्षेत्रका बजारमा सिओमीको प्रभाव बढी छ ।

पोको एफ वानको आधारभूत मोडलको मूल्य मात्रै ३०० अमेरिकी डलर अर्थात ३३ हजार ५५५ रुपैयाँ पर्छ । यो फोनमा ६ जिबीको र्‍याम तथा ६४ जिबीको स्टोरेज रहेको छ ।

यस्तै पोको एफ वानको माथिल्लो संस्करण जसको बढी र्‍याम र सेन्थेटिक फाइबर ब्याक रहेको फोनको मूल्य ४३० अमेरिकी डलर अर्थात ४८ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै फिचर भएका र मूल्य आसपासमै रहेको फोन भनेको वनप्लस सिक्स र एसुस जेनफोन फाइभ जेड हो । यी फोनको मूल्य ४८ हजारदेखि ५९ हजार रुपैयाँ आसपासमा छ ।

पोको एफ वान अहिले भारतमा मात्रै सार्वजनिक भएको छ । यो फोन बजारमा भने अगस्ट २९ देखि आउनेछ । चिनियाँ निर्माताले यो फोन ५० भन्दा बढी देशमा लैजाने तयारी रहेको बताएका छन् । युरोपका देशमा पनि सिओमीको पोको एफ वान पुग्नेछ ।

पछिल्लो समय सिओमीको बजार बढ्दै गएको छ । अहिले विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने भनेको सामसुङका फोन हुन् । त्यसपछि हुवाई र एप्पल रहेको छ । सिओमीको बजार चौथो नम्बरमा रहेको छ । सिओमीले ओप्पो, भिभो, एलजीसहितका फोनलाई पछि पारेको छ ।

भदौ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्