प्रेमिका र यौनसाथीलाई दिएको रकमबारेट्रम्पले मुख खोले

ट्रम्पको दाबी : मेरो पैसा दिएको हो, कानुन उल्लंघन गरेको छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका लागि खर्च गर्नु पर्ने रकम आफ्नो दुई आरोपित प्रेमिका वा यौनसाथीलाई दिएको कुरा अस्वीकार गरेका छन् ।

ट्रम्पका पूर्व वकिल माइकल कोहेनले चुनावी अभियानको अर्थ व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन गरेकामा दोषी पाइएपछि उनले ट्रम्पकै निर्देशनमा आफूले त्यस्तो गरेको बताएका थिए ।

ट्रम्पले भने आफूले कुनै पनि किसिमले चुनावी अभियानको रकम दुरुपयोग नगरेको बताए । फक्स एण्ड फ्रेण्डससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले महिलाहरुलाई दिएको रकम आफ्नो व्यक्तिगत रहेको बताएका छन् । त्यो रकम चुनावी अभियानको नरहेको उनको भनाई छ ।

त्यसअघि उनले आफ्नो सजायको मात्रा घटाउनका लागि कोहेनले घटनालाई मोड्न कथा बुनेको दाबी गरे । ट्रम्पले अन्तर्वार्तामा भनेका छन्, ‘त्यो रकम मेरो आफ्नै हो, मैले यसबारेमा ट्वीट पनि गरेको छु । रकम चुनावी अभियानको होइन ।’

तर पूर्व वकिल कोहेनले मंगलबार अदालतमा आफूले ट्रम्पकै निर्देशनमा चुनावी अभियानको आर्थिक व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन हुने गरी उनका प्रेमिका तथा यौनसाथीहरुलाई रकम दिनएको र ती कुरा ढाकछोप गरेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पका पूर्व वकिल कोहेन चुनावी अभियानको आर्थिक व्यवस्थापन गर्ने सम्बन्धी कानुन उल्लंघन गरेकोमा दोषी पाइएका हुन् । सन् २०१६ को राष्ट्रपति चुनावमा भएको अनियमितता र रुसी दखलका बारेमा अनुसन्धान भइरहेका बेला म्यानहटनको अदालतले कोहेनलाई चुनावी अभियानको आर्थिक व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन गरेकोमा मंगलबार दोषी ठहर गरेको हो ।

ट्रम्पले चुनावलाई प्रभावित पार्ने उद्देश्यसहित आफूलाई आर्थिक व्यवस्थापन सम्बन्धी कानुनमा भएको उल्लंघन ‘कभर–अप’ गर्न निर्देशन दिएको कोहेनले बताएका थिए । गएको जुलाईमा कोहेनले प्लेब्वाइ म्यागजिनकी पूर्व मोडललाई दिइने रकम बारे ट्रम्पसँग भएको कुराकानीको अडियो सार्वजनिक गरेका थिए । यो घटना सन् २०१६ को राष्ट्रपति चुनाव अघिको हो ।

कोहेन दशक भन्दा बढी ट्रम्पको व्यक्तिगत वकिल रहेका थिए । ट्रम्पले आफ्ना विभिन्न प्रेमिका तथा यौन साथीहरुलाई ठूलो रकम दिएको आरोप छ । कोहेनले ती सबै घटनाको ढाकछोप गरेको पाइएको छ ।

५१ वर्षका कोहेन कर तथा बैंक छलीसहित ८ आरोपमा दोषी पाइएका हुन् । ट्रम्पले पोर्न स्टार स्ट्रोमी ड्यानियल्स र मोडल करिन म्याकडुगल्सलाई आफूसँगको सम्बन्धबारे चुप रहनका लागि ठूलो रकम दिएको आरोप छ ।

भदौ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्