फेरि समातिए प्रकाण्ड, यसपटक भोजपुरको मुद्दामा

काठमाडौं- बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएलगत्तै कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’  पुन पक्राउ परेका छन्।

काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले उनलाई हिरासतमा राखेको थियो।

न्यायाधीशद्धय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले प्रकाण्डलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।

काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले प्रकान्डविरुद्ध भोजपुर जिल्लामा ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी मुद्धा रहेकाले फेरि पक्राउ गरिएको बताए। ‘भोजपुर प्रहरीले काभ्रे प्रहरीलाई पत्राचार गरेको रहेछ। त्यसै कारण प्रकान्डलाई नियन्त्रणमा लिइएको हो’,एसपी जोशीले भने।

सर्वोच्च अदालत परिसरबाट लगातार दोस्रोपटक प्रकाण्डलाई गिरफ्तार गरिएको हो। यसअघि चन्दा आतङ्क सम्बन्धी मुद्धामा काठमाडौं प्रहरीको नियन्त्रणमा रहेका प्रकान्डलाई बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले भदौ १ गते साधारण तारेखमा छाड्न आदेश दिएको थियो। काभ्रेमा प्रकाण्डविरुद्ध मुद्धा रहेको भन्दै उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको थियो।

भदौ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्