गोपाल योञ्जनको ७६ औँ जन्मजयन्ती आज, स्मृति पुरस्कारबाट दुर्गा खरेल सम्मानित हुने

काठमाडौँ – नेपाली सुगम संगीतका महत्वपूर्ण व्यक्ति गायक, संगीतकार एवम् गीतकार गोपाल योञ्जनको ७६ औँ जन्मजयन्ती शनिबार परेको छ । संगीतकर्मी योञ्जनको जन्मजयन्ती पारेर शनिबार विशेष कार्यक्रम हुँदैछन् ।

उनको जन्मजयन्तीका अवसरमा गोयाल योञ्जन स्मृृति पुरस्कार पनि वितरण गरिँदैछ । यो वर्ष गायक, संगीतकार एवम् गीतकार दुर्गा खरेल सम्मानित हुँदै छन् ।

दिउँसो ललितपुरको पुल्चोकमा विशेष कार्यक्रम गरी पुरस्कार विरतण गरिने आयोजक शुभारम्भः द म्यूजिकल जर्नीले जनाएको छ ।

गोपाल योञ्जनका ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘यो मेरो टोपी’, ‘जीवनका हरेक मोडमा तिमिले मलाइ भेट’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बली चढाउ’, मेरो गीत मेरै प्रतिबिम्ब होइन’ सहितका गीत लोकप्रिय छन् ।

भारतको दार्जिलिङ्ग बसेर नेपाली संगीतको क्षेत्रमा सक्रिय गायक, संगीतकार एवम् गीतकार दुर्गा खरेल गोपाल योञ्जन स्मृति पुरस्कारबाट सम्मानित हुन लागेका हुन् ।

गायक, संगीतकार एवम् गीतकार गोपाल योञ्जनको सम्झनामा स्थापना गरिएको पुरस्कार यो वर्ष दार्जिलिङ्गका नेपाली संगीतकर्मी खरेलालाई दिन लागिएको हो । गोपाल योञ्जन स्मृति पुरस्कार–२०७५, ग्रहण गर्नका लागि संगीतकर्मी खरेल काठमाडौँ आएका छन् । संगीतकर्मी खरेल गोपाल योञ्जनका अनुयायी हुन् । उनी नेपाली सुगम संगीतमा निरन्तर लागिरहेका छन् ।

सम्मानित हुने संगीतकर्मी खरेलका निर्मायाका मायाहरु, सुनाखरी, नवरङ्ग, माटोको माया र साई अर्चना गीति एल्बम छन् । उनले अगमसिंह गिरी, डा. जस योञ्जन प्यासी, नोर्देन रुम्बा, नन्द हाङ्गखिम, मनबहादुर गुरुङ, कमल गुरुङ, पुष्प राईसहितका गीतकारका गीत गाएका छन् । उनका ‘बालाउँ भने तिमिलाई बात लाग्ने डर’, ‘एक रात थियो’, ‘यो कस्तो अचानक’ सहितका धेरै गीत चर्चित छन् ।

अरुणा लामा, दावा ग्याल्मो, डेजी बराइली, शान्ती ठटालसहितका कलाकारसँग गीत गाएका खरेलले आकाशको आक्रोश धरतीको रोदन, म मरेपछि, महेश, संक्रमणसहितका नाटकमा पनि संगीत दिएका छन् । उनले आफ्ना गुरुको नाममा रहेको पुरस्कार थाप्न पाउनु निकै भाग्यको कुरा रहेको बताएका छन् ।

भदौ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्