निर्मला हत्या प्रकणबारे नेकपाको आकश्मिक बैठक

सबै संकास्पदलाई पक्राउ गर्न र निष्पक्ष छानबिन गर्न निर्देशन

फाइल फोटो

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी, नेकपाले कञ्चपुर घटनाका सबै संकास्पदलाई तुरुन्त पक्राउ गरी निष्पक्ष छाबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेकपा सचिवालयको शनिबार बिहान बसेको आकश्मिक बैठकले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।

सचिवालय बैठकमा कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी निर्मला पन्त र वास्तविक अपराधीलाई कारबाहीको माग गर्दै भइरहेको आन्दोलनका बारेमा छलफल भएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा निर्मला पन्त हत्या र जारी आन्दोलनका बारेमा नेताहरुबिच गम्भीर छलफल भएको उनले बताए ।

उनले देश सञ्चारसँग भने, ‘कञ्चनपुर घटनासहित देशभर बढ्दै गएको बलात्कार तथा सामाजिक सुव्यवस्थामा खलबल हुने खालका गतिविधि बारे गम्भीर छलफल भयो । गम्भीर खालका अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने र शान्ती सुव्यवस्थामा खलबल हुन नदिने विषयमा कुरा भयो ।’

उनले कञ्चनपुर घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने तयारी बारे पनि बैठकमा कुरा भएको बताएका छन् । उनले भने, ‘कञ्चनपुर घटनासहित देशको पछिल्लो अवस्थाबारे समीक्षा भयो । घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्ने निर्णय भएको छ ।’

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निमर्ला पन्तको न्यायका लागि आन्दोलन जारी छ । बलात्कार तथा हत्या आरोपमा अपराधीलाई लुकाउन प्रशासनले अर्कै व्यक्तिलाई अपराधीको रुपमा सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।

प्रदर्शनको क्रममा शुक्रबार प्रहरीले चलाएको गोली लागेर एक किशोरको ज्यान गयो । गोली लागेर महेन्द्रनगर, भगतपुरका १४ वर्षीय किशोर सन्नी खुनाको मृत्यु भएपछि अवस्था झन तनावग्रस्त बनेको छ । प्रशासनले कञ्चनपुरमा शुक्रबारदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ।

भदौ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्