बार्सिलोनाको कठिन जित

स्पेनिस च्याम्पियन बार्सिलोनाले ला लिगा फुटबल अन्तर्गत यो सिजनको दोस्रो खेलमा संघर्षपूर्ण जित निकालेको छ ।

लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को किठन जित दर्ता गरेको हो ।

यहि सिजन ला लिगामा फर्किएको रियल भालाडोलिडले बलियो टिम बार्सिलोनालाई कडा चुनौती दियो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा उसमान डेम्बेलेले ५७ औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

खेलको इन्जुरी समयमा भालाडोलिडले गोल गरेको थियो । तर भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर मार्फत हेरेर रेफ्रीले त्यसलाई मान्यता दिएनन् र बार्सिलोना विजयी भयो ।

यहि सिजन लिगमा प्रयोग गर्न थालिएको भिएआर मार्फत हेर्दा इन्जुरी समयमा केकोले हेड मार्फत गरेको गोल अफसाइड रहेको देखियो । त्यसअघि खेलमा १० मिनेट बाँकी हुँदा बार्सिलोनाका लुइस स्वारेजले गोल गरेका थिए । तर अफसाइड भएकाले मान्यता पाएन ।

बार्सिलोनाले लिगमा दोस्रो जित दर्ता गरेको हो । गएको हप्ता भएको सिजनको पहिलो खेलमा बार्सिलोनाले एलाभेसलाई ३–० ले हराएको थियो ।

पहिलो हाफमा स्वारेज र फिलिप कोन्टिन्होले सुन्दर पोस्ट प्रहार गरेका थिए । तर भालाडोलिडका गोलरक्षक जार्डी मासिपले उत्कृष्ट बचाउ गरे । चार वर्षअघिको खेलमा रियल भालाडोलिडले मेस्सी, नेइमार र सेस फाब्रिगाससहितको टिमलार्य १–० ले हराएको थियो ।

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्