बार्सिलोनाले अवैध रुपमा ताकेका ग्रिजम्यानको गोल, एथ्लेटिकोको पहिलो जित

बार्सिलोना र रियल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगा फुटबलको उपाधि जित्न सक्ने टिमको रुपमा हेरिएको एथ्लेटिको मड्रिडले यो सिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई १–० ले हराएको हो । पहिलो खेलमा एथ्लेटिको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको थियो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा एथ्लेटिको गोलरहित बराबरीमा रोकिएको थियो । उसका लागि ६३ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

फ्रान्सेली ग्रिजम्यानले २० वर्षपछि फेरि फ्रान्स विश्व विजेता बन्ने क्रममा निकै महत्वपूर्ण भूमिका खेलका थिए । रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका ग्रिजम्यानले अब आफ्नो ध्यान एथ्लेटिको मड्रिडलाई आफूले सकेसम्म माथि लैजानेमा रहेको बताएका छन् ।

उनले क्लबसँग गएको जुनमा पाँच वर्षको नयाँ सम्झौता गरेका थिए । जुनमा ग्रिजम्यानले नयाँ सम्झौता गर्नुअघि बार्सिलोनाले अवैध रुपमा अनुबन्धका लागि प्रस्ताव गरेको भन्दै विश्व फुटबलको प्रशासकीय निकाय फिफामा उजुरी गरेको छ ।

ग्रिजम्यान गएको वर्ष म्यानचेस्टर युनाइटेड जाने चर्चा पनि थियो । अर्को खेलमा एलाभेस र रियल बेटिसले गोलरहित बराबरी खेले ।

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्