रोनाल्डो : आफू पर्खिँदै, अरुलाई पनि पर्खाउँदै

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आएपछिको उत्साह युभेन्टसका समर्थमा सेलाएको त छैन । तर उनीहरुले रोनाल्डोको ‘म्याजिकल’ गोल हेर्न भने अझै पाएका छैनन् ।

रोनाल्डो आफैले पनि सिरी ए फुटबलमा पहिलो गोलका लागि पर्खिरहेका छन् भने युभेन्टसका ती फ्यान जो रोनाल्डोका कारण आशावादी छन् उनीहरुले पनि रोनाल्डो गोलका लागि अलि बढी पर्खिनु परेको छ । यो पर्खाईले समर्थकमा केही निराशा भने पक्कै छाएको छ । पहिलो सिरी ए को डेब्यु खेलमा रोनाल्डोले गरेको गोलले मान्यता पाएन ।

दोस्रो खेलमा रोनाल्डो पनि उत्कृष्ट गोल गर्ने अनि समर्थकलाई उत्साह दिने ध्यानमा थिए, किनकी शनिबार रातिको खेल लिगमा दोस्रो थियो भने रोनाल्डोका लागि घरेलु मैदानमा पहिलो थियो । उनको गोलको दाजु हेर्नका लागि धेरै समर्थक आएका थिए । तर रोनाल्डो यो खेलमा पनि गोल गर्नबाट चुके ।

उनले गोल गर्न नसके पनि गोलका लागि सहयोग गरे । टिम लाजिओसँग २–० ले विजयी भयो । टिम विजयी भए पनि रोनाल्डोको व्यक्तिगत सफलता भने युभेन्टससँग जोडिएर आएको छैन । रियल मड्रिडका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टसबाट प्रतिस्पर्धात्मक खेलमा गोलको खाता खोल्न बाँकी नै छ ।

३३ वर्षका रोनाल्डो यहि सिजन ११२ मिलियन युरोमा रियल मड्रिडबाट युभेन्टस आएका हुन् । रोनाल्डोले अहिलेसम्म क्लब र राष्ट्रिय टिमबाट ६५८ गोल गरिसकेका छन् ।

रोनाल्डोले पहिलो गोल गर्नका लागि मात्रै समस्या हो । जब गोलको खाता खोल्छन्, त्यसपछि उनी रोकिँदैनन्, विगतले यसै भन्छ । तर युभेन्टस र उसका फ्यान अनि रोनाल्डोले पनि कम्तिमा लिगको तेस्रो खेल पर्खिनु पर्ने भएको छ पहिलो गोलका लागि ।

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्