कास्कीका सुनचाँदी व्यवसायीले दुई दिन व्यवसाय बन्द गर्ने

पोखरा – कास्कीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरणका विरुद्ध व्यवसायी आन्दोलित भएका हुन् । माग अनुसार सुनको अभाव भएपछि कास्कीमा आइतबार र सोमबार सुनचाँदी व्यवसाय नै बन्द गरिएको हो ।

सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यबाहक अध्यक्ष भविन्द्र विश्वकर्मा र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष किसान सुनारले संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गरेका छन् ।

‘बिगत लामो समयदेखि सुनचाँदी व्यवसाय सञ्चालन गर्नका लागि छुट्टै निर्देशिका जारी गर्न हामी व्यवसायीहरु संघर्ष गर्दैै आएकोमा हालसम्म निर्देशिका नबन्दा व्यवसाय सञ्चालन गर्न निकै अप्ठ्यारो भएकाले तत्काल निर्देशिका जारी गरियोस,’ विज्ञप्तिमा भनिएको छ ।

कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजीको परिमाणमा मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको परिमाणमा समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ ।

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्