गाइजात्रे नाँचघर

नाचघरको मञ्चमा ‘सार्वजनिक शौचालय’

काठमाडौँ– साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरको रंगमञ्चमा गाईजात्रा महोत्सव २०७५ हुने भएको छ। सोमबार अर्थात् भदौ ११ देखि सुरु हुने गाईजात्रा १८ गतेसम्म चल्ने कार्यक्रम संयोजक प्रभाकर देव शर्माले जानकारी दिए।

यो भन्दा अघिल्लो वर्ष गाईजात्रा महोत्सव नेपाल प्रज्ञा भवनमा हुने गरेको थियो तर यो वर्ष नाँचघरमा पहिलोपटक गाईजात्रा आयोजना हुन लागेको हो। नेपाल प्रज्ञा भवनमा अहिले पुन निर्माणको काम चलिरहेकोले यो वर्ष राष्ट्रिय नाचघरको मञ्चमा कार्यक्रम हुन लागेको हो।

नाचघरका वरिष्ट कार्यक्रम तथा योजना विभाग प्रमुख समेत रहेका शर्माले अब नाचघरमा हरेक वर्ष गाईजात्रा महोत्सव गर्ने घोषणा गरे।

शर्माले राजा राजेन्द्रले प्रताप मल्लको पालामा नागरिकले स्वतन्त्र रुपमा बोल्न पाउने दिन भनेर गाईजात्राको प्रचलन ल्याएकोमा अहिले प्रजातन्त्र आउँदा पनि नागरिकलाई यो दिनको आवश्यकता रहेको बताए। उनले भने, ‘अहिले देशमा नयाँ नयाँ कानुन आइरहेको छ, जसले प्रेस स्वतन्त्रता र कतिपय नागरिकको अधिकारमा हस्तक्षेप गरिरहेको छ। त्यसैले व्यंग्यको लागि गाईजात्रा मनाउनु अति आवश्यक छ।’

‘बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखेपनि बांगाको बांगै भनेको जस्तै हाम्रो नेपालमा भष्ट्राचारको अवस्था छ।’ कार्यक्रम संयोजक शर्माले भनेँ, ‘तर हामीले रमाइलो तरिकाले सरकारलाई घोचपेच गरेर सजग गराउन छोड्नु भने हुन्न।’

गुञ्जिता टेलिफिल्म प्रालिले आयोजना गरको गाइजात्रा महोत्सवमा गोल्डन ओएक, कारोबार पत्रिका, रेडियो अडियो, समृद्धि ज्वेलर्स, होम ग्लोरी, देश सञ्चार लगायत थुप्रै संस्थाले प्रायोजन गरेका छन्।

यो वर्षको गाईजात्रामा दमन रुपाखेती, निरज नेपाल, पारवन राई, कञ्चन सापकोटा, भिमसेन अधिमारी, शिव शंकर रिजाल, प्रभाकर देव शर्मा, अञ्जु रुवाली, सुरेन्द्र केसी लगायत धेरै कलाकारको अभिनय देख्न पाइन्छ। यस्तै ड्राइभर राजा राजेन्द्र छन् भने प्यारोडी गीत टिका भण्डारीले गाउने भएकी छिन्। हरिसा बानिँयाको साकिरा नृत्य हुन्छ भने प्रवचन बबिता बानियाँले दिनेछिन्।

अघिल्लो वर्षहरुको भन्दा यो वर्षको गाईजात्रा पृथक हुने विश्वास गरिएको छ। यो वर्ष गत वर्ष अभिनय गर्ने कलाकारभन्दा केही फरक कलाकारले प्रस्तुति दिँदैछन्। संयोजक शर्माले भने, ‘यो वर्ष धेरै कलाकारहरु सुटिङ्ग र वैदेशिक कार्यक्रममा व्यस्त हुनुहुन्छ त्यसैले यस वर्ष कमै मात्र पुराना वर्ष मञ्चमा देखिएका कलाकार देखिनेछन्।’

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्