रियल मड्रिडको प्रभावशाली जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी यात्रा कायम राखेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदान बिनाको सिजनमा रियल मड्रिडले ला लिगामा जितको क्रम जारी राखेको हो ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले जिरोनालार्य ४–१ ले हराएको हो । अवे मैदानमा भएको खेलमा रियल मड्रिड सुरुमा पछि परेको थियो । १६ औँ मिनेटमा बोर्जा गार्सियाको गोलबाट जिरोनाले अग्रता लियो ।

३९ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सर्जियो रामोसले रियल मड्रिडका लागि बरबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा रियल मड्रिडले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

रियल मड्रिडले ५२ औँ मिनेटमा पेनाल्टी पायो । त्यसलाई सदुपयोग गर्दै करिम बेन्जिमाले गोल गरे र रियल मड्रिडले २–१ को अग्रता लियो । ५९ औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै अग्रता बढाए ।

८० औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो । लगातार दुई खेल जितेको रियल मड्रिड ६ अंकसहित शीर्ष स्थानमा छ ।

लिग अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा स्पानियोलले भ्यालेन्सियालाई २–० ले हरायो भने सेभिल्ला र भिल्लारियलले गोलरहित बराबरी खेले ।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्