उपहार गोलले दिलायो जित

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लगातार जित निकाल्न सफल भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले न्युक्यासलाई २–१ ले हराएको हो । चेल्सीले लिगमा तेस्रो जित निकाल्ने क्रममा उपहार गोल निर्णायक बन्यो ।

अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो । ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा इडन हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

८३ औँ मिनेटमा जोसेलुले न्युक्यासलका लागि बराबरी गोल फर्काए । त्यसको चार मिनेटपछि चेल्सीको भाग्य खुल्यो । न्युक्यासलका डिआन्द्रे येड्लिनले आत्मघाती गोल गरे । चेल्सी २–१ ले विजयी भयो ।

चेल्सीका मार्कस एलोन्सोको प्रहार क्लियर गर्ने क्रममा येड्लिनले आत्मघाती गोल गरेका हुन् । खेलमा नियन्त्रण चेल्सीको थियो । तर पेड्रो, सेसार एज्पिलिकुएता र अल्भारो मोराटाले गोल गर्ने राम्रा मौका बनाए पनि चुके ।

लगातार तीन खेल जितेको चेल्सीले लिभरपुल र वाट्फोर्डसँग अंक बराबरी भएको छ । राति नै भएको खेलमा वाट्फोर्डले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । वाट्फोर्डको यो लगातार तेस्रो जित हो । अर्को खेलमा फुलह्यामले बर्नलीलाई ४–२ ले हरायो ।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्