जोन प्लान्ट र उनको कर्म

नबोली प्राचीन युगमा पुर्‍याउनेका कुरा

पुर्खाले बाँचेर आएको समय र त्यो समयमा जीविकाका लागि गरिएका प्रयासहरु अहिलेको पुस्ताका लागि धेरै हदसम्म एकादेशको कथा बनेको छ । त्यो पुस्ताको जीवन संघर्षका कथा सुन्दा, दैनिकी बारे सुन्दा वा पढ्दा प्रायः हामीलाई त्यस्तो पनि थयो र ? जस्तो लाग्छ ।

मानव सभ्यताका सम्बन्धमा भएका धेरै अनुसन्धान र यो क्षेत्रमा काम गर्दै आएका मानवशास्त्री तथा समाजशास्त्रीले तिनै प्राचीन प्रविधि र जीवनशैली नै अहिलेको आधुनिक प्रविधि तथा सुविधा सम्पन्न जीवनको आधार रहेको बताउने गरेका छन् र त्यो हो पनि ।

प्रविधिहरु क्रमशः विकास हुँदै आए । मानिसका आवश्यकताहरु बढ्दै गए । चाहको गति तीब्र हुँदैजाँदा चाँडो दिने प्रविधिहरु बने ।

अहिले पनि प्राचीन प्रविधिका बारेमा जान्न भने धेरैलाई रुची छ ।

यसको माध्यम भने आधुनिक प्रविधि नै बनेको छ । विश्वभर प्रयोगकर्ताको संख्या बिस्तारित हुँदै गएको युट्युबमा यस्तो च्यानल छ, जसले मानवको प्राचीन प्रविधि र जीवन संघर्षलाई बिना कुनै बोली समेटिरहेको छ । चुपचाप प्राचीन प्रविधिको प्रयोग देखाइने च्यानलका सामग्रीमाथि भने राम्रो बहस हुने गरेको छ ।

युट्युबमा च्यानल छ, प्रिमिटिभ टेक्नोलोजी । यसलाई सब्स्क्राइब गर्नेहरुको संख्या ८६ लाख ४६ हजार भन्दा धेरै छ ।

युट्युब च्यानल प्रिमिटिभ टेक्नोलोजीले मानवले प्राचीन समयमा जीवन–जीविकाका लागि चाहिने सामग्रीको जोहो कसरी गर्थे, दैनिक कामहरु कसरी हुन्थ्यो र चाहिका सामग्रीहरु कसरी बनाइन्थ्यो भन्ने देखाउँछ ।

यो देखाउने एक युवा छन्, जसले प्रायः निलो हाफ–पाइन्ट लगाएका हुन्छन् । उनले भिडियोमा बोलेका हुँदैनन् । काम भने चलिरहन्छ । उनले नबोली प्रायः १५ मिनेटभित्रको भिडियोमा एउटा प्राचीन प्रविधिबारे जानकारी गराउँछ, प्रयोगात्मक रुपमा ।

धेरै युट्युब च्यानलमा कुनै पनि भिडियो सुरु हुने बित्तिकै वा अन्त्यमा ‘हेल्लो साथीहरु, मेरो युट्युब च्यानलमा स्वागत छ, यस्तै भिडियोहरुका लागि यो च्यानल लाइक गर्न र सब्स्क्राइब गर्न नबिर्सनु होला’ भन्ने गरिन्छ । तर प्रिमिटिभ टेक्टोलोजीमा यस्तो सुन्न पाइँदैन । भिडियो सुरुभएदेखि अन्त्यसम्म काम मात्रै हुन्छ, र पनि दर्शक बाँधिएका छन् ।

तीन वर्षअघि अर्थात सन् २०१५ मा सुरु भयो यो च्यानलका भिडियो अहिलेसम्म ६०० मिलियन भन्दा धेरै पटक हेरिकएको छ । हरेक भिडियोमा मिलियन भ्युउज पुग्ने गरेको छ । सबैभन्दा धेरै हेरिएको यो च्यानलको भिडियोमा ५४ मिलियन भन्दा बढी भ्युउज छ ।

को हुन् निलो हाफ–पाइन्ट लगाउने व्यक्ति ?


प्रिमिटिभ टेक्टोलोजीका हरेक भिडियोमा निलो हाफ–पाइन्ट लगाएका युवा देखिन्छन् । उनी कहिले बञ्चरो बिना रुख काट्दै हुन्छन् त कहिले आगो बाल्दै । उनी प्रिमिटिभ टेक्नोलोजीका सुपरस्टार हुन्।

उनको नाम जोन प्लान्ट हो । अस्ट्रेलियाको क्वीन्सल्याण्डका प्लान्टले आफ्ना भिडियो मार्फत प्राचीन प्रविधिको प्रयोग देखाउँदै आएका छन् । उनी प्राचीन प्रविधिको क्षेत्रमा सक्रिय रहेका मध्ये सबैभन्दा सफल युट्युबर हुन् । सानै हुँदादेखि आफूलाई प्राचीन सामग्री र प्रविधि प्रतिको लगाव बढेको उनले बताएका छन् ।

उनले भने, ‘म ११ वर्षको हुँदा घरको पछाडि ढुंगा र काठको प्रयोग गरेर सानो घर बनाएको थिएँ ।’ पढाई सकेपछि उनले काम गरे । उनले खाली भएको समयमा रुचीको काम गर्न थाले । त्यसपछि त्यसैको भिडियो बनाउन थाले । अहिले उनी आफ्नो च्यानलबाट भएको आयबाटै जीवन चलाउँदै आएका छन् ।

लामो समय ‘द म्यान’ का रुपमा परिचति भएका प्लान्टले फेसबुकले उनको भिडियो आवश्यक परिचय बिनाका रहेकाले त्यसबाट भएको आय गुमाउन सक्ने बताएपछि उनले आफ्नो परिचय खुलाएका हुन् । उनी सफल छन्, तर आफूलाई युट्युबरका रुपमा नहेरेको उनले बताउने गरेका छन् ।

प्लान्ट बोल्दैनन् तर हरेक भिडियोमा जे देखाउँदै छन्, त्यसबारे बिस्तृत रुपमा उनले लेख्ने गरेका छन्। उनले आफ्नो पपुलारिटीलाई त्यति चासो पनि दिँदैनन् । किनकी उनले लामो समयदेखि यसलाई अपनाउँदै पनि आएका छन् । प्लान्टको च्यानल सफल भएपछि यस्तै खालका अरु च्यानल पनि आएका छन् । तर उनको च्यानलमा दर्शक अडिने गरेका छन् ।

कथाको रुपमा प्राचीन प्रविधि र जीवनशैली बारे सुन्नु भन्दा त्यसलाई हेरेर महसुस गर्न पाउने भएकाले प्लान्टका भिडियो रुचाइने गरेका छन् ।

बिबिसीको सहयोगमा

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्