विमान विद्रोहका नाइकेहरु नै भन्छन्, दुर्गा सुवेदीको किताब काल्पनिक

मोरङ- हातमा भएको रिभल्वर टाउकोमा तेर्साएपछि विमानचालक क्याप्टेन श्रीदेव वैद्यले विराटनगरबाट उडान भरेको तत्कालीन शाही वायु सेवा निगमको ट्विनटर विमान भारतको फारविसगञ्जमा उतारिएको विमान अपहरणकारीमध्येका एक बसन्त भट्टराईले बताए।

विराटनगरमा ‘प्रजातन्त्रको लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनीका क्रममा कांग्रेसका नेता भट्टराईसँगै अपहरणकारीको मुख्य भूमिकामा रहेका नगेन्द्र ढुङ्गेलले पनि ३० लाख भारतीय रुपैयासहित विमानलाई विहारको फारविसगञ्जसम्म पुराएको र २७ मिनेटमै फिर्ता पठाएको बताए।

सो क्रममा ढुंगेलले हाल बजारमा सार्वजनिक भएको दुर्गा सुवेदीको ‘विमान विद्रोह’ नामक पुस्तकको तीव्र आलोचना गरे ढुंगेलले। उनले भने, ‘विमान विद्रोहमा अपहरणका सन्दर्भमा लेखिएका कुराहरु काल्पनिक छ। धेरै कुराहरु अनुचित छन्। जसले अपहरणको विषयलाई वास्तविकता भन्दा टाढा पुर्‍याएको छ।’

उनले विमान अपहरणमा सुवेदीको धेरै ठूलो हात नभएको बताए। उनले आत्मवृत्तान्तमा ‘विमान विद्रोह’को घटनालाई तोडमरोड गरी लेखेको आरोप ढुङ्गेलले लगाए। उनले भने, ‘दुर्गा सुवेदीजीले प्रकाशित कुरामा धेरै झुट लेख्नु भएको छ जसमा हाम्रो आपत्ति छ।’

२०३० साल जेठ २८ गते विराटनगरबाट काठमाडौंका लागि उडान भरेको विमानलाई बसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गा सुवेदीले अपहरण गरेका थिए। त्यस क्रममा भएका घटनाहरुलाई सचित्र बृत्तचित्रमा समेटिएको वृत्तचित्र लेखन एवं निर्देशन जगत नेपालले बताए।

तत्कालिन समय सरकारसंग लड्नका लागि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको अहम भूमिका रहेको भट्टराईले बताए।तत्कालिन समयमा गिरिजाबाबुले निर्वासित जीवन विताइरहेका विपी कोइरालाको अनुमतिमा हवाइजहाज अपहरण गरेको उनले बताए।

यस अपरहणमा तत्कालीन समय विराटनगरस्थित राष्ट्र बैंकमा कार्यरत चुन्नु बाबु अर्थात मदन अर्यालको पनि अहम भूमिका थियो। विमान अपहरण गर्नु दुई दिनअघि २६ गते भारतीय रुपैया काठमाडौं लैजान लागेको सूचना अर्यालले नै अपहरणकारी मध्येका एक ढुङ्गेललाई चुहाएका थिए। त्यसपछि २८ गतेको विहानीपख विहान सवा आठ बजे मुख्य चालक आरके मानन्धर, सह–चालक वैद्य, परिचालिका जी.वी राईसहित ९ पुरुष, ४ महिला र बच्चा सवार थिए।

घटना सम्झँदै भट्टराइले भने, ‘उडान भरेर कोशी नदीमाथि पुगेपछि, मैले ककपिटमा पुगेर रिभल्वर चालक मानन्धर र सह–चालक वैद्यमाथि तेर्साए। अर्कोतर्फ नगेन्द्रले रिभल्वर र ग्रिनेड हातमा राखेर यात्रुलाई सहजरुपमा बस्न भने र दुर्गाले पनि नगेन्द्रलाई सहयोग गरेका थिए।’

फारविसगञ्जमा विमान अवतरण गरी फर्कँँदा समेत नेपाल र भारतपक्षका सुरक्षा निकायले चाल नपाएको भट्टराईले बताए।

यसबीच विमानका एक कर्मचारीले दुर्गालाई हातले पक्रेको देखेपछि मार्शल आटर्सका खेलाडीसमेत रहेका नगेन्द्रले ती कर्मचारीमा जाइलाग्दै दुर्गाको बचाउ गरेको भट्टराईको भनाइ छ।

भारततर्फ लैजाने क्रममा फारविसगञ्जको खुला चौरमा रहेका पूर्वप्रधानमन्त्री सुशील कोइराला, विनोद आज्र्याल, मनोहरी बराल, विरु लामा, उमेश गिरी लगायतले सो रकम गिरीजाप्रसाद कोइराला र बिपी कोइरालासम्म पुराउन सहयोग गरेको वृत्तचित्रमा समेटिएको छ। सो समय युवा नेता अशोक कोइराला, रामलक्ष्मण, हरि सापकोटा, बद्री बस्नेत कारावासमा थिए।

विमान अपहरणमा मुख्यरुपमा रहेका तीनै जना भट्टराई, ढुंङगेल र सुवेदीलाई कारावासको सजाय भएको थियो। विमान अपहरणमा संलग्न सुवेदी भने अस्वस्थ भएका कारण वृत्तचित्र प्रदर्शनीमा उपस्थित हुन नसकेको कार्यक्रम आयोजकले जानकारी गराएका थिए।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्