गुम्बालाई समाजसँग जोड्दै रिन्पोछे

उपदेश सुनाएर जुट्ने खर्चबाट गरीब बालबालिकालाई ‘आधुनिक शिक्षा’

बौद्ध फूलबारीस्थित मंगलदीप आवासीय माध्यमिक विद्यालयमा अध्‍ययन गर्दै विद्यार्थीहरु। तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

काठमाडौं – ठाङ्गु रिन्पोछे, महायानी गुरु हुन्। तर उनले आफ्नो चासोलाई गुम्बा र धर्मसुत्रका परिधिमा सीमित राखेनन्। गुरु ठाङ्गु रिन्पोछेले विगत ३० वर्षदेखि हजरौं बालबालिकालाई गास, बास, कपाससँगै आधुनिक शिक्षा र स्वास्थ्य सुविधा निःशुल्क प्रदान गर्दै आएका छन्। त्यसअर्थमा कुनै धर्मका गुरुसँगै ठूलो समूह खासगरी बञ्‍चित समूहका अभिभावक पनि बन्‍न सफल भएका छन् उनी।

महायानी खेन्छेन ठाङ्गु रिन्पोछे। तस्बिर-वर्षा शाह/देश सञ्‍चार

मध्यान्हको १२ बज्छ । ठूलो हल, सफा टेबल र बेञ्‍च। भिन्‍न अनुहार, ५ देखि २० वर्षसम्मको उमेर तर समान मुस्कान र आत्मविश्वासका साथ लामबद्धरुपमा बालबालिका भित्रिन्छन् त्यहाँ । पोशाकमा भिन्नता तर एकैखाले खाना र खानेशैली। खाना अघि र पछि बौद्ध फूलबारीस्थित मंगलदीप आवासीय माध्यमिक विद्यालयका बालबालिकाले गरेको प्रार्थना हेर्दा लाग्छ उनीहरु अध्ययनसँगै धर्म र परम्पराबाट पनि एक सुत्रमा बाँधिएका छन्।

खाना खानु अघि प्राथना गर्दै बालबालिका ।

उनीहरुले पढ्ने कोठा नियाल्दै जाँदा कतै विज्ञान, कतै अंग्रेजी त कतै नेपाली किताब घोत्लिरहेका हुन्छन् उनीहरु। शिक्षक पनि उत्तिकै व्यस्त छन् ती बालबालिकाको जिज्ञासा मेटाउन। नेपाली नै प्रष्ट बोल्न नआउने पृष्ठभूमिका खासगरी २१ वटा हिमाली भेगबाट आएका यी बालबालिका अंग्रेजी प्रस्ट बोल्छन्।

विद्यालयमा अध्ययन गर्दै साना बालबालिका ।

नर्सरीमा भर्ना भएर कक्षा १० सम्म पुगिसकेकी खोटाङकी सुनिता परियारको आर्थिक अवस्था निकै जर्जर थियो। सुनितालाई गाउँमा दुई छाक टार्न कठिन थियो। । विद्यालयमा पुग्‍नु त सपना नै थियो । तर आज त्यो सपना पूरा भएको छ। ‘पेट टन्‍न भरिएको दिन सबैभन्दा ठूलो लाग्थ्यो । विद्यालय जाने बाटो बन्द थियो, गरिबीका कारण’, सुनिता भन्छिन्’, तर अहिले उनको पढ्ने सपना पूरा भएको छ।

कक्षा १० मा अध्ययनरत सुनिता परियार ।

यस विद्यालयका बालबालिकाहरु अंग्रेजी, नेपाली, भोट लगायत भाषामा पोख्त छन् । अनि एउटा नाम सबैलाई कण्ठ छ त्यो हो खेन्छेन ठाङ्गु रिन्पोछे। ठाङ्गु रिन्पोछेले समाजको आँखा उघार्ने काम गरे। यी बालबालिकाको भाग्य रेखा कोरे। त्यसैले यी बालबालिकाको मस्तिष्कमा उनी कहिल्यै नमेटिने छाप बनेर बसेका छन्।

ठाङ्गु रिन्पोछेकै कारण कतिले त आफ्नो गन्तव्य समेत भेटि सके । ठाङ्गु रिन्पोछे बौद्ध धर्मको उपदेश दिन हिमाल चढिरहन्थे। उनका आँखा दूर्गम बस्तीमा पुगे, विपन्‍न र शिक्षाबाट बञ्‍चित बालबालिकाले ध्यान ताने। भौगोलिक विकटता, प्रतिकूल मौसमले आधा समय बालबालिका शिक्षाबाट बञ्‍चित हुनु पर्थ्‍यो। अंग्रेजी भाषा मात्रै होइन राष्ट्रिय भाषा नेपालीबाट पनि टाढा थिए उनीहरु। गुरुलाई लाग्यो गुम्बाको संख्या बढाउनु भन्दा विद्यालय खोलेर उनीहरुको जीवन उज्यालो उत्तम हुन्छ र भविष्‍यका कर्णधारको भविष्‍य बन्छ।

एकै ठाउँमा खाना खाँदै सबै बालबालिका l

अन्ततः ठाङ्गु रिन्पोछेले बौद्धफुलबारीस्थित विद्यालय खोले आज भन्दा ३० वर्षअघि सबै अत्यावश्यक सुविधा सहित विभिन्‍न ठाउँमा उपदेश दिँदा शिष्यहरुले आफूलाई सम्मानस्वरुप चढाएको पैसा जम्मा गरेर विद्यालयको भवन बनाए, जग्गा थपे। त्यसपछि गाउँगाउँबाट गरिब बालबालिका आउने क्रम बढ्यो । यसरी जम्‍मा भएका ती बालबालिकाहरु हाल ६ सय विद्यार्थीमा अध्ययनरत छन्।

यहाँ अध्ययनरत प्रत्‍येक बालबालिकासँग आफ्‍नै प्रकारको प्रतिभा संग्रहीत छ। उनीहरुको प्रस्तूतिबाटै थाहा हुन्छ यो विद्यालय राजधानीमा नाम चलेका बोर्डिङ स्कुल भन्दा कम छैन। यहाँ पनि सरकारी पाठ्यक्रमलाई मूख्य विषयवस्तु बनाएर पढाइन्छ। सानो संख्यामा आनी र लामाहरु पनि अध्ययनरत छन् यहाँ। ठाङ्गु रिन्पोछे भन्छन्,’ धनि वर्ग मात्रै होइन । गरिब परिवारका बालबालिका पनि स्तरीय शिक्षाको पहुँचमा पुग्नुपर्छ। राम्रो शिक्षा पाए मात्रै आफ्नो परिवारसँगै देशको सेवा गर्न उनीहरु सक्षम हुन्छन्।  त्यसैले हामीले आधुनिक शिक्षामा जोड दिएको छौ। सानो संख्यामा आनी र लामाहरु पनि अध्ययनरत छन्।’

खाना खाँदै आनीहरु ।

अतिरिक्त रुपमा नैतिक र धार्मिक शिक्षा पनि पढाइन्छ। विद्यालयका प्राधानाध्यापक वाङ्चु तेन्जिन भन्छन्, ‘धार्मिक शिक्षाले मात्रै अहिलेको समुदायसँग प्रतिस्पर्धा गर्न सकिन्‍न। समयअनुसार शिक्षा दिनुपर्छ। त्यसैले सबै विषय समावेश गरेका छौं।’ यी बालबालिकालाई मौलिक भाषा, परम्परा र संस्कृतिको महत्वबारे पनि पढाइ हुन्छ। हिमाली भेगमा बोलिने ‘भोट’ भाषालाई अनिवार्य बनाइएको छ यहाँ।

यस्तै कक्षा १० मा अध्ययनरत सिन्धुपालचोकका समिन तामाङ, आधुनिक शिक्षासँगै आफ्नो संस्कृति कसरी जोगाउने भन्‍नेबारे पढ्न पाउँदा भाग्मानी ठान्छन् आफुलाई। उनी भन्छन्,’यो विद्यालय हाम्रा लागि स्वर्ग हो। हामीले निःशुल्क पढ्न, खान र बस्‍न त पाएकै छौं। सँगै आफ्नो संस्कृति बुझ्‍ने मौका समेत पाएका छौं।’

कक्षा १० मा अध्ययनरत समिन तामाङ।

यहाँ पढेका कतिपयले क्यानडा, जापान लगायत मुलुकमा उच्चशिक्षा हासिल गरेका छन्। फर्केपछि कोही यही विद्यालयमा स्वयंमसेवक बनेका छन्। त्यसमध्येकी एक हुन् काभ्रेकी संगीता तामाङ। विदेशमा समेत पुगेर अध्ययन गर्ने पाएकोमा उनी दङ्ग छिन्। संगीताले जस्तै सोलुखुम्बुकी लाक्पा यङछेनले आफ्नो जीवन सफल भएको ठान्छिन्। नेतृत्वको विकास गर्न गतिलो अवसर प्राप्त भएको उनको भनाई छ।

यही विद्यालयबाट एसएलसीपास गरेका डोल्पाका कर्म गुरुङले अमेरिकामा उच्च शिक्षा हासिल गर्ने मौका पाए। तर त्यहाँको जागिर छोडेर यहाँ स्वयमसेवक शिक्षक बनेका छन् उनी अहिले। विद्यालयले पढाईसँगै बालबालिकालाई भविष्यको योजना बनाउन सहयोग गरिरहेको छ। सुनिता परियारले भविष्यमा ‘न्युरोलोजिष्ट’ बनेर निःशुल्क सेवा गर्ने उद्देश्य बोकेकी छन्। समिन तामाङ शिक्षक बन्‍ने र रिन्पोछेकै पद चिन्हमा विद्यालय खोलेर बालबालिकालाई निःशुल्क पढाउने सोचमा छन्।

विद्यालयका अध्यक्ष वाङचु तोपदेन बालबालिकाको प्रगतिबाट अति खुसी छन् । तर विद्यालयको व्यवस्थापन र भविष्यलाई लिएर  भने उनी अलि चिन्तित पनि देखिन्छन् । विद्यालयले बालबालिका सबै आवश्यकता पूरा गर्दा गर्दै पनि स्वास्थ्य सेवा मंहगो हुँदा आर्थिक समस्या झेल्नुपर्छ। ‘बालबालिकालाई कहिले चोट लाग्छ, कहिले बिरामी पर्छन् तर हामीलाई उपचारमा कतैबाट पनि सहयोग मिलेको छैन । चर्को शुल्क तिनुपर्ने हुन्छ’, तोपदेन भन्छन्।

मंगलदिप विद्यालयका भवनहरु ।

बालबालिकाहरुले सपना बुन्दै जाँदा विद्यालयको व्यवस्थापनमा भने चुनौति थपिएको छ । गुरु ठाङ्गु रेन्पोछेको उमेर ढल्किदो, सक्रियता घट्दो छ। पहिले जस्तो देशविदेश दौढिएर उपदेश दिन सक्दैनन् उनी । ८६ वर्षीय उनी यो विद्यालयको निरन्तरता चाहान्छन्, चिन्ता थपिएको छ। उनी भन्छन्’, नेपाललाई विकसित मुलुक बनाउन शिक्षाको पहुँचमा सबै बालबालिका पुर्‍याउनुपर्छ। शिक्षा नै मूल खम्बा हो मानव विकासका लागि।  उनको चाहाना छ, यो विद्यालयमा हिमाली भेगबाट मात्रै होइन भोलि पहाड र तराईबाट पनि बालबालिकाले ठाउँ पाऊन्।

छुट्टीको सयमा खेल्दै बालबालिका।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्