प्रदेश एकको सभाभवन अगाडि धर्ना, विरोध गर्न रोक

मोरङ- मोरङ प्रहरीले विराटनगरस्थित प्रदेश नम्बर एकको सभा भवन बाहिर धर्ना, विरोध गर्न रोक लगाएको छ।

सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च र संघीय लिम्बूवान मञ्‍च नेपालले प्रदेश सभा भवन बाहिर धर्ना दिने कार्यक्रममा प्रहरीले रोक लगाएको हो। यससंगै सो कार्यक्रममा रोक लगाएसँगै भवन परिसरमा सुरक्षाअवस्था कडा बनाइएको थियो।

प्रदेश एकको नाम लिम्बूवान, किराँत र खम्बुवान हुनु पर्ने मुख्य माग सहित दुवै मञ्चले पूर्वनिर्धारित कार्यक्रमको आयोजना गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए।आफूहरुको माग पुरा नहुञ्जेल आन्दोलन जारी रहने उनको भनाइ छ।

यसै सर्न्दभमा प्रदेश नम्बर एकका प्रहरी प्रमुख डीआइजी केदार रिजालले प्रदेशसभा वरपरको स्थितिलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर धर्ना दिन रोक लगाएको बताए।

डीआइजी रिजालले प्रदेशसभा भवनबाट पूर्वतर्फ देवकोटा चोक र पश्चिमतर्फ अस्पताल चोक सम्मको लगभग तीन सय मिटर क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको स्पस्ट पारे।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्