जस्टिस फर निर्मला भन्दै कार्टुनिस्ट र कुचीकारहरु

‘बाबाआमा मेराे लिंग फेरिदेऊ, छोरी भएर बाँच्न गाह्रो भो’

काठमाडौँ– एक बालिका घुँडा टेकेर हात फैलाइरहेकी छन्, उनी याचना गर्दैछिन्। उनको आँखाबाट बलिनधरा आँसु बगिरहेको प्रष्ट देखिन्छ। अगाडि उभिएका पुरुषको हातमा पत्रिका छ, बलात्कारको घटना झन् वृद्धि भन्ने समाचार छ।

पछाडि उभिएकी एक महिला छक्क परेर त्यो दृश्य हेरिरहेकी छिन्, मुक दर्शक भएर। यो एउटा परिवारको आकृति हो, जहाँ छोरी आफ्ना अभिभावकलाई आफ्नो लिंग परिवर्तन गरिदिन गुहार मागिरेहकी छन्। उनलाई छोरी भएर बाँच्न गाह्रो भयो रे।

कार्टुनिष्ट योगेश कपाङ्गीले माइतीघर मण्डलामा यस्तै सन्देश दिने चित्र कोरे। दुई हात लम्बाई र डेड हात चौडाईको कागजमा बनेको आकृतिले सिंगै नेपालको हरेक परिवारमा छोरीले गर्ने आग्रहलाई इंगित गर्‍यो। स–साना छोरीको मनोविज्ञानमा छोरी भएर जन्मनु नै गल्ती हो भन्ने परिराखेको उनले दर्शाउन खोँजे।

कञ्चनपुर घटनाको अति संक्षिप्त विवरण– साउनको १० गते साथी भेट्न गएकी निर्मला घर फर्किनन्, उनलाई भोलिपल्ट बिहान साथीको घर नजिकैको उखु बारीमा मृत भेटिइन्। अनुसन्धानमा उनको बलात्कार पछि हत्या भएको खुलेको थियो। घटना भएको २५ दिनपछि प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गर्‍यो। 

तर प्रहरी अनुसन्धानमाथि विश्वास भएन। वास्तविक अपराधिलाई प्रहरीले लुकाएको भन्दै कञ्चनपुर तनावग्रस्त भयो। प्रहरीले गोली चलायो र भदौ ८ गते १४ वर्षको बालकलाई प्रहरीको गोली लाग्यो। सरकारले निर्मला पन्तको हत्याको क्षतिपूर्ति १० लाख दिने निर्णय गरेको छ। तर निर्मलाका परिवारले प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउनै पर्ने अडान छोडेका छैनन्।

कार्टुनिष्ट केशवराज खनालले सरकारको उदासीनतालाई प्रस्तुत गरे। चित्रले वास्तविक अपराधी सरकारको क्रियाकलापलाई सानले पढेर बसेको देखाँउछ। निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डमा वास्तविक दोषी खुलेआम बाहिर हिँडेको आरोप आफन्तले लगाएका छन्। नेपाल साप्ताहिकका चित्रकार रविन मानन्धरले सुरक्षा निकायको लाचार भएको संकेत गरेँ।

यसबिचमा निर्मला पन्तको न्यायको लागि धेरै आवाज उठे, पत्रपत्रिका नयाँ नया एङ्गलका समाचारले भरिए, ट्वीटरमा जस्टिसफर निर्मला सँगै धेरैको आआफ्नो विचार आए। माइतीघरमा मानिसको जमघट भएर प्रशासनको विरोध भइरह्यो। हत्या भएको एक महिना भयो, तर एक पछि अर्को खुल्दै गएर सत्य र त्यसलाई लुकाउन गरिएको नाटकीय प्रयासले छुट्टै मोड लिएको छ। निर्मलाको न्यायको लागि तातेको कञ्चनपुरको राप काठमाडौँको माइतीघरमा भदौ ९ मा देखियो।

यस्तै माइतीघरमा चित्रकारहरुले पनि आफ्नो चित्रकलाको माध्यमले निर्मला पन्तको न्यायको लागि कलम घुमाए। जसले निर्मला पन्तको बलात्कार र हत्या पछिको सामाजिक, राजनीतिक र मनोवैज्ञानिक पक्षलाई छर्लङ्ग पार्‌यो।

चित्रकार रविन मिश्रले समाज निदाएको, सरकारले ठूलाठूला सपना देखाएको र प्रशासनले वास्तविक दोषिलाई समात्न नसकेको चित्रण गरे।


…….

बेलुका ५ बजे माइतीघर मण्डला सवारी साधनको आवत जावतको व्यस्ततालाई नियाली रहेको छ। झम झम झरी परिरहेको। त्यही मण्डलाको छेवैमा छोता ओडेर बसेका युवा युवती निर्मलाको न्यायको लागि अपिल गरिरहेका थिए।
व्यक्तिगत नाता उनको कसैसँग थिएन सायद र त्यहा भेला हुनेले पनि कुनै सम्बन्ध जोडेका थिएनन्। तर उनीहरुको एक ढिक्का थिए। चिसो वर्षा र सिगसिगाउँदो मौसमले उनीहरुलाई रोक्न सकेन।

चित्रकारले निर्मला पन्तको हत्यापछि सिर्जना भएको त्रासलाई पनि उतारे। माइतीघर मण्डला नजिकैको क्याफेमा काठमाडौँ आर्ट सेन्टरमा चित्रकारहरुले वास्तविक अपराधि नसमातिए समाजमा अरु निर्मलाहरुमाथि अन्याय हुने आकृतिले प्रस्टाए।

क्यानभासमा टाँसिएको पेन्टिङ् पेपरमा राता र काला मसि छ्यापिएका थिए। चित्रकार एरिना ताम्राकारले बलात्कारीलाई सजाय दिनुपर्ने चित्र प्रस्तुत गरिन्। उनको चित्रले पिडित महिलाको चित्कारलाई उजागर गर्‍यो, बलात्कृत महिलालाई हेर्ने समाजको नजरलाई प्रस्टायो र यो पिडाको जड पुरुषलाई फाँसीको सजाय हुनुपर्ने आशय दियो।

चित्र बनाइरहँदा उनको अनुहारमा चिट्चिट पसिनाका देखिए। उनको आवेगलाई बाहिरको चिसो वातावरणले जित्न सकेन। चित्रमा रंग भर्दैगर्दा उनका मनका भावना ब्रसको माध्यम हुँदै क्यानभासमा लिपिन पुग्थे। जसले जोड गरिरहेको थियो, ‘बलात्कारीलाई फाँसीको सजाय हुनै पर्छ।’
चित्रकार संगी श्रेष्ठको चित्रले अहिलेको अवस्थामा महिला कतैबाट पनि सुरक्षित छैनन् भन्ने संकेत दियो। उनी बलात्कारीलाई फाँसी दिने पक्षमा देखिइनन्। अहिले वास्तविक अपराधि नपक्रिएको अवस्थामा निर्दोष मानिस फाँसीको फन्दामा पर्न सक्ने जोखिमलाई औल्याइन् र प्रशासन बलियो हुनु पर्नेमा जोड दिइन्।

साँझ ६ बजे उनको स्मृतिमा माइतीघर मण्डलामा मैनबत्ति प्रज्वलन पनि भयो। उपस्थित हुनेले अमिलो मन पार्दै निर्मला पन्तलाई स्मरण गरेँ। उनको न्यायको लागि याचना गरे।

तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्