प्रदूषणको प्रभाव डरलाग्दो

वायु प्रदुषणले कमजोर बनाउँछ अनुभुति गर्ने वा सोच्ने क्षमता

वायु प्रदुषणले व्यक्तिको मस्तिष्कले अनुभुति गर्ने वा सोच्ने क्षमतामा नोक्सान गर्ने एक अध्ययनले देखाएको छ । वायु प्रदुषणका कारण व्यक्तिको कुनै पनि कुरालाई अनुभुति गर्ने वा त्यसबारे धारणा बनाउने क्षमता (कगनेटिभ पर्फमेन्स) कमजोर बनाउने अनुसन्धानकर्ताले बताएका छन् ।

उमेरसँगै यसको प्रभाव पनि बढ्दै जाने देखिएको छ । अझ शिक्षाको स्तर कम भएका व्यक्तिमा वायु प्रदुषणका कारण मस्तिष्कको अनुभुति गर्ने क्षमतामा पर्ने नकारात्मक प्रभाव भयावह देखिएको अनुसन्धानकर्ताले बताएका छन्

अमेरिकी तथा चिनियाँ अनुसन्धानकर्ताले चार वर्षसम्म २० हजार व्यक्तिको गणित तथा भर्वल स्किलमा गरिएको अनुगमनबाट यस्तो देखिएको हो । विश्वका शहरी क्षेत्रमा बस्ने मध्ये ८० प्रतिशत भन्दा बढी वायु प्रदुषणको स्तर सुरक्षित तह भन्दामाथि अर्थात असुरक्षित रहेको छ ।

अदृश्य हत्यारा अर्थात इनभिजिबल किलरको रुपमा रहेको वायु प्रदुषणका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । प्रदुषणका कारण मस्तिष्कको अनुभुत गर्न सक्ने क्षमतामा पर्ने नकारात्मक प्रभाव पुरुषमा बढी रहेको छ ।

प्रदुषणका कारण अल्जाइमर तथा अरु प्रकारका डिमेन्सियाको जोखिम पनि बढ्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । उच्चस्तरको वायु प्रदुषणमा एक वर्षसम्म लगातार बस्नु परेमा सबैको शैक्षिक स्तर कम गर्ने देखिएको याले विश्वविद्यालयको पब्लिक हेल्थका प्रोफेसर तथा अनुसन्धानकर्ता सी चीनले बताएका छन् ।

यसअघिका अनुसन्धानले वायु प्रदुषणका कारण विद्यार्थीको सोच विचार गर्ने क्षमताका कमी आउने देखिएको थियो । अहिलेको अनुसन्धानमा १० वर्षमाथिका महिला तथा पुरुषको गणित तथा भर्वल स्किलमा सन् २०१० देखि २०१४ सम्म निगरानी गरिएको छ । यसमा गणितका २४ वटा प्रश्न तथा ३४ वटा शब्द थाहा पाउने सम्बन्धी प्रश्न गरिएका थिए ।

पछिल्लो अनुसन्धान अनुसार वायु प्रदुषण भएका क्षेत्रमा बस्ने बढी उमेरका पुरुषको कगनिशन क्षमतामा निकै नकारात्मक प्रभाव पर्ने देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले ९१ प्रतिशत भन्दा बढी मानिस वायुमा प्रदुषणको मात्रा सामान्य भन्दा बढी रहेको क्षेत्रमा बस्ने गरेका छन् ।

वायु प्रदुषण उच्च रहेका विश्वका २० शहर मध्ये भारतका १४ शहर रहेका छन् । विश्वमा हरेक १० मा ९ जनाले प्रदुषित वायुमा सास फेर्ने गरेका छन् ।

भदौ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू