पोखरा विश्‍वविद्यालयकाे कम्प्युटर ह्याक ! एक कर्मचारी पक्राउ, दुई निलम्बित

पोखरा विश्‍वविद्यालय। फाइल तस्बिर।

पोखरा – पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कम्प्युटर ह्याक गरेको आरोप लागेका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । विश्वविद्यालय इन्जिनियरिङ्गमा कार्यरत अमृत थापा र हेल्थ एण्ड साईन्समा कार्यरत जीवन फुयाँललाई निलम्बन गरेको विश्वविद्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार गोबिन्द शर्माले अनुसन्धान भइरहेको र १ जना कर्मचारी पक्राउ नपरेको जानकारी दिए । कम्प्युटर ह्याक गर्नेलाई खोजी गरी कारबाहीको माग सहित स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित भएको छ । स्ववियुले सोमबार ¥याली नै निकालेर दोषीमाथी कडा कारबाहीको माग गरेको हो ।

घटना भाद्र ५ गते राति ७ बजेको हो । ३ जना व्यक्ति परीक्षा नियन्त्रण कार्यालयमा पुगेका थिए । १ जना पोखरा विश्वविद्यालयकै अधिकृत स्तरका कर्मचारी, अर्का पूर्व विद्यार्थी र १ जना कार्यालय सहयोगी थिए ।

अधिकृतस्तरका कर्मचारीले डेपुटि कन्ट्रोलर प्रकाश बहादुर अधिकारीले इन्जिनियरिङ शाखामा पाटेशन गर्नकालागि नापजाँच गर्नुछ भनेर आएको जानकारी दिएका थिए । ती सुरक्षा गार्डले परीक्षा नियन्त्रण कार्यालय इन्जिनियरिङ शाखा ‘गोप्य’को चाबी खोलिदिएका थिए । उनीहरु भित्रै झण्डै ५६ मिनेट बसेको सिसि क्यामेराको फुटेजमा देखिएको छ ।

परीक्षा नियन्त्रक डा. भरतराम ढुंगानाका अनुसार सबै कम्युटरमा पासवर्ड राखिएको थियो । तर ४ वटै कम्युटर बिनापासवर्ड खुलेपछि कार्यालयमा ह्याक भएको भन्दै हल्ला खल्ला भएको थियो । लगत्तै कार्यालयका कर्मचारीसहित परीक्षा समितिको बैठक बस्यो ।

सुरक्षा गार्डलाई बोलाएर सोधपुछ गरेपछि पाटेशनको नाप गर्ने भन्दै हातमा टेप बोकेर छिरेका व्यक्तिले नै इन्जिनियरिङ्ग गोप्य शाखाको कम्युटर ह्याक गरेको वास्तविकता बाहिर आएको थियो । कार्यालयका सबै ठाउँमा सिसि क्यामेरा जडान गरिएको छ । राति साढे ७ बजे गोप्य कक्षमा छिरेका व्यक्तिले कम्युटर चलाइरहेको सिसी क्यामेराको फुटेजमा देखिएको थियो ।

हजारौँ विद्यार्थीको डाटा रहेको कम्युटर नै ह्याक भएपछि परीक्षा समितिको बैठक बसेर अनुसन्धानका लागि प्रहरीलाई खबर गरेको थियो ।

किन गरियो कम्युटर ह्याक ?

परीक्षा नियन्त्रक डा. भरतराम ढुंगाना भन्छन्, ‘१६ गतेबाट इन्जिनियरिङ्ग स्नातक तहको परीक्षा छ । प्रारम्भिक अध्ययनले प्रश्नपत्र बाहिर ल्याउन कम्प्युटर ह्याक भएको हुन सक्छ ।’ सँगसगै विद्यार्थीको प्राप्तांक नै तलमाथि गर्न कम्युटर ह्याक भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

तत्कालको अवस्थालाई हेर्दा कम्युटरमा पूर्व विद्यार्थीले आफ्नो डाटा तलमाथि नगरेका कारण उनी प्रश्नपत्र आउट गर्नकै लागि कम्प्युटर ह्याक गरेको हुनसक्ने अनुमान गरिएको आइसिटि शाखा प्रमुख उदयराज ढुंगानाले बताए ।

उनले भने ‘ह्याक गर्ने व्यक्ति ४ वर्षअघि पोखरा विश्वविद्यालयकै विद्यार्थी थिए । उनी र अधिकृतस्तरका व्यक्तिले त्यहाँको वातावरण, बेलासमय सबै हेरेर कम्युटर ह्याक गर्न जाने समय मिलाएका हुन् ।’ कम्युटर ह्याक गर्ने व्यक्तिले सिसी क्यामरातिर भने ध्यान नदिएको उनले बताए ।

यसैबीच विश्वविद्यालयले विद्यार्थीका सबै डाटा सुरक्षित रहेको जनाएको छ । ‘कम्युटरमा रहेका अभिलेखहरु चोरी, नष्ट वा हेरफेर गरिएको हुनसक्ने भएता पनि अभिलेखका सम्पूर्ण ब्याकअप सुरक्षित छन् ’ ढुंगानाले भने । यहि भाद्र १६ गते हुने परिक्षालाई नरोक्नका लागि अहिले परिक्षाको तयारी भइरहेको उनले जानकारी दिए ।

भदौ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्