भूपु लाहुरेको सफलताको कथा

बेलायतको भिसा छाडेर खोला किनारमा रोजगारीको ढोका उघार्दै भूपु लाहुरे !

कास्की– ब्रिटिस लाहुरेका भुपू क्याप्टेन मोहनकुमार गुरुङको बाल्यकाल सम्झन रहर लाग्दो छैन।त्यो टुहुरो बाल्यकाल नरमाइलो त  छैन नै, बिर्सिन सक्ने पनि छैन।

ओखलढुंगाको रुम्जाटारमा तीन वर्षको हुँदै आमाको काख खोसियो। त्यसपछि बुबाको मात्रै सहारामा केही वर्ष घिस्रियो मोहनको बाल्यकाल। त्यो पनि ९ वर्षको हुन्जेल मात्रै। त्यसपछि बुबाको पनि साथ टुट्यो। बुवा पनि बिते मोहनलाई एक्लै छाडेर।

बाबु–आमा गुमाएका मोहनको सहारा कोही भएनन्।त्यसपछि छ्यामाले (सानिआमा) बेलायत लगिन्, आफ्नै सन्तानको कागजात बनाएर। काका (सानोबुवा) बेलायतमै लाहुरे थिए। उनका सबै परिवार उतै बस्थे। त्यहि परिवारमा मिसिए मोहन पनि। कक्षा ९ सम्मको शिक्षा बेलायतमै लिए छ्यामासँग पल्टनमै बसेर।

त्यतिबेला ब्रिटिस लाहुरे लाग्न ८/९ कक्षा पढे पुग्थ्यो। त्यसपछि छनोटमा भाग लिन पाइन्थ्यो। मोहनको पनि योग्यता भने पुगेको थियो। सम्वनाका ढोकाहरु खुल्दै गए।

१८ वर्षको भएपछि मलेसियाको सुगाई पटानीबाट मोहन लाहुरे लागे। शारिरीक रुपमा फिट भए र न्युनतम योग्यता पुगेकालाई लाहुरे लाग्न गाह्रो थिएन त्यतिबेला। त्यही मौकामा लाहुरे भए मोहन।

त्यसपछि थाहा भयो बाहिर चलेको हल्ला जस्तो रहेनछ लहुरे जीवन। हुनत उनले बन्दुक बोकेर भीड्न जानु परेन, अहिलेकाले जस्तो डोको बोकेर कुद्नु परेन। र पनि सजिलो भने भएन। मोहनको डियुटी इन्जिनियरपटि पर्‍यो।

बेलायतका धेरै बाटा, पुल अनि घरहरु बनाउने डिजाइन गरे। फिजी, क्यानडा, आएरल्याण्ड गएर तालिम गरे।उनको बढुवा हुँदै गयो र बोज घट्दै गयो। लाहुरेमाचाहिँ त्यस्तो हुँदो रहेछ, माथिल्लो पोष्टमा पुगेपछि धेरै सजिलो हुँदो जाने।

मोहन पनि बढुवा हुँदै जाँदा डियुटी सहज हुँदै गयो। ३२ वर्ष बेलायती सेनाको जागिर खाँदा क्याप्टेन सम्म भए।त्यसपछि क्याप्टेनमै रिटायर भए मोहन। लाहुरे हुँदै विवाह गरे। दुई जना छोरा छोरी छन्। उनीहरु पनि बेलायतमै स्थापित भए। छोरी–ज्वाईं र छोरा बुहारी अहिले बेलायतमै जागिरे छन्। तर मोहनका दम्पत्ति भने नेपाल फर्किए।

खोलाको किनारमा भुपु लाहुरेको जीन्दगी !


ब्रिटिस लाहुरेको हुँदाको कमाइले काठमाडौँमा घर बनाएका थिए। क्याप्टेनको पेन्सले काठमाडौँको त्यही घरमा उनको परिवार चलाउन गाह्रो थिएन।
तर भुपू क्याप्टेन नेपाल फर्किएपछि पनि काठमाडौँ बसेनन्।

श्रीमतीलाई एक्लै छाडेर लागे काँस्कीको भुर्जुङखोला ३, मूलखेततिर। त्यहाँ ११ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिए। पहिले लाहुरे हुँदै इन्जिनियर बनेका मोहनले नेपाल फर्किएपछि ट्राउटमाछा पालनको तालिम गरे, त्रिशूलीमा।

पोखरीको आवश्यक संरचना बनाउन पनि आफैँ डिजाइन गरे। उनको अभियानलाई कृषि अनुसन्धान परिषद् नार्कले पनि सहयोग गर्‍यो। अनि रेन्बो ट्राउट फर्ममा माछा पाल्न थाले। बेलायत र काठमाडौँ छाडेर कास्कीको भूर्जुङखोला किनारमा पुगेका मोहनलाई परिवारले भने बेलायतमा नबसेपनि काठमाडौँमा बस्न आग्रह गरेका थिए। तर मोहन मानेनन्। हातखुट्टा चलुन्जेल केही गर्ने हुटहुटी छ, उनलाई।

मान्छेहरु आज पनि रोजगारी पाइएन भनेर वैदेशिक रोजगारीमा गइरहेका छन्। तर उनलाई बेरोजगार भएर मात्रै वैदेशिक रोजगारीमा गएका हुन् जस्तो लाग्दैन। खट्ने हो भने नेपालमा नै प्रशस्त सम्भावना देख्छन् उनी।

‘यहाँ रोजगारीका धेरै अवसर छन्। म धेरै कुरा गर्न सक्छु नेपालमै’, मोहनले भने, ‘तर मेरो सबैभन्दा गम्भीर कुरा भनेको उमेर छैन।म ६६ वर्ष पुगिसकेँ।’छोरा–छोरी नेपाल बस्न नमान्दा मोहनलाई चिन्ता अर्को पनि छ। अहिले प्रोजेक्ट गरेर पछि कसलाई हस्तान्तरण गर्ने ?

‘आफैं लाग्ने हो भने यो देशमा जे पनि गर्न सकिन्छ। आफू म्यानेजर भएर अफिसमा बस्ने अरुलाई अह्राएर मात्रै केही हुने वाला छैन’, मोहन भन्छन्, ‘मलाई पनि यहाँ बस्न जरुरी छैन। महिनामा एक पटक आएपनि हुन्छ तर मैले छाडेंभने यो फर्म यस्तो राम्रो हुँदैन।’

मुलखेतको सिरानमा छ,उनको माछा फार्म। यहीँ उम्रेको पानी भएकाले अक्सिजन पर्याप्त छ। ट्राउटमाछालाई अक्सिजन धेरै भएको बग्ने पानी चाहिन्छ, जमेको पानीले हुँदैन। यहाँको पानी माछाका लागि उपयुक्त छ। त्यहि भएर उनले मूलखेत नै रोजे।

गत फेब्रुअरीमा लगाएको दुई ग्रामको माछा अहिले ३ सय ४० ग्रामको भए। अस्ति १ सय ग्राम बेचिदिए पनि। अब ४ सय ग्राम बेच्ने तयारीमा छन्।
ट्राउट माछाका लागि ५ देखी १५ डिग्रिको चिसो पानी उत्तम हो।१८÷२० डिग्रिसम्मको चिसोमा पनि पाल्न सकिन्छ। मोहन भन्छन्, ‘अलि तातो पानी भयो भने माछाले चारो धेरै खान्छ, पचाउन सक्दैन र मर्ने सम्भावना धेरै हुन्छ।’

अहिले उनको फार्म २८ हजार माछा छन्, छिमल छिमलका। यस वर्ष ६ टन जति उत्पादन हुने उनको अनुमान छ। ट्राउट माछाको प्रतिकेजी मूल्य ८ सय ७५ रुपैयाँ पर्छ। यो बेच्दा ६० देखि ७० लाखसम्म कमाउँछन् मोहनले।

कमाउने पाटो फरक भयो। उनको उदेश्य कमाउनु मात्रै भन्दा पनि अरुलाई यस्तै व्यवसायिक बन्‍न सिकाउनु छ।अरु तीन जना कर्मचारीले पनि यहाँ काम गर्छन्। अहिले माछा पाल्ने तालिम दिन तयारी गरिरहेको छ रेन्बो ट्राउट फार्मले।ग्रामिण क्षेत्रमा फार्म चलाउन चाहनेहरुलाई सहयोग गर्ने उनी बताउँछन्।

उनी सम्झिन्छन् बाल्यकालको त्यो जीवन। अनि, कसैको सहयोगले यो अवस्थामा आएको आफू। चाहेको बेला बेलायत जान सक्ने भिसा छ। परिवार पनि त्यहीँ छन्। तर मोहन भन्छन्, ‘मलाई पनि कसैले सहयोग गरेरै यो ठाउँमा ल्याई पुर्‍याए, मैले पनि अरुलाई सहयोग गर्नु छ।हात खुट्टा चलुन्जेल केही गर्छु।’

भदौ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्