८ महिने शिशुको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि

महोत्तरीमा यस्तो हृदयविदारक र नृशंस कृत्य

महोत्तरी- महोत्तरीको औरही नगरपालिकामा अपहरण पश्चात बलात्कार गरेर हत्या गरिएको ८ महिने शिशुलाई मंगलबार श्रद्धाञ्जली दिइएको छ।

औरही बजार उद्योग वाणिज्य संघको नेतृत्वमा मंगलबार साँझ मृतक ८ महिने शिशुलाई श्रद्धाञ्जली दिइएको छ साथै बुधबारदेखि अनिश्चतकालीन औरही बजार बन्द गर्ने घोषणा समेत गरिएको छ। अभियुक्त पक्राउ नपरेसम्म बजार बन्द हुने र बर्दिवास–औरही–जलेश्वर सडक खण्डमा चक्का जाम गर्ने निर्णय गरिएको औरही बजार उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण चौधरीले बताएका छन्।

आइतबार औरही नगरपालिकाबाट अपहरणमा परेकी स्थानीय व्यापारी सन्तोष चौधरीकी ८ महिनाकी छोरी सोनाली चौधरीको सोमबार भंगाहा नगरपालिका वडा नम्बर ६ को जंगलमा शव फेला परेको थियो। शिशुको पोष्टमार्टम रिपोर्टमा बलात्कार गरिएको पुष्टि भएपछि औरहीका स्थानीय आक्रोशित भएका छन्।

बच्चाको जिउ र ओठमा दाँतले टोकेको डाम समेत देखिएको स्थानीयहरुले बताएका छन्। यता प्रहरी प्रशासनले अभियुक्तको नाउ गाउँ समेत पत्ता लागेपनि पक्राउ गर्न नसकेको भन्दै स्थानीय झन् आक्रोशित भएका छन् भने बुधबार १० बजेसम्म अभियुक्तलाई नसमाते आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्।

स्थानीयका अनुसार अभियुक्त महोत्तरी जिल्लाकै हथिसर्वा जमुनिया गाउँको पलट साहको २५ वर्षिय छोरा भरत साह हुन्। भरत केही दिनअघि मात्रै जेलबाट रिहा भएका थिए। प्रहरीका अनुसार भरतसँग रहेको मोबाइलको लोकेसनमा उनी महोत्तरीकै विजलपुरा तरसरी भन्ने गाउँको जंगलमा लुकेको खबर पाइएको थियो तर त्यहाँ पुग्दा भरत फरार रहेको अध्यक्ष श्रवण चौधरीले बताएका छन्।

शिशु चोरेर लैजाँदै गरेको सिसी टिभी फुटेजमा देखा परे पनि प्रहरीले अहिलेसम्म उसलाई पक्राउ गर्न सकेको छैन भने पक्राउ गर्नसमेत खासै चासो नदेखाएको स्थानीयहरुले आरोप समेत लगाएका छन्।

भदौ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्