हेल्थ टिप्स

टाउको किन दुख्छ ? के हो माइग्रेन ?

माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जसलाइ परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो । डाक्टरी भाषामा माइग्रेनलाई भास्कुलर हेड्याक भन्ने गरिन्छ ।

एमआरआई, सिटिस्क्यान गर्दा पनि टाउकोमा केही समस्या देखिँदैन । तर टाउको भने दुखिनैरहन्छ । कहिले वर्षमा १ चोटी कहिले महिनामा त कहिले दिनको चौबिसै घण्टा नै दुखिरहन्छ ।

आजभोलि यस्तो समस्या लिएर आउने बिरामीको संख्या बढेको हेड अफ न्यूरो साइन्स डिपार्टमेन्ट मेडिसिटि अस्पतालका प्रोफेसर डा. गोपाल रमन शर्मा बताउँछन् ।

डा. शर्माका अनुसार मस्तिष्क भित्र रगत सञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ तब टाउको दुखाइ अत्यधिक मात्रामा हुन्छ । जब अलिअलि गरी नसा समान्य अवस्थामा फर्किन थाल्छ त्यति बेला दुखाइ कम हुदै जान्छ ।

बावु आमालाई माइग्रेनको समस्या छ भने ५० प्रतिशत छाराछोरीमा यो समस्या देखा पर्ने हुन्छ । यसरी माइग्रेनलाई बंशाणुगत समस्याको रुपमा पनि हेरिन्छ भने कतिपय अवस्थामा महिलामा महिनावारी हुदाँ पनि यो समस्या हुने गर्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।

माइग्रेनका कारण

मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा टाउको दुख्ने वैज्ञानिकहरूको अनुमान छ । माइग्रेन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । यसले गर्दा रक्तनली तथा मस्तिष्क वरिपरिका नसाहरू सुन्निन्छन् ।

माइग्रेन हुनुको अन्य कारण

  • बढी मानसिक चिन्ता ।
  • दुध चिया र कफीको अत्यधिक सेवन ।
  • समयमा नसुत्दा ।
  • गुन्द्रक, तामा तथा सिसीमा राखिएको पुरानो अचारको सेवन ।
  • पीडा कम गर्ने औषधी बढी मात्रामा पेनकिलर प्रयोग गर्दा ।

माइग्रेनका लक्षण

माइग्रेन लामो समयसम्म रहने रोग हो । यसको लक्षण बिरामीपिच्छे फरक–फरक हुन सक्छ । तर धेरै जसो बिरामीमा देखिने लक्षण भनेको
टाउकाको एक भागमा मात्र दुख्छ । करिब एकतिहाइ बिरामीमा पीडा टाउकाको दुवै भागमा समेत हुन्छ ।

  • टाउकाको कहिले एकतिर त कहिले अर्कातिर दुख्छ ।
  • कहिलेकाहीँ निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।
  • वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश आदि सहन नसक्ने, हातखुट्टा दुख्ने आदि समस्या देखा पर्न सक्छ ।
  • टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडाहापन देखा पर्ने, निन्द्रा लागेजस्तो हुने, लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुन्छ ।
  • टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छ भने मन्द टाउको दुखाइ कायमै रहन्छ ।

माइग्रेन नै हो भनेर कसरी पत्ता लगाउने ?

माथि भएका कारणहरूबाट माइग्रेनको अनुमान लगाउन सकिन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पर्दैन । यदि माथि दिइएका लक्षण बिरामीको टाउको दुखाईसँग मेल खाँदैनन भने चिकित्सकसँग मस्तिष्कसम्बन्धी अन्य कुनै परीक्षण गराउन सकिन्छ । जस्तै एमआरआई, सिटी स्क्यान आदि ।

रोकथाम कसरी गर्ने ?

माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले केही उपाय अपनायौँ भने पीडाबाट धेरै हदसम्म मुक्त रहन सक्छौँ ।

  • माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ ।
  • एउटै समयमा सुत्ने बानी बसाउने ।
  • पुुरानो अचार, गुन्द्रक, तामाजस्ता खानेकुरा नखाने, साथै पिरो कम खाने ।
  • चिन्तालाई मनबाट हटाउने ।
  • घाममा धेरै बेर नबस्ने, यदि घाममा हिँड्नुपरे छाता प्रयोग गर्ने ।
  • पीडा कम गर्ने औषधी कम प्रयोग गर्ने । यस्ता औषधी बढी सेवन गर्दा टाउको दुखाई केही कम हुन्छ तर फेरि बल्झिन्छ ।

माइग्रेन हुदाँ गर्न नहुने कुरा

  • दहिदुध र दहिदुधबाट बनेका खानेकुराको सेवन नगर्ने ।
  • अझिनोमोटो मिश्रित खानेकुरा नखाने ।
  • सिसिमा खादेको अचार तामा गुन्द्रुक लागायत खानेकुरा नखाने ।
  • वियर वाइन जस्ता पेय पदार्थका कारण पनि माइग्रेन हुने हुदा यस्ता पदार्थबाट टाढै रहने ।
भदौ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्