मोरङमा बढ्‍यो बलात्कारका घटना

मोरङ- गएको डेढ महिनामा १७ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखिको घटनामा २० जना पीडित भएका छन्। प्रहरीका अनुसार, जिल्लामा पहिलोपटक यसरी कम समयावधीमा धेरै घटना भएको हो।जसमा साना बालिकादेखि बृद्धासम्म रहेका छन्।

मोरङ प्रहरीका प्रमुख एसपी मनोज केसीका अनुसार, पछिल्लोसमय बालिका, युवती, महिला र वृद्धा आफन्त र चिनजानकाबाटै बलात्कृत हुने क्रम बढेको छ।

उनले भने, ‘आफन्तलाई कारवाही हुने डर, सामाजिक मान्यता, इज्जत एवं पीडत पक्षले दिने विभिन्न धाकधम्कीका कारणले कतिपय बलात्कार पीडितहरु खुल्न समेत नचाहने गरेको पाइएको छ।’

अधिकांश घटनामा आफन्त, छिमेकी र चिनजानकै व्यक्तिहरुको संलग्नता रहने गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले बलात्कार घटनामा जवरजस्ती करणी मुद्दा चलाउने गरेको छ।

प्रहरीका अनुसार बालिकादेखि वृद्धा समेत विकृत मानसिकता बोकेका आफन्त र नातागोताकाबाटै असुरक्षित हुने क्रम बढेर गएको छ।

बलात्कार जस्तो गम्भीर अपराधका कतिपय घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास समेत हुने गरेको बताउदै एसपी केसीले भने, ‘विभिन्न दवाब र प्रभावकाबीच धेरै घटनामा पीडित खुल्न चाहदैनन् । प्रहरी आफैले अनुसन्धान गरेर मुद्दा अघि बढाउनु पर्ने स्थिति हुन्छ।’

प्रहरी कार्यालयका अनुसार जिल्लामा हाल बलात्कार पीडित २० जना मध्ये १२ जना १६ वर्षमूनिका रहेकाछन्। त्यसैगरि, १६ देखि ७० वर्षउमेर समूहका आठजना यस्ता घटनाबाट प्रताडित छन्।

बलात्कारका विभिन्न घटनामा पीडक रहेका १८ जना मध्ये बुधबारसम्ममा १४ जना पक्राउ परेको एसपी केसीको भनाइ छ। यद्धपि बलात्कारमा संलग्न चार जना अझैपनि फरार अवस्थामा रहेकाछन्। प्रहरीका अनुसार ती सबैको खोजी जारी रहेको छ। साथै फरार रहेकाहरुलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन प्रहरीलाई दवाब छ।

एसपी केसीले बलात्कार विरुद्ध प्रहरीले अभियान चलाउने तयारी गरिरहेको जानकारी दिए।जसमा प्रहरीले नावालिका, किशोरी र महिला विरुद्ध हुने यौनहिंसाका विरुद्ध प्रहरी र समुदायको सहकार्यमा अभियान चलाउने छ।

भदौ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्