कविता

कामुक साँढेहरु

ईश्वरी कार्की

एउटा बदमास!
प्रत्येक दिन
पूजा गर्नलाई नभई
नारी सौन्दयपान गर्न
मन्दिर जान्छ

त्यसले
मन्दिरकी देवीलाई
सर्वांग नांगो देख्छ
देवीलाई पनि
मस्त यौवना देख्छ

इशारामा आँखा संकाउन थाल्छ
अनि
सुटुक्क
हात बढाउँछ
उनका अंगप्रत्यंग छुन

विज्ञापन

नेपथ्यमा
गुज्जिरहेका
सीताराम…..
राधाकृष्ण….
गौरीशंकरका……
भजनहरु
सुन्दैन ऊ

मन्दिरकी देवीमा त
यस्तो आश्क्त

कुनै यूवतीलाई
एकान्तमा भेट्दा के गर्ला ?
देवीमाँ
तपाईँ किन मौन बस्नुहुन्छ
त्रिशूलले
फुटाइ दिनुहोस्
ती कामुक आँखा
नारी अस्मितामा
सल्बलाउने ती हात
भाँचिदिनुहोस्

टुक्राई दिनुहोस् निर्लज्ज
कुनियतको बाटो हिड्ने
ती खुट्टा

यो कानुन नभएको देशमा
कुनै शिवालयमा
छाडा छोडेका साढेँझै
उन्मत्त र
उन्मुक्त भई
कलिला कोपिलाहरु
निमोठ्दै हिड्नेलाई
दिनुहोस् सजाय
त्यस्ता पापीलाई
नछोड्नुहोस्
देवीमाँ
नत्र
हाम्रा कुनै पनि
चेलीबेटी सद्दे
रहने छैनन्।

भदौ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्